Thursday, April 25, 2024

-->

जर्मनी–कोस्टारिका भिडन्त : जित्नैपर्ने दबाबमा दुवै टिम

जर्मनी र कोस्टारिका विश्वकपको मञ्चमा भिड्न लागेको यो दोस्रोपटक हो। सन् २००६ को जर्मनी विश्वकपमा समूह ‘ए’ को पहिलो खेलमै जर्मनीले कोस्टारिकालाई ४-२ गोलअन्तरले पराजित गरेको थियो।

जर्मनी–कोस्टारिका भिडन्त  जित्नैपर्ने दबाबमा दुवै टिम
तस्वीरः द सन

शुरूआती खेलमा एशियाली राष्ट्र जापानसँग २-१ को हार र दोस्रो खेलमा स्पेनसँगको १-१ गोलको बराबरी। यस्तो नतिजा ननिस्किएको भए चारपटकको विश्वविजेता जर्मनी अन्तिम १६ मा पुगिसकेको हुन्थ्यो। तर, उपाधि उचाल्ने लक्ष्य साथ कतार उत्रिएको जर्मनीका लागि २२औँ संस्करणको विश्वकप सोचेजस्तो भएन। 

पहिलो खेलमा आक्रमण र डिफेन्समा चुकेको जर्मनीले दोस्रो खेलमा यी दुई कुरालाई सुधार त गर्‍यो, तर महत्त्वपूर्ण जित भने निकाल्न सकेन।

बिहीबार अल बेयत स्टेडियममा कोस्टारिकाविरुद्ध मैदान उत्रिँदा भने जर्मनीलाई अघिल्ला खेलहरूमा गरेको जस्तो गल्ती गर्ने छुट हुनेछैन। किनभने बिहीबारको खेल अंक तालिकाको पुछारमा रहेको जर्मनीको लागि फाइनल सरह हुनेछ र जित नै निकाल्नैपर्ने बाध्यता हुनेछ।

जारी कतार विश्वकपमा समूह ‘ई’ का दुई खेल सकिँदा स्पेन ४ अंकका साथ शीर्ष स्थानमा छ। यता, जापान र कोस्टरिका ३ अंकको साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा १ अंक जोडेको जर्मनीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै छ।

आइतबार १२:४५ हुने खेलमा स्पेनले जापानलाई गोलरहित बराबरीमा रोक्दा पनि उपविजेताको रूपमा अन्तिम १६ मा पुग्नेछ। यस्तो अवस्थामा कोस्टारिकाविरुद्ध जर्मनीलाई जितको कुनै विकल्प हुनेछैन।

यता, जापानले स्पेनमाथि जित हात पार्‍यो भने कोस्टरिकाविरुद्ध जर्मनीलाई शून्यका विरुद्ध  कम्तीमा ८ गोल आवश्यक पर्नेछ। यस्तो अवस्थामा जर्मनीलाई जित मात्रै भएर पुग्दैन अन्य टोलीको नतिजा पनि निर्भर हुनुपर्नेछ।

जर्मनी र कोस्टारिका विश्वकपको मञ्चमा भिड्न लागेको यो दोस्रोपटक हो। सन् २००६ मा घरेलु मैदानमा आयोजना भएको विश्वकपअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै जर्मनीले कोस्टारिकालाई ४-२ गोलले पराजित गरेको थियो। त्यसयता फुटबल मैदानमा नभिडेका यी दुई राष्ट्रको करिब १६ वर्षपछि दोस्रो भेट हुन लागेको हो। त्यो पनि समूह चरणकै खेलमा।

“जापानसँगको हारपछि हामीलाई अघिल्लो चरणमा पुग्न धेरै गाह्रो हुन्छ भन्ने लागेको थियो। त्यसपछि कोस्टरिकासँग जापान पराजित भयो र स्पेनसँग हामीले बराबरी खेल्यौँ”, जर्मनीका फरवार्ड थोमस मुलरले कोस्टरिकासँगको खेलअघि भने, “प्राप्त नतिजाअनुसार हाम्रो विश्वकपको फाइनलमा पुग्ने पाइला धरमराएको छ। तर, अब जितसँगै हामीसँग अगाडि बढ्ने राम्रो मौका छ। त्यसैले कोस्टारिकाविरुद्ध हामीले जित नै चाहेका छौँ।”

विश्वकपमा १० गोल गरिसकेका मुलरमाथि जर्मनीका मुख्य प्रशिक्षक ह्यान्सी फ्लिकले अत्यधिक भरोसा राखेका छन्। जर्मनीकै बुन्डेसलिगमा बायर्न म्युनिखबाट खेलिरहेका उनले ४२३ खेलमा १३९ गोल गरिसकेका छन्। यता, सन् २०१० देखि जर्मनीको राष्ट्रिय टोलीबाट खेल्दैआएका उनले १२० खेलमा ४० गोल गरेको इतिहास पनि नभएको होइन। तर, जारी विश्वकपमा दुई खेल सकिँदासम्म उनले एक गोल पनि गर्न सकेका छैनन्।

आइतबार स्पेनविरुद्धको खेलमा करिब ७० मिनेट मैदानमा बिताएका उनले १८ पटक मात्रै बल टच गरेका थिए। आशा गरेभन्दा कमजोर खेल प्रदर्शन गरेपछि प्रशिक्षक फ्लिकले उनको स्थानमा निकलस फुलक्रगलाई मैदान पठाएका थिए।

लगभग हारको संघारमा पुगिसकेको अवस्थामा उनलाई मैदान पठाउने फ्लिकको उक्त रणनीति काम गर्‍यो र जर्मनी उनकै गोलबाट दुई अंक जोगाउन सफल भयो।

जारी विश्वकपमा आफूले शतप्रतिशत दिन नसकेको मुलर स्वीकार गर्छन्। “पछिल्ला वर्षहरूमा मेरो भूमिका सधैँ उस्तै रह्यो। ममाथि दबाब छ धेरैको आशा छ। तर, अभ्यासमा जसरी मैले खेल मैदानमा गोल गर्न सकेको छैन। अहिले दुई खेलमा कुनै गोल नहुनुले म निराश छु”, उनी भन्छन्।

यता, सन् २०१४ को ब्राजिल विश्वकपमा क्वार्टरफाइनलसम्म स्थान बनाएको कोस्टरिकालाई पनि जितको विकल्प हुनेछैन। पहिलो खेलमा सन् २०१० को विश्वविजेता स्पेनसँग ७-० को फराकिलो हार बेहोरेको कोस्टरिका त्यो लज्जास्पद नतिजा बिर्सने प्रयासमा छ। आक्रमण, मिडफिल्ड र रक्षा तीनवटै कुरामा चुकेको कोस्टारिकाले जापानविरुद्धको खेलमा पनि जित निकाल्न अन्तिम समयसम्मै संघर्ष गर्नुपरेको थियो। 

उसका लागि ८१औँ मिनेटमा येल्तसिन तेजेडाको पासमा राइट ब्याक किशर फुलरले गरेको गोल नै निर्णायक भयो। स्पेनसँग ७-० ले पराजित भएको चार दिनपछि लुइस फर्नान्डो सुआरेजले खेलमा केही परिवर्तन गरेका थिए। उनले मिडफिल्डर र अग्रपंक्तिलाई चलायमान बनाए। उनी बिहीबार जर्मनीविरुद्ध उत्रिँदा पनि यस्तै चाहन्छन्।

सुआरेज समूह चरणको अन्तिम खेलको लागि अपरिवर्तित लाइनअप नाम दिन चाहन्थे। तर, सेन्टर-ब्याक फ्रान्सिस्को क्याल्भोले जापानविरुद्ध खेलमा पनि पहेँलो कार्ड खाए। 

उनले त्यसअघि स्पेनसँगको खेलमा पनि पहेँलो कार्ड पाएका कारण जर्मनीविरुद्धको खेल गुमाउने छन्। अन्य रक्षकलाई भने उनले जर्मनीविरुद्धको खेलमा मैदान उतार्ने छन्।

उनले पछिल्लो समय मिडफिल्डमा जेविसन बेनेटलाई मौका दिइरहेका छन्। तर, लेफ्ट मिडफिल्डरले प्रभावकारी खेल भने प्रदर्शन गर्न सकेका छैनन्। त्यसैले बिहीबारको खेलमा २५ वर्षीय लेफ्ट मिडफिल्डर गेर्सन टोरेसले उनको स्थान लिन सक्छन्। अन्यमा भने प्रशिक्षक सुआरेजले निरन्तरता दिन सक्छन्।

यता, फ्लिकलाई भने अग्रपंक्तिमा कुनै समस्या छैन। उनले मुलरको स्थानमा फुलक्रगलाई मैदान उतार्न सक्नेछन्। उनीहरूलाई भने विंगर लिरो साने र इल्के गुन्डोगनले साथ दिनेछन्। तर, जर्मनी पूर्णमा भने जमाल मुसियालामाथि रहने मुलर बताउँछन्।

“हामीसँग जमाल मुसियालाजस्ता धेरै खेलाडी छैनन्। जसले मैदानका कुनै पनि क्षेत्रबाट मौका सिर्जना गर्नसक्छन्। म आफूलाई त्यस्तो देख्दिनँ, मलाई उनबाट सहयोग चाहिन्छ”, उनी भन्छन्।

-एजेन्सीको सहयोगमा


सम्बन्धित सामग्री