Friday, April 19, 2024

-->

स्टारडम सम्हाल्न नसक्दा सिद्धिएका ‘स्टार’

बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका सन्दीप लामिछानेको क्रिकेट करिअर जुनसुकै बेला ध्वस्त हुनसक्ने आकलन उनका अग्रजहरूले पहिल्यै गरेका थिए।

स्टारडम सम्हाल्न नसक्दा सिद्धिएका ‘स्टार’
तस्वीरः इएसपीएन

काठमाडौँ- “सानै उमेरमा नाम र दाम कमाएका धेरै जनाले पछिसम्म यसलाई थेग्न सकेका छैनन्। सन्दीपले यो चिजलाई कसरी ‘म्यानेज’ गर्छ, त्यसले नै उसको करिअरमा धेरै फरक पार्नेछ।”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई उतिबेला नै सन्दीप लामिछानेको लोभलाग्दो नाम र दाम देखेर चिन्ता लागिसकेको थियो। नलागोस् पनि किन? छोटो समयमै ‘ग्लोबल स्टार’ बन्ने खुबी थियो सन्दीपमा जसलाई उनले क्रिकेट पिचमै सिद्ध गरिरहेका थिए। स्याङ्जामा जन्मेका सन्दीपले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यावसायिक सफलता हात पारिरहे।

टी–२० लिगमा ‘ग्लोबल स्टार’को रूपमा छाएका उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेको ६ वर्षको अन्तरालमा कप्तानी सम्हाल्ने अवसर पाए। तर, चार वर्षअघि उनी इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर नेपाल फर्किएलगत्तै उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पारसले जे आशंका गरेका थिए, आखिर त्यही भएको छ। छोटो समयमा आर्जन गरेको चमत्कारिक प्रगति, नाम र दामलाई ‘म्यानेज’ गर्न नसक्दा सन्दीपको क्रिकेट करिअर मात्र ध्वस्त भएको छैन, उनको सार्वजनिक प्रतिष्ठा र व्यक्तिगत जीवनसमेत धूलिसाथ बनेको छ।

नाबालिगमाथि बलात्कार गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम सन्दीप पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन्। गत शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेको मान्न नमिल्ने’ ठहर गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको थियो। 

क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप जमैका पुगेका बेला उनीविरुद्ध नाबालिगमाथि बलात्कार आरोपमा उजुरी परेको थियो। पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ। 

उजुरी परेको करिब एक महिनापछि उनी नेपाल फर्केका थिए। नेपाल आउनसाथ विमानस्थलबाटै पक्राउ परेका र त्यसयता प्रहरी हिरासतमा रहेर अभियोगको प्रतिरक्षा गर्दै आएका सन्दीपविरुद्ध लागेको अभियोगमाथि अदालतको अन्तिम फैसला आउन बाँकी छ। तर, अदालतले सन्दीपलाई थुनामा पठाउनुपर्ने निष्कर्षसहित सार्वजनिक गरेको ८ पृष्ठको आदेश–पर्चामा ‘आफ्नो सार्वजनिक हैसियत ख्याल राख्न नसकेको’ उल्लेख छ।

“गहन जिम्मेवारीलाई नहेरी, विचार नगरी, आफ्नो सार्वजनिक हैसियतलाई ख्याल गर्नुपर्नेमा सो नगरी आफ्नो दिनचर्या एवं क्रियाकलाप पब्लिक अडिट हुन्छ भन्नेतर्फ समेत सचेत रहेको अवस्था देखिएन”, आदेशमा भनिएको छ।

उदय र अवसान
नेपालले सन् २०१४ मा टी–२० विश्वकप खेलेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि संघर्ष गरिरहेको समयमा नेपाली क्रिकेटमा सन्दीपको उदय भएको थियो। चितवनमा पूर्वकप्तान राजु खड्कासँग क्रिकेट सिक्दै गरेको अवस्थामा नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले उनको बलिङबाट प्रभावित भएर काठमाडौँ ल्याएका थिए। 

त्यसपछि सन्दीपले सन् २०१६ मा नेपालको सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरे। २०१८ मा नेपालले विश्वकपको विश्वस्तरको छनोटमार्फत पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरेपछि उनका लागि नयाँ सम्भावनाको ढोका खुला भयो। लामो समय खेलेका शक्ति गौचन र वसन्त रेग्मीजस्ता खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिँदै गर्दा सन्दीप आशलाग्दा स्पिनर भएर उदाए। त्यसयता नेपाली टोलीका प्रायः हरेक सफलतामा उनी अभिन्न अंग बनेर रहे। 

क्रिकेट दुनियाँमा महान् स्पिनर भनेर चिनिने अस्ट्रेलियन बलर शेन वार्नदेखि अफगानिस्तानका रसिद खानसँग तुलना हुने गरेका सन्दीपले आइपीएलमा पाएको अवसरलाई सदुपयोग गर्दै विश्वभरका प्रायः फ्रेन्चाइज लिगमा आफूलाई स्थापित गरे। त्यसयता समकालीन क्रिकेटका एकसेएक खेलाडीसँग ‘ड्रेसिङ रुम’ सेयर गर्ने अवसर पाए। त्यसले उनलाई क्रिकेट करिअर उचाइमा पुर्‍याउन अनुभवी बनायो भने आर्थिक रूपले सम्पन्न पनि गरायो। क्रिकेट खेलेर कमाएको पैसाबाट उनले काठमाडौँमा करोडौँ पर्ने घर किने, महँगो गाडी जोडे। 

एकपछि अर्को सफलताको सिँढी चढ्दै गर्दा सन्दीपमाथि बेलाबेला आफ्नो ‘स्टारडम’लाई सम्हाल्न नसकेको आरोपसमेत लाग्ने गरेको थियो। राष्ट्रिय टोलीकै सिनियर सदस्यहरूमाथि तीखो व्यवहार गर्नेदेखि तत्कालीन कप्तान पारस खड्कालाई सामाजिक सञ्जालमा ‘अनफलो’ गरेको प्रकरणबाट सन्दीप नेपाली समर्थकमाझ आलोचित भइरहेका थिए। त्यतिमात्रै होइन, ‘प्रि–म्याच’ र ‘पोस्ट–म्याच कन्फ्रेन्स’ मा पत्रकारलाई हेपाहा प्रवृत्ति देखाएको भनेर पनि उनी विवादमा परे। क्रिकेट मैदानमा समेत अनुशासन कायम राख्न नसकेको आरोप सन्दीपमाथि लाग्ने गरेको थियो। 

नेपाल क्रिकेट संघ (क्यान)कै एक केन्द्रीय सदस्य तिनै कारण सन्दीप पतनको बाटोमा पुगेको बताउँछन्।

“स्टारडम भएको खेलाडीले आफूले कहाँ, कस्तो व्यवहार गर्नुपर्छ भन्ने हेक्का राख्नुपर्छ। तर, विदेशी लिगमा चर्चा कमाएर राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएपछि उनको व्यवहार नै अलग भयो। मैदान भित्र र बाहिर उनले अनुशासन कायम राख्न सकेनन्। यसले गर्दा उनी केही पूर्व खेलाडीजस्तै पतनको बाटोमा छिट्टै पुग्ने आकलन पहिले नै गरिएको थियो। र भयो पनि त्यस्तै”, क्यानका ती केन्द्रीय सदस्यले भने। 

केन्द्रीय सम्झौतामा आपत्ति र सार्वजनिक असन्तुष्टि जनाएपछि क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगसहित चार खेलाडीलाई कारबाही गरेको थियो। त्यसपछि २०७८ पुसमा क्यानले सन्दीपलाई राष्ट्रिय टोलीको नेतृत्व सुम्पिने निर्णय गरेको थियो। कप्तानको जिम्मेवारी दिइँदा सिनियर खेलाडीलाई बेवास्ता गर्दै पुराना खेलाडीहरूसँग पूर्वाग्रह साँध्न क्यानले सन्दीपलाई अघि सारेको भनेर क्यानमाथि पनि थुप्रै प्रश्न उठे। 

क्यानको निर्णयको पूर्व खेलाडीदेखि र राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीले विरोध गरिरहँदा सन्दीपले मुख खोलेनन्। त्यसयता पनि खेलाडीमाथि गर्ने व्यवहारका कारण उनले आलोचना खेपिरहे। कप्तान बनेपछि मिडियामा कमै मात्र बोल्दै आएका सन्दीपले मैदान बाहिर भने अनुशासन कायम गर्न नसकेको पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्।

“मैदानभित्र के हुन्छ, हामीलाई थाहा हुने कुरा होइन। तर, मैदानबाहिर के गर्छन् मिडियालाई थाहा हुन्छ, समर्थकलाई थाहा हुन्छ, सबैलाई थाहा हुन्छ”, उनी भन्छन्, “तर, पछिल्ला घटनाक्रमले भने उहाँ (सन्दीप)ले मैदानबाहिर आफ्नो अनुशासनलाई कायम गर्न नसकेको पुष्टि हुन्छ।” 

विश्वस्तरीय खेलाडी भएपछि आफूले अरूलाई सिकाउनु पर्ने ठाउँमा उनी आफैँले बाटो बिराउँदा घटनाले अर्को मोड लिएको क्षेत्रीको भनाइ छ। “त्यो लेबलको प्रोफेसनल खेलाडी भएपछि उहाँले अरूलाई के खाने, कहाँ जाने, कसरी खेल्ने, कति बजे अभ्यासमा जाने, मिडिया र अरूसँगको कस्तो व्यवहार गर्ने? भनेर सिकाउन पर्ने हो। तर, ग्लोबल आइकन भएपछि उहाँले यी कुरालाई ध्यान दिन नसकेको देखिन्छ”, क्षेत्री भन्छन्। 

सन्दीपमाथि लागेको बलात्कार अभियोगबारे अदालतबाट अन्तिम फैसला हुन बाँकी छ। अदालतबाट उनी निर्दोष पनि ठहरिन सक्छन्, त्यसबाट उनको व्यक्तिगत र सार्वजनिक जीवनमा भएको क्षति पूर्ताल पनि हुनसक्ला। तर, क्रिकेट करिअर भने फर्किन नसक्ने आकलन धेरैको छ। राष्ट्रिय टोलीका एक पूर्वकप्तान भन्छन्, “अनुशासन विपरीत व्यवहारको त कुरै भएन, भोलिपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान लागेको कप्तान अघिल्लो रात क्लोज क्याम्प छाडेर बाहिर जान्छ र यति जघन्य अपराधमा संलग्न हुन्छ भने उसको करिअर कसरी फर्किन सक्ला?”


सम्बन्धित सामग्री