घोषणापत्रसँगै ‘विचारभन्दा माथि देश’ बाँड्दै रवीन्द्र मिश्र

रवीन्द्र मिश्रले आफूले उठाएका अजेन्डाहरू पुस्तकमा रहेको बताए। उनले आफ्ना शुभचिन्तकको आग्रहमा किताब बाँडेको उल्लेख गरे।

काठमाडौँ– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौँ-१ मा उम्मेदवारी दिएका रवीन्द्र मिश्र यतिबेला चुनावी प्रचार-प्रसारमा व्यस्त छन्। 

विवेकशील साझाबाट राप्रपा प्रवेश गरेर काठमाडौँ-१ बाट उम्मेदवारी दिएका मिश्रले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार-प्रसारलाई तीव्रता दिएका छन्। शुक्रबार चुनावी प्रचार-प्रसारमा हिँडेका मिश्रले मतदातालाई आफ्नो घोषणापत्रसँगै पुस्तकसमेत बाँड्दै गरेको भेटिए। राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले घोषणापत्रसँगै आफैँले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक पनि मतदातालाई वितरण गरेका हुन्।

“हस्ताक्षरका लागि शुभचिन्तकले अनुरोध गरिरहेका छन्,” मिश्रले भने, “मैले यसपालि उठाएका जति पनि अजेन्डाहरू छन्, ती सबै मेरो किताबमा विस्तृत रूपमा भएका कारणले गर्दा मेरा शुभचिन्तकको आग्रहमा सम्भव भएसम्मको ठाउँमा वितरण गरेको हुँ।” 

संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्रले आफ्नो पुस्तकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालका लागि घातक हुने निष्कर्ष निकालेका छन्।

काठमाडौँ-१ बाट उम्मेदवारी दिएका मिश्रको प्रतिस्पर्धामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनावचिह्न लिएर पुकार बम र नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल छन्।

मिश्रले २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ-१ बाटै विवेकशील साझा पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार सिंहसँग ८१८ मतले पराजित भएका थिए।

मिश्र संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै राजतन्त्र पुन:स्थापनाको पक्षमा लागेपछि विवेकशील साझामा विवाद भएको थियो। वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले पराजय व्यहोरेपछि मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए। मिश्रले बीबीसीबाट राजीनामा दिएर साझा पार्टी गठन गरेका थिए। पछि उनले विवेकशील नेपाली दलसँग एकीकरण गरेर विवेकशील साझा पार्टी बनाएका थिए।