स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी बालेन शाहले शहर भौतिक संरचनाहरूको थुप्रो मात्र होइन, त्यहाँ बस्ने अनेक मानिससँग जोडिएर आउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक योग हो भन्ने बुझ्नुपर्छ।
दृश्य १
२०७९ सालको स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मेयर पदमा चुनाव लड्दै गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावअघि नै गाएकाे एउटा र्याप गीत इन्टरनेट सञ्जालमा खुबै चर्चामा थियो। बलिदान फिल्मको गीत 'गरिबको चमेली बोल्दिने कोही छैन'मा उनले यसरी र्याप थपेका थिए:
देशको रक्षा गर्ने जति सबै …(बेकार) छन्
पुरानो भो इतिहास केही फेरिएन
गीतमार्फत उनले सत्ता र शासन चलाउनेलाई खबरदारी गरे। आक्रोशका गीत र र्यापकै बलमा युवा पुस्तामाझ चिनिएका उनी अन्ततः उल्लेख्य मत प्राप्त गर्दै सात महिनाअघि काठमाडौँ महानगरको मेयरमा निर्वाचित हुन सफल भए।
दृश्य २
काठमाडौँ महानगरका नगर प्रहरीले फुटपाथे व्यापारीलाई लखेटी-लखेटी समातेर उनीहरूका ठेला जफत गरे। आफ्नो पौरख र पसिना बगाएर आफू र आफ्नो परिवारको जीविका चलाउने कर्मठ दिदी-बहिनीका कारुणिक चित्कारले अहिले सामाजिक सञ्जाल भरिएका छन्। ती चित्कारले धेरै कथा-व्यथा भनिरहेका छन् तर कामपा डन्डा नचाएर ती निम्न वर्गीय शहरिया श्रमजीवीहरूको रोजीरोटीको बाटो बन्द गर्न लागिपरेको देखिन्छ।
ठेलामा साग बेच्ने एक जना महिलाको ठेला नगर प्रहरीले जफत गर्दैगर्दा उनी रुँदै भनिरहेकी छन्, “मेरो दुःख गरी खाने भाँडो यही हो, मेरो कोही छैन, केही छैन, मेरो यति लगेर, गरिबहरूलाई दुःख दिएर के हुन्छ, तपाईंहरूलाई कति पुग्छ?”
'चमेली'हरू अपराधी हुन्?
यी दुई दृश्यमा ठूलो विरोधाभास देखिन्छ। चुनावअघि बालेन शाहले 'गरिबको चमेली बोल्दिने कोही छैन' भन्ने गीत गाएका छन्। अर्कातिर, उनै बालेन काठमाडौँको मेयर भइसकेपछि फुटपाथमा कर्म गरेर आफू र आफ्ना बालबच्चाहरूका पेट पालिरहेका ‘चमेलीहरू’लाई नगर प्रहरी लगाएर गरिखाने थलोबाट रुवाउँदै उठिबास लगाउँदै छन्। मानौँ 'चमेलीहरू' यो सुकिलो शहरका ठूला अपराधी हुन्।
फुटपाथको खुद्रा-व्यापारभित्र थुप्रै आर्थिक पाटा, सामाजिक जीवनका यथार्थ, शहरका परिभाषा र राजनीतिक दृष्टिकोण जोडिएका हुन्छन्। त्यसैले सडक व्यापारको व्यवस्थापन आफैँमा एक जटिल प्रक्रिया हो। स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी बालेन शाहले बुझ्नै पर्ने कुरा के हो भने शहर भौतिक संरचनाहरूको रास (थुप्रो) मात्र होइन, त्यहाँ बस्ने अनेक थरिका मानिससँग जोडिएर आउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पाटा तथा सम्बन्धहरूको योग पनि हो। अर्थात्, शहर भौतिक र मानवीय पक्षहरू मिलेर बनेको हुन्छ। यी दुईमा मानवीय पक्ष अझै बढी महत्त्वपूर्ण हुन्छ।
काठमाडौँ महानगर, देशको राजधानीभित्रको महानगर। देशभरिका मान्छेको भीड जम्मा भएको महानगर। प्रधानमन्त्रीदेखि सरकारी कार्यालयको कार्यालय सहयोगीसम्म, अरबपति व्यापारीदेखि सुकुमबासीसम्म, अति शिक्षित भनिने प्राध्यापक डाक्टर (प्राडा) देखि निरक्षरसम्म, पुँजीपतिदेखि श्रमजीवीसम्म, महिला, पुरुष, समलिङ्गी, जोगी, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्ग, धार्मिक, नास्तिक, आदिवासी, दलित, आप्रवासी सबैको सङ्गम स्थल हो यो महानगर। फराकिला सडक र साँघुरा गल्ली, गगनचुम्बी भवन र झुपडी बस्ती, आलिसान होटल र सामान्य भट्टी, मन्दिर र मस्जिद, जात्रा र महोत्सव, प्राचीनता र आधुनिकता, सुन्दर गार्डेन र फोहोरको डङ्गुर, चिल्ला सडक र खाल्डाखुल्डी, मल र फुटपाथको व्यापार सबैको संगम स्थल हो काठमाडौँ महानगर।
विविधता, जटिलता र धेरै साधन स्रोत भएको धेरै गतिशील शहर हो यो। त्यसैले अन्य नगरपालिका तथा गाउँपालिकाभन्दा काठमाडौँ महानगरको व्यवस्थापन आफैँमा जटिल कार्य हो। त्यसैले जो कोहीले भन्दा पनि काठमाडौँ महानगरका भौतिक संरचना, समाज, संस्कृति, मनोविज्ञान, अर्थतन्त्र, वर्ग व्यवस्था, मानिस अनि मानवीय सम्बन्ध सबैलाई गहिरोसँग बुझेको अनि योग्यता, निष्ठा, निडरता, सामूहिकता र उच्च मानवीय संवेदना भएको नेतृत्वले मात्र काठमाडौँ महानगरको बागडोर सफलतापूर्वक सम्हाल्न सक्छ।
सडकपेटीमा सामान बेच्नेहरूलाई डन्डा लगाउनुपूर्व सडकको गुजारामुखी व्यापारको चरित्र के हो बुझ्न जरुरी छ। यो केही मात्रामा स्थानीय व्यापारको अंश हो, केही मात्रामा अनौपचारिक शहरी अर्थतन्त्रको हिस्सा हो र केही मात्रामा शहर हुनुको बलियो चिनारी पनि हो। सडकपेटीको व्यापार, ठेलाको व्यापार, डुलेर गरिने व्यापार काठमाडौँ महानगरपालिकाको मात्र मौलिक समस्या होइन। सडकपेटीको व्यापार विश्वव्यापी प्रचलन हो। न्यूयोर्कदेखि नयाँ दिल्लीसम्म, ब्युनर्स आयर्सदेखि बैंककसम्म, जिम्बावेको हरारेदेखि दिल्लीका गल्लीसम्म सडकपेटीमा आर्थिक कारोबार भइरहेको देख्न सक्छौँ।
दुई धारणा, दुई अर्थतन्त्र
सडकपेटीको व्यापारमा विश्वव्यापी रूपले नै बढोत्तरी भइरहँदा सडकपेटीको व्यापारलाई हेर्ने दुइटा स्पष्ट दृष्टिकोणहरू निर्माण भइरहेका छन्। एउटा, सडकपेटीको व्यापारप्रति संकुचित र संकीर्ण (कन्जरभेटिभ) धारणा राख्ने अनुदारवादी धार, जसले सडकपेटीको व्यापारलाई पूर्णरूपमा निषेध नै गर्नुपर्छ भन्ने मान्यता राख्दछ। अर्को, शहरले सडकपेटीको व्यापारलाई पनि समेट्नु पर्छ, शहर सडकमा जीविकोपार्जन गर्नेहरूको पनि हो, सडकमा गरिने व्यापारले शहरलाई जीवन्त राखिरहेको हुन्छ भन्ने उदारवादी धार, जसले सडकपेटीको व्यापारलाई निषेध नभएर व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्दछ।
एकाध अपवाद छाडेर अफ्रिकादेखि एसिया, अमेरिकादेखि युरोप सबैतिरका स्थानीय सरकारहरू (खास गरी महानगरपालिकाहरू) सडकपेटीको व्यापारलाई निषेध तथा दमन गर्ने पक्षमा उद्यत देखिन्छन्। नेपालमा पनि यहाँका महानगरपालिका तथा नगरपालिकाहरूले सडकपेटीको व्यवसायलाई निषेध तथा दमन नै गर्ने नीति लिएको देखिन्छ। पछिल्लो समय बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिका त सडकपेटीको व्यवसायप्रति निकै अनुदार रूपमा प्रस्तुत भइरहेको छ। यद्यपि, पछिल्लो समय समावेशी शहरको अवधारणा अघि सारिएको छ, जसले सडकपेटीको व्यवसायलाई पनि कानुनी मान्यता दिइनुपर्छ तथा यसलाई निषेधभन्दा पनि नियमन गरिनुपर्छ भन्ने उदार धारणा राख्दछ। यही क्रममा सन् २०१८ को नोभेम्बरमा अमेरिकाको लस एञ्जेलस शहरले त्यहाँको सडकपेटीको व्यवसायलाई कानुनी वैधता प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
सडक छेउछाउ अस्थायी रूपले बसेर वा डुलेर गरिने वस्तु तथा सेवाको बिक्री वितरणलाई सडकपेटीको व्यवसायका रूपमा अर्थ्याउन सकिन्छ। सडकमा प्लास्टिक बिछ्याएर सागसब्जी तथा तरकारीको व्यापार गर्ने, कपडाको व्यापार गर्ने, नाङ्लामा खुद्रा सामान बेच्ने, ठेलामा सामान बेच्ने, साइकलमा राखेर फलफूल बेच्ने, डालोमा बदाम र काफल बेच्ने, चोक–चोकमा बसेर जुत्ता तथा चप्पल सिलाउने, घुम्दै पानी पुरी र चना चटपटेको व्यापार गर्ने, बाटो छेउ ठेलामा चिया, चार्ट र म:म: बेच्ने, सांस्कृतिक तथा धार्मिक क्षेत्र वरपर थर्मसमा लिएर चिया बेच्नेहरू, ग्यास चुलो तथा कुकर मर्मत गर्ने, बाटोमा बसेर छाता बनाउने, सडकमै हरिया मकै पोलेर बेच्नेहरू, नरिवलका चाना बेच्नेहरू, काँक्राको काटेर बेच्ने, काटेर/चिरेर फलफूल बेच्ने, सिक्का साट्ने, सडकमा पत्रपत्रिका र पुस्तक बेच्नेलगायत सबैलाई सडकपेटीमा आश्रित श्रमजीवीका रूपमा बुझ्न सकिन्छ। यसरी सडकपेटीलाई नै मुख्य आधार बनाएर आफ्नो सानोतिनो खुद्रा व्यापार सञ्चालन गर्नेहरू वास्तवमा शहरिया अर्थतन्त्रको सबैभन्दा तल्लो तप्काका कर्मठ उद्यमी हुन्।
विकासशील देशहरूमा द्वैध अर्थतन्त्र अस्तित्वमा हुन्छ, औपचारिक अर्थतन्त्र र अनौपचारिक अर्थतन्त्र। सामान्यतया विकासशील देशमा ग्रामीण अर्थतन्त्र अनौपचारिक अर्थतन्त्रका रूपमा रहेको हुन्छ भने शहरी अर्थतन्त्र औपचारिक अर्थतन्त्रको रूपमा रहेको हुन्छ। पछिल्लो समय शहरी अर्थतन्त्रमा पनि सडकपेटीको व्यापारलगायत अन्य अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गएको देखिन्छ। देशमा हुनेखाने र हुँदा खानेहरूबीचको आर्थिक खाडल बढेर ग्रामीण अर्थतन्त्रमा रोजगारीका अवसरहरू खुम्चिँदा आर्थिक अवसरहरूको खोजीमा गाउँबाट शहर बजारतिर हुने बसाइँसराइको क्रमले तीव्रता पाउँछ। देश एकपछि अर्को आर्थिक, राजनीतिक तथा सामाजिक संकटमा फस्दा त्यसको स्वाभाविक प्रतिक्रियाका रूपमा सडकपेटीको व्यापार फस्टाएको देखिन्छ। नेपालमा सडकपेटीलाई आधार बनाएर व्यवसाय गर्नेहरूको संख्या ठूलो भए पनि त्यसको तथ्यांक र सडक अर्थतन्त्रका विविध आयामबारे खासै अध्ययन अनुसन्धान भएको देखिँदैन। विभिन्न अध्ययनले सडकपेटीको व्यवसायले भारतमा शहरी रोजगारीको ११ प्रतिशत र दक्षिण अफ्रिकामा १५ प्रतिशत हिस्सा ओगटेको देखाउँछ।
काठमाडौँ तथा देशका अन्य शहर बजारहरूमा पहिलेदेखि नै सडकपेटीको व्यापार अस्तित्वमा रहेको देखिन्छ। पहिले पहिले काठमाडाैँ नेवार जातिले खर्पनमा बोकेर घरघरमा तेल तथा तरकारीहरू बेच्न ल्याउने गर्दथे। त्यस्तै, पहाडतिर बजार छेउछाउका गाउँबाट उत्पादित ताजा सागसब्जी, तरकारी तथा काँक्रो डोकोमा राखेर बजारमा बेच्न ल्याउने गरिन्थ्यो भने तराई मूलका नेपालीले माछा तथा फलफूल बेच्ने गर्दथे। अहिले पनि काठमाडाैँका परम्परागत नेवारी बस्ती छेउछाउका वृद्ध महिलाहरू बारीमा उब्जाएर आफूले उपभोग गरी बाँकी रहेका धेरथोर तरकारी सडक छेउछाउमा बिक्री गर्नका लागि बसेका हुन्छन्। त्यसैले सडकपेटीको व्यवसायलाई नेपाली समाजले पहिलेदेखि नै अँगाली आएको तथा यो व्यवसायप्रति समाज सहिष्णु रहेको देखिन्छ।
सम्पदा, पर्यटकीय र धार्मिक क्षेत्रहरू वरपर पनि फुटपाथको व्यापार चलेकै छ। यस प्रकार सडकपेटीको व्यापार नेपाली समाजसँग राम्रोसँग अन्तर घुलित छ। पछिल्लो समय कमजोर आर्थिक सामर्थ्य भएकाले रोजीरोटीको विकल्पका रूपमा सडकपेटीको कारोबारलाई अँगाल्दै आएको पाइन्छ। नेपाली समाज सडकपेटीको कारोबारप्रति सहिष्णु नै देखिन्छ, तर काठमाडौँ महानगरलगायतका कतिपय स्थानीय सरकारहरू भने निषेध तथा दमन गर्ने नीतिमा प्रतिबद्ध रहेको देखिन्छ। झट्ट हेर्दा मात्रै पनि सडकपेटीको व्यवसायमा संलग्न हुनेहरूमा पुरुषभन्दा महिलाहरूको संख्या धेरै रहेको देखाउँछ। रोजगारीका औपचारिक क्षेत्रहरूमा पहुँच नभएका, गरिबीको चपेटामा परेका, आधारभूत शिक्षाबाट वञ्चित भएका र सामाजिक तथा आर्थिक उत्पीडनमा परेकाहरू बढी मात्रामा सडकपेटीको व्यवसायमा संलग्न रहेको देखिन्छ।
बाध्यताकाे व्यापार
सडकपेटीको व्यापार रहरले भन्दा पनि बाध्यताले अँगालिएको देखिन्छ। शहर बजारमा जनसंख्या बढ्दै जाँदा पसल कवल र सटरहरू पनि थपिएका छन्, तर त्यस्ता सटरको भाडा सामान्य लगानीको व्यवसायले थेग्न सक्दैन। त्यसमाथि सटर लिँदा प्रारम्भमै एकमुस्ट पैसा तिर्नुपर्ने झन्झट पनि कतिपय अवस्थामा छ। त्यसमाथि पसलको सजावटमा अर्को खर्च गर्नुपर्छ। जसले गर्दा लगानीका लागि पुँजी कम भएकाका लागि सटर भाडामा लिएर व्यापार व्यवसाय गर्नु धेरै टाढाको कुरा हो।
व्यावसायिक योजना भए पनि आफ्नो स्वामित्वमा श्रमबाहेक अरू केही पनि नभएकाका लागि औपचारिक वित्तीय क्षेत्रका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्ने कुरा त झनै सोच्न पनि सकिँदैन। यस्तो परिस्थितिमा शहर बजारमा टिक्नका लागि मात्र भए पनि बाध्य भएर मानिस सडकपेटीको खुद्रा धन्दामा होमिन्छ। हरेक खाले संकटले सबैभन्दा पहिले असर गर्ने भनेको पनि यही वर्गलाई हो। बन्द, हडताल, स्वास्थ्य संकट, वा आर्थिक मन्दीले शहरमा सबैभन्दा बढी प्रताडित हुने वर्ग भनेको दैनिक ज्याला मजदुरी गर्ने र यिनै सडकपेटीमा व्यवसाय गर्ने श्रमजीवीहरू नै त हुन्।
सडकपेटीमा व्यवसाय गर्ने भनेको निम्न वर्गले नै हो। उनीहरूको आम्दानीको पूरै हिस्सा उपभोगमा खर्च भएको हुन्छ। जस्तो कि, काठमाडौँ उपत्यकामा सन् २०१४ तिर पुष्कर शर्मा र पुष्कर के. प्रधानले गरेको एक अध्ययनमा सडकपेटीको व्यापार गर्नेहरूको आधा आम्दानी मानव जीवनका आधारभूत आवश्यकताहरू गास, बास र कपासको जोहो गर्नमा खर्च भएको देखिन्छ भने बाँकी आम्दानी छोराछोरीको शिक्षा, स्वास्थ्य र अन्य प्रयोजनमा खर्च भएको देखिन्छ। यस प्रकार उनीहरूसँग नगण्य बचत वा शून्य बचत रहन्छ। त्यसैले जहिले पनि देशमा हुने आर्थिक तथा राजनीतिक संकटको उच्च जोखिममा यो वर्ग रहेको हुन्छ।
सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवाहरू आमउपभोक्तालाई सहज रूपमा उपलब्ध गराएर सडकपेटीको व्यवसायले बजारमा आफ्नो औचित्य प्रमाणित गरिसकेको छ। सस्तो मूल्यका कारण पसलमा भन्दा सडक छेउछाउमा तरकारी बेच्नेहरू, साइकलमा फलफूल बेच्नेहरूका वरिपरि उपभोक्ताको बढी भीड लाग्ने गरेको यथार्थ हो। त्यस्तै, भक्तपुर, कीर्तिपुर, पनौतीजस्ता ठाउँका सडकपेटीको व्यापारमा स्थानीय किसान पनि सहभागी हुने गरेका छन्। किसान आफैँ पनि तरकारी बेच्न फुटपाथमा आउँदा एकातर्फ किसानले उत्पादनको उपयुक्त मूल्य पाउन सक्छन् भने अर्कातर्फ उपभोक्ताले पनि सस्तो मूल्यमा कृषि उपज किन्न सक्छन्। त्यसले बजारमा बिचौलियाको उपस्थितिलाई निरुत्साहित गर्दछ। यो पनि सडकपेटीको खुद्रा कारोबारको एउटा सुन्दर पाटो हो।
सडकपेटीको व्यापार सहज छैन। चर्को घाम, वर्षा र हुरी बतास झेल्नुपर्ने, धुलो, धुवाँ र प्रदूषण पचाइरहनुपर्ने, ठेलागाडा घिच्च्याइरहनुपर्ने, ग्राहक खोज्दै डुलिरहनुपर्ने अनि नगर प्रहरी आयो भन्ने सुइँको पाउनेबित्तिकै भागिहाल्नुपर्ने अवस्था छ। कमजोर आर्थिक अवस्था भएका व्यक्ति नै फुटपाथको व्यापारमा संलग्न हुन्छन्। र, प्रहरीले उनीहरूलाई सम्मानजनक व्यवहार गरेको देखिँदैन। प्रहरीले फुटपाथ व्यापार गर्ने प्रति प्रायः कडा र रुखो रवैया देखाउने गर्छन्। सडकमा बार्गेनिङ अत्यधिक हुने भएकाले नाफा पनि सीमित हुने गर्छ। पसलमा चर्को मूल्य हुँदा पनि बार्गेनिङ नगर्ने ग्राहकले फुटपाथमा भने चर्को बार्गेनिङ गरिरहेका हुन्छन्। यो सामाजिक मनोविज्ञान आफैँमा अचम्म लाग्दो छ।
निषेध हाेइन, व्यवस्थापन
सडकपेटीको व्यापार स्थानीय सरकारको क्षेत्राधिकार भित्रको विषय हो। अहिलेसम्म नेपालका स्थानीय सरकारहरूले सडकपेटीमा व्यापार गर्नेहरूलाई कानुनीरूपमा वैधानिकता दिन चाहेको देखिँदैन। जहिले पनि सरकारको नीति भनेको सडकपेटीको व्यवसायलाई निरुत्साहन गर्ने नै रहेको छ। यत्रो निषेध र दमनका बावजुद पनि सडकपेटीमा व्यापार गर्नेहरूको संख्या बढ्दो क्रममा छ। त्यसैले अब सडकपेटीको व्यवसायलाई निषेध गर्नेभन्दा पनि यसको वैज्ञानिक व्यवस्थापन गर्ने दिशामा स्थानीय सरकारहरूले सोच्न जरुरी छ। हाम्रै छिमेकी मुलुक भारतले पनि 'स्ट्रिट भेन्डर्स एक्ट, २०१४' जारी गरेको छ। जसले सडकपेटीमा व्यवसाय गर्नेहरूले वैधता प्राप्त गर्नुका साथै उनीहरूको हकहित संरक्षण गर्न तथा सडकपेटीको व्यवसायलाई नियमन गर्नका लागि आवश्यक नियम, कार्यक्रम र स्थानीय संयन्त्र तयार गर्न मार्ग प्रशस्त गरेको छ।
सडकपेटीका व्यापारमा केही बेथिति पक्कै छन्। फुटपाथको बिक्री वितरण गर्ने, कसैले कब्जा गर्ने वा फुटपाथमा कसैले आफ्नो एकाधिकार कायम गर्न खोज्ने गरेको पनि यदाकदा पाइन्छ। झन्डै १०-१२ वर्षअघि पोखराका मुख्य सडकका सडकपेटीमा व्यापार गर्नेहरूले आधा सडक र फुटपाथ नै कब्जा मात्र गरेनन्, फुटपाथ र सडकको ठाउँ पनि लाख–लाखमा बेच्नसमेत थाले। पछि पोखरा महानगरले सबै फुटपाथ व्यवसाय नै हटाइदियो। कति टाठाबाठाका लागि सडकपेटीको व्यापार एउटा राम्रो 'साइड बिजनेस' पनि भएको छ। सडकपेटीको व्यापारले सडकमा हिँड्ने पैदल यात्रुहरूलाई समस्यामा पारेका कैयौँ घटना पनि छन्।
नेपालको संविधानले हाट तथा स्थानीय बजार स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गरेको छ। त्यसो हुँदा स्थानीय तहको सरकारले स्थानीय आवश्यकता तथा अनौपचारिक अर्थतन्त्रको अवस्थालाई मूल्यांकन गर्दै सडकपेटीको व्यवसायलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी स्थानीय ऐन, कानुन तथा नियमहरू ल्याउनुपर्ने आवश्यकता देखिन्छ। शहरका कुन-कुन ठाउँहरू सडकपेटीको व्यवसायका लागि उपलब्ध गराउने, कुन समयमा उनीहरूले व्यवसाय सञ्चालन गर्न पाउने, सडकपेटीको व्यवसायलाई कसरी अभिलेखीकरण गर्ने, उनीहरूबाट स्थानीय कर तथा शुल्क उठाउने कि नउठाउने, यदि कर तथा शुल्क उठाउने हो भने कति कर तथा शुल्क उठाउने, सडकपेटीको व्यवसाय सञ्चालन गर्दा व्यवसायीले पालन गर्नुपर्ने नियम, कानुन के के हुन्, स्वास्थ्य प्रोटोकलहरू के के हुन्, यदि नियम, कानूनको उल्लंघन हुन्छ भने कारबाहीको विधि तथा प्रक्रिया के कस्तो हुने हो आदि विषयहरूको अधीनमा रही स्थानीय सरकारले सडकका पैदल यात्रुहरू र सडकपेटीका व्यवसायीहरू दुवैको स्वार्थ सम्बोधन हुने गरी स्थानीय ऐन, कानुन तर्जुमा गर्नतिर लाग्नुपर्ने आवश्यकता देखिन्छ।
गरिबका गीत गाएर चुनाव जित्ने तर शक्तिमा पुगेपछि गरिबको हुर्मत लिने काम बालेनले नगरुन् भन्ने अपेक्षा छ। महँगा र विदेशी ब्रान्डेड कालो चस्मा लगाउने चस्मा फुकालेर गरिबका दुःख राम्रोसँग नियालुन् र तिनको मर्म बुझुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
