केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए।
छठको बेला जनकपुरमा नहुनुको न्यास्रो मेटाउन सिँगारिएका पोखरीहरूको तस्वीर हेरेर गीत गुनगुनाउँदै थिएँ। छठकै पर्यायवाची बनिसकेकी शारदा सिन्हाको निधनको खबरले न्याश्रोपन बढाइरहेकै थियो। त्यही बेला मोबाइलमा घन्टी बज्न थाल्यो।
जनकपुरबाट चिनजानकै मान्छेको फोन थियो, जसले दशैँताका ‘फुर्सदमा भेटेर कुरा गर्नुपर्छ’ भनेका थिए। हालखबरसहित लोकेसन सोधेँ। “एउटा भिडियो छ,” उनले भने, “उकालोको पेजबाट पोष्ट गर्ने भए पठाउँछु।”
भिडियोमा के छ भनेर सोध्दा ‘दुहबी नाकामा प्रहरीले पैसा उठाइरहेको’ जवाफ आयो। ह्वाट्सएपमा भिडियो पठाइ पनि हाले। भिडियो छोटै थियो र सशस्त्र प्रहरीले पैसा असुलेको प्रष्ट बुझिन्थ्यो। थप सोधिखोजी गर्न थाल्दा ‘समाचार बनाइरहन पर्दैन, आजैको ताजा भिडियो हो, पोष्ट गरिदिनुस्न, हल्लिहाल्छ नि’ भने। भिडियो दोहोर्याइ–तेहर्याइ हेर्दै थिएँ, उनले अलि आत्तिएको स्वरमा भने, “तपाईं भिडियो नराख्ने हो भने डिलिट गरिदिनुस्, प्लिज।”
मेरो लागि भिडियोभन्दा पनि उनले चुहाएको एउटा नाम अझ समाचारलायक थियो– राजीव महासेठ। सामान सीमा वारपारको धन्दामा महासेठ र ‘चाची’ उपनामममा जनकपुरमै नाम चलेकी उनकी आमाको धन्दा पत्ता नलाई भिडियोको खास सदुपयोग नहुने ठानेँ। जनकपुरका चिनजानका खबरीलाल टाइपहरूलाई फोन लगाउन थालेँ। खबरीलालहरूसँग सीमा वारपार धन्दाको फन्दा, पुलिससँग सेटिङ, अन्य ‘बलेकिया’सँगको टसल र मासिक असुलीबारे जतिसँग गफियो, ‘क्राइम थ्रिलर’जस्तो सुनियो।
उनको कुण्डली र प्रहरीसँग ‘नेक्सस’ खोज्नु थियो। खबरीलालहरूसँग फोन लगाएर नाम लिनेबित्तिकै ‘त्यो तस्कर’, ‘त्यो बलेकिया’ भन्दै कुराकानी शुरू गर्थे। चिनजानकालाई सीमा वारपार धन्दा र चाचीबारे विस्तृत थाहा पाउने मान्छेको नाम/नम्बर सुझाउन अनुरोध गरेँ। फोनमा कुरा गर्न थालेपछि जनकपुरमा ‘उकालो’मा तस्करीबारे स्टोरी आउँदैछ भन्ने हल्लीखल्ली हुन थाल्दा आश्चर्यचकीत नभइरहन सकिएन।
जनकपुरबाट फोन गर्नेमध्ये कोही ‘स्टोरी बनाउँदै हो’ भनेर जिज्ञासा मात्र राख्थे, कोही रिपोर्टिङ नगर्न अनुरोध गर्थे। यस्तो कुराले मलाई रोमाञ्चित बनाउनुका साथै स्टोरी चाँडै पूरा गर्न प्रेरित गरिरहेको थियो।
छठ् सकियो। एउटा ठिकठाकको रिपोर्ट तयार हुने सूचना संकलन भइसकेको थियो। उकालोको सिग्नेचर मानिने विस्तृत खोजमूलक स्टोरीका लागि लामो समय लगाउनुभन्दा पनि ठिकै आकारको स्टोरीमार्फत सत्य–तथ्य सार्वजनिक गरी भविष्यमा तस्करीको विस्तृत रिपोर्टिङ गर्न जमिन तयार पार्नु थियो। जोसँग कुरा गर्दा पनि महासेठमै पुग्ने भएपछि स्टोरीलाई उनैतिर केन्द्रित गर्ने सोचेँ।
दुहबीकै मान्छेहरूको सम्पर्क नम्बर पत्ता लगाएर भटाभट फोन गर्न थालेँ। सूचनामा केही थपथाप गर्दिए पनि नाम उल्लेख गराउन कोही चाहिरहेका थिएनन्। अन्तिम अस्त्रले काम बनाइदियो।
कसरी दुहबी नाकाबाट तस्करी भइरहेको छ? कसको संरक्षणमा भइरहेको छ? कसले, कति पैसा, कोमार्फत खाइरहेको छ? तथा महासेठको भूमिकाबारे लेख्न शुरू गरेँ। प्राप्त सूचनालाई सत्य ठहर्याउनेमा प्रहरीहरू पनि थिए। सूचनाको आधारमा प्रतिक्रियाका लागि फोन गरेको बोर्डर आउट पोष्ट (बीओपी)का डीएसपी शंकरदत्त तिवारी, धनुषा सशस्त्र प्रहरीका एसपी दर्शन गिरी र नेपाल प्रहरीका एसपी भूवनेश्वर तिवारीसँगको संवादले बुझिसकेको थिएँ कि प्राप्त सूचनाहरू असत्य छैनन्।
स्टोरी करिब–करिब सक्नै लाग्दा फोनको घण्टी बज्यो। नेपाल प्रहरीको दुहबी इकाइबाट रहेछ। “आदित्य जी, केके सुन्दैछु। तपाईंले प्राप्त गरेको सूचनाजस्तो केही पनि हैन। त्यस्तो अप्ठेरो नपारिदिनुस् न! हामीले जागिर खान धेरै बाँकी छ अहिले,” उताबाट यस्तो सुनिसकेपछि पत्रकारिताको धर्म निर्वाह मात्रै गरिरहेको बताउँदै संवाद टुंग्याइदिएँ।
यता स्टोरीको अन्तिम अनुच्छेद पनि पूरा गरेँ। तर आरोपित पात्रसँग कुरा नगरी स्टोरी प्रकाशनार्थ अघि नबढाउने मुडमा थिएँ। महासेठलाई फोन गरेँ, उठेन। पुनः फोन गर्दा १२ मिनेट कुरा भयो। कुरा गर्ने तरिका प्रभावित पार्ने खालको थियो। पुलिसहरूसँग संवाद गर्न अभ्यस्त उनले मलाई पनि फोनमा ‘दादा दर्शन’ भनेर कुरा थाले। हजुर/बक्स्योस लाउँदै कुरा अघि बढाए। सबै प्रश्नको चलाखीपूर्ण तरिकाबाट जवाफ दिए।
केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए। “अरू पत्रकारसँग सम्पर्क थियो, तपाईंसँग नभएर मात्रै हो,” भनिसकेपछि मैले स्पष्ट पार्न भनेँ। नबुझेकोझैँ गरी कुरा कोट्याउन थालेँ।
आर्थिक प्रलोभनका लागि फोन गरेका हुन् भन्ने बुझे पनि नबुझेझैँ गरी कुराहरू चुहाउन उकास्न थालेँ। “तपाईंलाई नेपाल प्रहरीको एसपी साहेबले कि सशस्त्रको एसपी साहेबले फोन गर्न लगाएको?” मेरो प्रश्न थियो।
“दुवैसँग भर्खरै कुरा भयो। दुवैले एकताल कुरा गर न त भन्नुभयो,” उनले स्पष्टै भने, “मिलाइदिनुस् न हजुर, एकपटक छापिएपछि त बिग्रिहाल्छ नि! तपाईंसँग सम्पर्क नभएर मात्रै हो। जेजति हुन्छ महिना–महिनामा पुग्छ। केही अप्ठ्यारो हुँदैन। हेरिदिनुपर्यो एकपटक।”
उनीहरूबाट लाभार्थीहरू को–को हुनेरैछन भनेर थाहा पाउन मन लाग्यो। म उकास्न थालेँ। “कति जनालाई दिनुहुन्छ, लिष्ट होला नि?” सोधेँ।
“२९–३० जनालाई दिन्छौँ,” जवाफ आयो।
अचानक फोन काटियो।
त्यो रात, उनको फोन दोहोरिएन। तर अन्य नम्बरहरूबाट भने धमाधम फोन आउन थाल्यो। सेभ भएका, नभएका जेजति नम्बरहरूबाट आए, सबै स्टोरी नलेख्न आग्रह गरिएका फोन थिए। कोही नलेख्न भन्थे त कोही केही दिन ‘होल्ड’ गरिदिन अनुरोध गर्थे। म पनि स्टोरी प्रकाशनका लागि फरवार्ड गरिसकेकाले केही गर्न नसक्ने भन्दै उम्किदै थिएँ। राति अबेरसम्मै यस्ता फोन आउने छाँट देखिएपछि मोबाइल साइलेन्टमा राखेर सुतेँ।
भोलिपल्ट बिहानै फोन आयो। “गुड् मर्निङ हजुर, हिजो फोन काटिहाल्नु भयो!” यति सुनेपछि थाहा पाएँ तीनै सशस्त्र प्रहरी रहेछन्।
“भन्नुस् हजुर के होला,”
“केही हैन, रातिकै सल्लाह त हो नि,” उनले भने।
मैले पनि रातिकै जवाफ दोहोर्याएँ, “थप कसरत नगरे बेस।”
त्यसपछि उनले त फोन गरेनन्, चिनजानका अरूहरूले फोन गरिरहे। ‘सम्पादकसमक्ष पुगिसकेकाले आफ्नो काबुबाहिर गइसक्यो’ भनेर उम्की नै रहेँ। साँझ स्टोरी प्रकाशित भयो।
यो पनि: धनुषामा तस्करबाट पैसा उठाउँछन् सशस्त्र र नेपाल प्रहरी, दुहबी नाका राजीव महासेठलाई सधैँ खुला
समाचार आएपछि रिपोर्टिङकै क्रममा जस्तो हल्लीखल्ली त भएन, फोनहरू भने आए। मान्यवर/जान्नेवरहरू फोन गर्छन्– कोही ‘सही गरिस्’ भन्छन्, कोही ‘ठीक गरिनस्’ भन्छन्। कसैले चियाअड्डाबाटै फोन गर्छन्, कोही राति अबेर ‘ठीक–ठीक’ भएपछि फोन गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
