काठमाडौँ– धनुषास्थित दुहबी सीमा नाका। नाकैमा सशस्त्र प्रहरीको सेन्ट्री। नजिकै सशस्त्रको सीमा चौकी (बोर्डर आउट पोस्ट– बीओपी)। नाकाबाट आउजाउ गर्नेमाथि प्रहरीबाट २४ घण्टा नै निगरानी। शान्त र सुरक्षित वातावरण।
विदेह नगरपालिकामा पर्ने दुहबी गाउँस्थित सीमा नाकामा सशस्त्र र नेपाल प्रहरी दुवैको पोष्ट छ। सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वमा यहाँ एउटा टोली छ। नजिकै सशस्त्रको बीओपी छ। बीओपीको नेतृत्व प्रहरी नायब उपरीक्षक (डीएसपी)ले गर्छन्। यो नाकाबाट सशस्त्र प्रहरीलाई छलेर अवैध मालसामान भित्र्याउन सम्भव देखिँदैन। तर यही असम्भव लाग्ने काम दुहबी नाकामा भइरहेको छ।
सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा तस्करहरूले यो नाका तस्करीका लागि प्रयोग गर्ने गरेका छन्। यहाँबाट हरेक दिन मालसामान तस्करी हुन्छ र त्यसको संरक्षण प्रहरीले नै गर्छन्। उकालोलाई प्राप्त भिडियोमा पनि दुहबी नाकामा सशस्त्र प्रहरीले पैसा उठाइरहेको प्रष्ट देखिन्छ।
दुई साताअघि ड्युटीमा खटिएका हवल्दार सन्तोष थापाले मालसामान बोकेर आइरहेको मोटरसाइकल चालकसँग पैसा लिइरहेको दृश्य भिडियोमा कैद छ। “यस्तो दृश्य यहाँ बग्रेल्ती देखिन्छ। नाकाभित्र आउने गाडीको त शुल्क नै तोकिएको छ। यो कुरा सम्बन्धित निकायलाई थाहा नभएको होइन तर उनीहरूकै इसारामा यस्तो धन्दा चलिरहेको छ,” भिडियो उपलब्ध गराएका स्थानीय भन्छन्, “साइकलमा माल ल्याउनेका लागि ५० रूपैयाँ, मोटरसाइकलको लागि १०० रूपैयाँ र मिनी पिकअपका लागि ४०० रूपैयाँ तोकिएको छ।”
यो रकम ड्युटीमा खटिएका प्रहरीले आफ्नै खल्तीमा राख्छन्। बाँकी रकम सादा पोसाकका प्रहरीले मासिक रूपमा एक–एक बलेकिया (तस्कर)सँग असुल्ने गरेको स्थानीय व्यापारी भग्लु महतो बताउँछन्।
केही महिनादेखि दुहबीका राजीव महासेठबाहेक कसैको सामान नेपाल नभित्रिएको महतोको दाबी छ। उनका अनुसार महासेठले आफ्नो सामान मात्रै ठूलो संख्यामा प्रवेश गराइरहेका छन्। “धेरैलाई लाग्छ होला धनुषाको अन्य नाकाबाट बढी तस्करी हुन्छ। तर म दाबाको साथ भन्न सक्छु धनुषामै यो नाकाबाट जति तस्करी हुन्छ त्यो कहीँबाट हुँदैन,” उनी भन्छन्, “यसमा पनि अधिकांश राजीव महासेठको माल हुन्छ। उनी प्रहरीसँग मिलेर कसैको सामान नै भित्रिन दिँदैनन्।”
प्रहरीसँगको नेक्सस्
तस्करी नियन्त्रणका लागि विदेह नगरपालिका महिनाथपुरमा बीओपी स्थापना गरिएको छ। सशस्त्रको बीओपीले तस्करी नियन्त्रण नगरी उल्टै तस्करसँग मोटो रकम असुल्ने खेलमा लागेको स्थानीयको आरोप छ।
दुहबी नाकाबाट खासगरी कपडा र किराना सामग्री तस्करी हुँदै आएको छ। दैनिक २०० भन्दा बढी मोटरसाइकल, सयौँ साइकल र पाँचदेखि १० वटा पिकअपमा तस्करी हुनेगरेको स्थानीय व्यापारी अशोक साह बताउँछन्।
“उताबाट आएका सामान महेन्द्रनगर, जनकपुरधाम, ढल्केबर र वीरेन्द्रबजारसम्म पुग्छ। यताबाट डाबरका प्रोडक्टहरू त तस्करी हुन्छ नै, रक्सी र गाँजा पनि जान्छ,” साह भन्छन्, “यो सबै धन्दा राजीव महासेठले चलाउँछन्। अन्यको बसको बात नै हैन। प्रहरीसँग उनको कनेक्सन यति खतरा छ की उनको सामानका लागि जिल्लाका एसपीहरू २४ घन्टा आफैँ सक्रिय रहन्छन्।”
एक बलेकियाका अनुसार महासेठले मात्रै नेपाल प्रहरी र सशस्त्रका एसपीलाई मासिक ३ लाख रुपैयाँ जति बुझाउँछन्। पैसा उठाएर सशस्त्रका एसपीसम्म पुर्याउने काम सादा पोसाकका सशस्त्र हवल्दार ईश्वर खत्रीले गर्छन्। यो काम नेपाल प्रहरीमा सहायक हवल्दार नरेश गुप्ता र जवान विपीन गुप्ताले गर्छन्।
एसपीका लागि मात्र नभएर मधेश प्रदेशका डीआईजीको भाग पनि उठाइने गरिएको ती बलेकियाको दाबी छ। “हामीले ल्याउने सामानको मात्रा थोरै हुन्छ। हामी सधैँ प्रहरीलाई पैसा दिन सक्दैनौँ। पैसा नदिएको झोँकमा यिनीहरूले हाम्रो सामान जफत गरेर जिल्लामा थन्काइदिन्छन् र राजस्व तिर्न लगाउँछन्,” उनी भन्छन्, “तर राजीव जस्ताहरूलाई खुल्मखुल्ला माल भित्र्याउन दिन्छन्। लाग्छ यहाँको प्रशासनलाई नेपाल सरकारले नभई राजीव महासेठले पालेको छ।”
महिनाथपुर बीओपी सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शंकरदत्त तिवारी दुहबीबाट तस्करी भइरहेको कुरा सत्य नभएको दाबी गर्छन्। बरू आफू आएयता करिब १० लाख रुपैयाँ बराबरको अवैध सामान पक्राउ गरेको उनको दाबी छ।
“म यहाँ आएको धेरै भएको छैन। यहाँबाट अहिले तस्करी गर्न दिएका छैनौँ। पहिला अलिअलि हुन्थ्यो भनेर सुन्या थिएँ,” तिवारी भन्छन्, “यहाँबाट अलिअलि तस्करी हुने तरकारी हो, बाँकी त केही फेला पारेका छैनौँ। तपाईंले प्राप्त गरेको भिडियोमा पनि तरकारी भएको हुनुपर्छ।”
यो नाकाबाट कपडा र रक्सी तस्करी भइरहेको कुरा सत्य नभएको तिवारीको दाबी छ। तर आफूले बरामद गरेको १० लाख जतिको अवैध मालसामानमा रक्सी पनि रहेको उनले स्वीकार गरे।
धनुषा सशस्त्र प्रहरी बलका एसपी दर्शन गिरी पनि दुहबी नाकामा अन्य नाकाभन्दा कडाइ गरिएको दाबी गर्छन्। दुहबीमा मात्रै नभई धनुषाका कुनै पनि नाकामा सशस्त्र प्रहरीले अवैध मालसमान भित्रिन नदिएको उनको दाबी छ। “यहाँ कस्तो कडाइ गरेका छौँ, कहाँ तस्करी गर्न सकिन्छ यहाँबाट? तस्करीको मामलामा जिरो टोलेरेन्सको नीति अपनाएका हौँ,” गिरी भन्छन्, “बरू सूचना भए हामीलाई दिनुस्, कारबाही गरिहाल्छौँ नि! यत्रो केटाहरू खटिरहेको छ, तस्करी भएको सूचना बिल्कुलै गलत छ।”
उकालोसँग भिडियो नै भएको जानकारी गराउँदा एसपी गिरीले भने, “भिडियो छ भन्दैमा बार्गेनिङ नगर्नुस्। त्यस्तो कहाँ हुन्छ यहाँ? भिडियो यहीँको हो भन्ने के ग्यारेन्टी छ? जहाँको पनि हुनसक्छ। बरू यहाँ आएको बेला हाम्रो गणमा आउनुस्। यहीँ बस्दा हुन्छ। केके व्यवस्था गर्नुपर्छ गरौँला।”
नेपाल प्रहरीका एसपी भूवनेश्वर तिवारीले भने तस्करी पूरै ठप्प नभएको बताए। तस्करी भारी संख्यामा नभई न्यून मात्रामा भइरहेको उनको भनाइ छ। “अलिअलि त भइहाल्छ नि! तर पनि म आएदेखि यहाँ अवैध मालसामान धेरै नै पक्राउ गरेका छौँ,” तिवारी भन्छन्, “सादा पोसाकको प्रहरीले पैसा उठाइरहेको कुरा सरासर झूटो हो।”
राजीव महासेठलाई आफूले नचिन्ने र सम्बन्ध पनि नभएको उनको दाबी छ। ‘तपाईंसँग सिधै टच छ रे नि’ भन्ने प्रश्नमा तिवारीले भने, “तस्करै त होला नि! मसँग त्यस्तो कुनै सम्बन्ध छैन। म चिन्दा पनि चन्दिनँ।”
को हुन् राजीव महासेठ?
राजीव महासेठको खास घर दुहबी हो, तर नेपालको होइन भारतको। सीमावारि पनि दुहबी गाउँ छ र पारिलाई पनि दुहबी नै भनिन्छ। स्थानीयका अनुसार उनकी आमा धेरै अगाडिबाट सीमापारी किराना पसल गर्दै आएकी छन्। तस्करीमा उनीभन्दा उनकी आमा अगाडि रहेको दुहबीका स्थानीयको भनाइ छ। राजीवकी आमालाई स्थानीय ‘चाची’को नामले चिन्छन्। प्रहरीले पनि उनलाई चाची नै भन्छन्।
“तस्करीको दुनियाँमा चाची जति चर्चित छिन्, त्यति त अहिलेसम्म यहाँ कोही छैन। उनको नामै लिँदा पनि प्रहरीले कुनै पनि मालबाहक गाडी छोडिदिन्छ,” एक स्थानीय भन्छन्, “अहिले कपडा र दारूको तस्करी उनको छोराले हेर्दै आएको छ। चाची किराना आइटम हेर्छिन्। धनुषाका तस्करहरूको नामावली तयार पार्ने हो भने राजीवको नाम एक नम्बरमा आउँछ।”
महासेठले अहिले सीमा वारिपारि दुवैतिर घर बनाएका छन्। तर दुवै घरमा मान्छे बस्नेभन्दा गोदाम कोठाको संख्या धेरै छ। महासेठले जनकपुरस्थित देवीचोकमा पनि महल ठड्याएका छन्।
दुहबीका रोशन झाका अनुसार महासेठको दबदबा बिहारमा रक्सी प्रतिबन्ध भएपछि बढेको हो। त्यसअघि उनी आमासँगै किरानाका सामानहरू अवैध तरिकाबाट नेपाल भित्र्याउने गर्थे। “रक्सीले नै उसको आफ्नो पहिचान बनाइदियो। किराना र कपडाहरू उसले बाइकबाट ओसारपसार गर्छ। उनको मातहतमा १०० देखि १५० वटा बाइक छन्,” रोशन भन्छन्, “पिकअपमा नेपालबाट दारू सप्लाई गर्छ। दारूको लाइन रातिको समयमा चल्छ।”
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उनको अवैध कारोबारमा सघाइरहेको स्थानीय रोशन झाको आरोप छ। कैयनपटक महासेठको घरमा देखाउनकै लागि मात्र प्रहरीले छापा मारेको तर उनी कहिल्यै गिरफ्तार नभएको रोशन बताउँछन्।
महासेठ भने आफू तस्करीमा संलग्न नरहेको दाबी गर्छन्। आफूले ‘राजीव इन्टरप्राइजेज’ नाममा थोकमा किराना सामान बेचिरहेको उनको दाबी छ। “मेरो किराना आइटम र रक्सीको कारोबार छ। मेरो पसलमा दुवै देशका नागरिक सामान खरिद गर्न आउँछन्। मैले गर्ने भनेको यत्ति हो, बाँकी कुनै धन्दा छैन,” महासेठ भन्छन्, “पहिला ट्रेन चल्दाखेरि मेरो कपडाको कारोबार थियो, अहिले छैन। बाँकी यहीँको पसलहरूमा मकहाँबाट रक्सी जान्छ। म कुनै तस्करीमा संलग्न छैन।”
आफू दुहबी नबस्ने हुँदा यहाँको नाकाबाट तस्करी हुने वा नहुने आफूलाई जानकारी नभएको महासेठको भनाइ छ। आफू काठमाडौँ बस्ने र उतैबाट अन्य कामहरू हेर्ने गरेको उनी बताउँछन्।
चार वर्षअघि भएको छापामारी
जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन डीएसपी मकेन्द्र मिश्रको कमान्डमा ११ जना प्रहरीको टोलीले २०७७ भदौ १२ गते महासेठको घरमा छापा मारेको थियो। अवैध सामान मिनी ट्रकमा ल्याएर उनले गोदाममा भण्डारण गरेको सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली छापा मार्न पुगेको थियो। तर उनको घरबाट सामान बरामद भएन।
पछि उनको छिमेकको घरमा छापा मार्न लाग्दा भारततर्फको गाउँबाट ढुंगामुढा शुरू भएको थियो। त्यहाँ प्रहरीले एक राउन्ड हवाई फायर पनि गरेको थियो। स्थिति नियन्त्रणमा नआएपछि प्रहरी त्यहाँबाट पछि हटेको थियो। त्यति बेला डीएसपी मिश्रले भारततर्फका एसएसबीहरूको भूमिका शंकास्पद रहेको र उनीहरूले नै पारिबाट ढुंगामुढा गराएको आशंका गरेका थिए।
त्यसको ठीक एक वर्षअघि २०७६ भदौ २८ गते पनि भन्सारका कर्मचारीहरू महासेठको घरमा जाँदा ढुंगामुढा भएको थियो। त्योबेला भन्सारका कर्मचारीहरू नीरबहादुर कटुवाल, मोहन थापा, रामबहादुर कापर, अमर प्रधान क्षेत्री घाइते भएका थिए। भन्सार कार्यालयका प्रमुख रामेश्वरकुमार मिश्रले कर्मचारीमाथि भएको आक्रमणको घटनाका सन्दर्भमा मेडिकल रिपोर्ट र मुचुल्का उठाएर छानबिन गरी दोषीलाई कारवाही गर्न मौखिक तथा लिखित रूपमा नै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्र लेखेका थिए। तर महासेठमाथि कुनै कारवाही भएन।
महासेठलाई कुनै प्रकारको राजनीतिक संरक्षण नभए पनि प्रहरी प्रशासनको संरक्षण राम्रै भएको अर्का स्थानीय शैलेन्द्र यादव बताउँछन्। “अहिले कताकता कोको नेताहरूको पनि साथ रहेको सुनिरहेको छु। तर खासमा उसको पकड प्रहरी प्रशासनमै बलियो छ,” शैलेन्द्र भन्छन्, “उसको प्रहरीसँगको कनेक्सन जिल्लामा मात्रै नभई केन्द्रसम्मै छ। अहिले उसको कनेक्सन मधेश प्रदेशको डीआईजीसँग पनि राम्रै भएको सुनिन्छ।”