आले परिवारले तीन आनाको जग्गामा एकतले घर बनाएको थियो। अहिले त्यो घर बाढीले ल्याएको ढुंगामुढा र पानीले भरिएको छ भने विस्थापित उनीहरू छिमेकमा आश्रित छन्।
काठमाडौँ– गत शुक्रबारदेखिको मुसलधारे वर्षापछि खोलाको बाढी पस्दा गोदावरी नगरपालिका–१०, फन्टटारका चतुरमान आलेको घर क्षतिग्रस्त भएको छ। उनको घरनजिकै बग्ने फन्टे खोला शनिबार बिहान ५ बजेतिर उर्लिएर आएसँगै उनी र उनको परिवार विस्थापित हुनुपर्यो।
बाढीले घरको गारो भत्काएको छ भने बाँकी भागमा बस्न नमिल्ने गरी क्षति पुर्याएको छ। घरसँगै रहेको गोठमा सुतेको चतुरमान दम्पती बाढी पसेर गोठ भत्किन थालेपछि शनिबार उज्यालो नहुँदै ब्युँझिएका थिए। घरनजिकै बग्ने फन्टे खोला ठूलो आवाजले सुसाएको उनीहरूले सुने। उठेर हेर्दा खोलाको भल आफ्नो घरतर्फ सोझिएको चतुरमानले देखे। त्यसपछि उनले घरभित्र सुतिरहेका छोराछोरीलाई सम्झिए।
“बाढी घरभित्रै पसिसक्दा पनि मस्त निदाएका छोराछोरी ब्युँझिएका रहेछन्। हत्तपत्त भित्र पसेर उनीहरूलाई तानेर बचायाँै,” चतुरमानले भने। बाढीले सिमेन्टको ब्लकबाट निर्मित उनको घरको एकातर्फको गारो भत्काएको छ भने घरभित्रका सबै सामान बगाएको छ। एकसरो लुगाबाहेक साथमा केही नभएको उनले बताए।
घरनजिकै बग्ने फन्टे खोलाको बहाव खुम्चिने गरी राखिएको ह्युमपाइपमा नअटाएको बाढी उनको घरभित्र पसेको थियो। उनका दुई छिमेकीको घर पनि डुबानमा परेको छ। तर ढलान गरिएको पक्की घर भएकाले तिनमा क्षति पुगेको छैन।
“हामी जान्ने बुझ्ने मानिस परेनौँ। ढलको पाइप राखेर खोलो बग्ने ठाउँमा बाटो निकालेको थियो,” चतुरमानले भने, “त्यही ढलमा पानी नअटाउँदा घरभित्र बाढी पस्यो।”
रामेछापबाट ६ वर्षअघि फन्टटारमा बसाइँ सरेको आले परिवारले तीन आनाको जग्गामा एकतले टहराको घर बनाएको थियो। अहिले त्यो घर बाढीले ल्याएको ढुंगामुढा र पानीले भरिएको छ।
“यहाँ बस्न आएको पाँच–छ वर्ष लाग्यो। अहिलेसम्म यस्तो भएको थिएन, सपनाजस्तै लागेको छ,” चतुरमानले भने, “हिजोदेखि अध्यक्षज्यू (वडाध्यक्ष) आउँछु भन्नुभएको थियो। खोई अहिलेसम्म आउनुभएको छैन।”

ज्यालमजदुरी गरेर बनाएको घर बाढीमा परेर क्षतिग्रस्त हुँदा उनी चिन्तित छन्। घरबाट विस्थापित भएको आले परिवार अहिले छिमेकी राजन तिमिल्सिनाको घरमा आश्रय लिएर बसेको छ। खानाको व्यवस्था छिमेकी र साथीभाइको सहयोगबाट भइरहेको उनले बताए।
फन्टटारमा बग्ने फन्टे खोला फाँटको कुना हुँदै बग्छ। गत वर्ष उक्त खोलाको करिब ३०० मिटर बहावक्षेत्र ह्युमपाइप बिछ्याएर पुरियो। त्यसमाथिबाट बाटो बन्यो। कन्टिनेन्टल डेभलपर्स र शुभकामना ल्यान्ड एन्ड हाउजिङ नामका घरजग्गा व्यवसायी कम्पनीले गोदावरी नगरपालिकाकै सहकार्यमा व्यापारिक उद्देश्यले जग्गा प्लटिङ गर्ने क्रममा खोलो छोपेका थिए।
त्यसबेला फन्टटार डाँडागाउँका केही स्थानीयले त्यस्तो कामको विरोध गरेका थिए। खोला मासेर बाटो बनाउँदा हुनसक्ने सम्भावित बाढीको खतराबारे उनीहरूले नगरपालिका र वडा कार्यालयलाई चेतावनी पनि दिएका थिए। तर उनीहरूलाई बोल्नै रोक लगाइयो।
स्थानीयको विरोध मत्थर पार्दै निश्चित व्यक्ति र व्यापारिक घरानाको स्वार्थ पूरा हुने गरी सहयोगी बनेर बलमिच्याइँपूर्वक खोला पुरेको आरोप स्थानीय सरकारमाथि लाग्यो। यसबारे उकालाले गत माघमा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।
तीन वर्षअघि श्रेष्ठ परिवारको उस्तै हालत
अव्यवस्थित जग्गा प्लटिङका कारण फन्टटारमा पीडित हुने चतुरमानको परिवार पहिलो भने होइन। २०७९ सालको वर्षा याममा पनि उक्त प्लटिङ क्षेत्र डुबानमा परेको थियो। कन्टिनेन्टल डेभलपर्स र शुभकामना ल्यान्ड एन्ड हाउजिङले जग्गा प्लटिङमा बाटो निकाल्नका लागि खोला पुरेर ह्युमपाइप बिछ्याएका कारण अर्का स्थानीय राजेश श्रेष्ठको घर डुबानमा परेको थियो।
त्यस बेलादेखि शुभकामना ल्यान्ड एन्ड हाउजिङका प्रतिनिधि राजन तिमिल्सिना ‘टक्रे’ले उनलाई आफ्नो घरको एउटा फ्ल्याट दिएर राखेका छन्। यसपटक बाढीबाट विस्थापित चतुरमानको परिवारलाई आश्रय दिने पनि उनै हुन्।
राजेशको नजिकका नातेदारले बताएअनुसार राजेशको परिवारलाई एकतले घर बनाइदिने आश्वासन दिएर तिमिल्सिनाले आफ्नो घरमा राखेका थिए। यद्यपि विस्थापनको दुई वर्ष बितिसक्दा पनि उनीहरू तिमसिल्नाकै घरमा बसिरहेका छन्।

दुई निजी कम्पनीले व्यावसायिक स्वार्थका लागि निर्बाधरूपमा बग्ने खोलालाई ह्युमपाइपभित्र खुम्च्याएका कारण राजेश र चतुरमानको परिवार विस्थापित हुनुपरेको नाम उल्लेख गर्न नचाहने एक स्थानीय बताउँछन्। खोलाको प्राकृतिक बहाव छेकेर बिछ्याइएको ह्युमपाइप पाँगोले भरिएपछि बस्तीमा बाढी पस्ने जोखिम हरेक वर्षायामका लागि चुनौती भएको भन्दै उनले चिन्ता पोखे।
प्लटिङ क्षेत्र वरपरको फाँटमा मौलाउँदो धानबाली पनि खोलाको बाढीले तहसनहस पारेको ती स्थानीय बताउँछन्। बाढीको बेगले प्लटिङतर्फ बिछ्याएको ह्युमपाइप फुटेको र बाटोसमेत भासिएको अर्का प्रत्यक्षदर्शीले उकालोलाई बताए।
यस्तो समस्या अन्यत्र पनि छः वडाअध्यक्ष
गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपानेले बाढीले क्षतिग्रस्त चतुरमानको घर प्लटिङ क्षेत्रको माथिल्लो भागमा पर्ने बताए। “प्लटिङ क्षेत्रभन्दा माथिको भागमा कतिपयले जग्गा किन्दा आफैले खोलाको भागमा ह्युमपाइप राखेर हिँड्ने बाटो निकाल्नुभएको रहेछ,” उनी भन्छन्, “त्यही ह्युमपाइपको मुखमा बाढीले ल्याएको रूखको जरा अड्किएर पानी भरियो र बस्तीतर्फ गयो।”
खोलाको बाढी ह्युमपाइपमा नअटाएर बस्ती क्षेत्रमा उर्लंदा आलेको घरमा क्षति पुगेको उनले स्वीकारे। यस्तो समस्या फन्टटारमा मात्र नभई अन्यत्र पनि भएको दाबी गरेका वडाध्यक्ष न्यौपानेले यसमा कन्टिनेन्टल र शुभकामना हाउजिङलाई जोेड्न चाहेनन्।
“म बिहान (आइतबार) जाँदा उहाँहरू (विस्थापित) सँग भेट भएन। यद्यपि, पाइप खोल्नको लागि मेसिन पठाइएको छ। अहिलेसम्म काम भइसकेको हुनुपर्ने हो,” उनले आइतबार दिउँसो फोनमा भने।
वडा नम्बर १० मा बाढीले बगाएर दुई जनाको मृत्यु भएको जानकारी उनले दिए। मृतकका परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिइने र खेतीबालीमा भएको क्षतिको राहत प्याकेजबारे विपत् व्यवस्थापनको बैठकबाट निर्णय हुने वडाध्यक्ष न्यौपानेले बताए।
आफ्नो वडामा पर्ने लेले, टीकाभैरव र चारघरेक्षेत्र बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएकाले राहत सहयोगको पहिलो प्राथमिकतामा ती क्षेत्रलाई राखिएको उनी बताउँछन्। टीकाभैरव मन्दिर र त्यस क्षेत्रमा भएको क्षति व्यवस्थापनका लागि महिनादिन लाग्नसक्ने उनको अनुमान छ।
सम्बन्धित सामग्री:
जग्गा व्यवसायीले छोपेको फन्टे खोला : स्थानीयको उठिबास, के गर्दैछ स्थानीय सरकार?
गोदावरीको फन्टेखोला प्लटिङ प्रकरण : छानबिनबाट पन्छिँदै नगरपालिका, गुनासो गर्ने स्थानीयलाई हप्कीदप्की
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
