बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो, २ वटामा क्षति

बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

फाइल: तस्वीर।

मुस्ताङ– उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ। 

नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा आएको बाढीले पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।  

बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बगाएको हो।

बाढीका कारण जोखिमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित न्याम्डो गाउँका दुई परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। 

सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा नौ जनाको टोली खटिएका छन्। 

सुरक्षाकर्मीले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराएका छन्। बाढीको बहाव कम भइसकेको भए पनि स्थानीयलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।