नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको जित

नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ५१ बलमा ६ चौका प्रहार गरे।

काठमाडौँ– स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी२० आई शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। यस जितसँगै नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

बिहीबार राति सम्पन्न खेलमा जितका लागि पाएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ५१ बलमा ६ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय पारी खेले।

त्यसैगरी, नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै ६ बलमा ७ रनका साथ आउट भए। दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे। भीमले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए। 

कप्तान रोहितकुमार पौडेल ७ बलमा ५ रन जोड्दै आउट भए। आरिफ शेखले २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन जोडे। उपकप्तान दीपेन्द्रसिंह ऐरी १२ बलमा १६ रनमा अविजित रहे । लोकेस बम ४ बलमा १२ रनमा अविजित रहे। 

नेदरल्यान्ड्सका रोलफ भान डर, मर्वे बेन फ्लेचर, आर्यन दत्त र जाच लायन काचेटले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो।

नेदरल्यान्ड्का लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको योगफल बनाए। त्यस्तै रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ रन बनाए भने आर्यान दत्त १७ रनमा अविजित रहे। 

नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।