इजरायल र इरानबीच विगत एक हप्तादेखि जारी द्वन्द्वले गर्दा त्यहाँ समस्यामा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने तयारी गरेको छ।
काठमाडाैँ– मध्यपूर्वका दुई देश इजरायल र इरानबीच विगत एक हप्तादेखि जारी द्वन्द्वले गर्दा त्यहाँ समस्यामा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने तयारी गरेको छ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा सो जानकारी गराएकी हुन्।
मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिइन्।
उनले भनिन्, “जीटूजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो। त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ। नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ।”
सो बैठकमा श्रममन्त्री शरद्सिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको र स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताए। उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिइ रोकिराखिएको पनि बताए।
यही जुन १३ मा इजरायल र इरानबीच युद्ध शुरू भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीलाई सम्बन्धित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो।
त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीलाई अनुरोध गरिएको थियो। ती मुलुकमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउनेलगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ।
साथै मन्त्रालयले अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरू गरेको र उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेका छन्। योक्रम जारी नै छ। परराष्ट्र मन्त्रालयले गत बुधबार नै दोस्रो पटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो।
यसै साता नेपालका लागि इजरायलका राजदूत स्मुलिक आरी बाससँग परराष्ट्रमन्त्री डा राणाले भेटगरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गरेकी थिइन्।
त्यसैगरी, इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारी, यस क्षेत्रमा काम गर्ने संघसंस्था र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ।
हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन्। त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
