बर्खास्तीपछि झन् व्यस्त कुलमान

राजनीतिमा आउने मन बनाइसकेका कुलमान तत्कालै कुनै पार्टी प्रवेश गरिहाल्ने मुडमा भने छैनन्। नयाँ पार्टी नै खोल्नेसम्मको विकल्प राखेर उनी ‘पर्ख र हेर’को रणनीतिमा छन्।

काठमाडौँ– १६ हजार जनाले जागिर खाने भारीभरकम विद्युत् प्राधिकरणको नेतृत्वबाट हटाइएपछि त केही समय फुर्सतमै हुनपर्थ्यो। कुलमान घिसिङचाहिँ बर्खास्तीमा परेको एक महिना झनै व्यस्त भए। चैत ११ गते बर्खास्त भएपछि केही दिन मुद्दामामिलामा लागेका उनलाई अहिले अर्को ‘इनिङ’ शुरू गर्नुअघिका भेटघाट/छलफलले व्यस्त बनाएको छ।

आमअपेक्षाअनुरूप उनी अब राजनीतिक इनिङ खेल्ने तयारीमा छन्। त्यसका लागि ‘वार्मअप’ गरिरहेका छन्, खेल्ने टिमको टुंगो लागिसकेको छैन। उनले माओवादी ‘ज्वाइन’ गर्ने धेरैले अनुमान मात्रै होइन ठोकुवा नै गर्छन्। विद्युत् प्राधिकरणको प्रमुख बनाउनेदेखि दोस्रो कार्यकाल सकिनैलाग्दा बर्खास्त भएपछि समेत साथ दिएको देखिँदा त्यस्तो लाग्नु अस्वभाविक पनि होइन। “अवस्था त्यस्तो पनि होइन,” बर्खास्त भएको महिना दिन पूरा भएको भोलिपल्ट (शुक्रबार) बौद्धमा भेटिँदा उनी भन्दै थिए, “के गर्ने, कसो गर्ने सरसल्लाहमै छु।”

पुग–नपुग आठ वर्ष प्राधिकरणको नेतृत्व गरिसकेपछि अब उनलाई कुनै सरकारी नियुक्ति खान मन छैन। “कि पढाउनतिर लाग्नपर्‍यो वा रिम्पोचेको शरणमा गुम्बातिर,” इन्जिनियरिङ र व्यवस्थापनका स्नातकोत्तर उनी भन्दै थिए, “नत्र  राजनीतिकै पोखरीमा हाम्फाल्नुपर्‍यो।”

राजनीतिमै आउने, अबको चुनावै लड्ने भनेर घोषणा गर्न हिच्किचाए पनि उनले राजनीतिमै आउने मन बनाइसकेको सुनिन्छ। तत्कालै कुनै पार्टी प्रवेश गरिहाल्ने मुडमा नदेखिने उनी ‘पर्ख र हेर’को रणनीतिमा छन्। शुभचिन्तकहरूले राजनीति नै गर्ने भए कुनै राजनीतिक दल नछिरिहाल्न सावधान गराइरहेका छन्। हतारमा निर्णय गरी फुर्सतमा पछुताउन नपरोस् भनेर उनी सचेत सुनिन्छन्। “अहिले हार्ड एन्ड फास्ट केही छैन, हेर्दै जाउँ न। पार्टीहरूबाट अफर आइरहेकै थियो, आइरहेकै छ,” उनी भन्छन्, “अहिले नै पार्टी प्रवेश गरिहाल्ने स्थिति आइसकेको छैन।”

यसै पनि सेलेब्रिटी कुलमानलाई सरकारले कार्यकाल सकिनु चार महिनाअघि मात्र बर्खास्त गरी ‘हट केट’ बनाइदिएको छ, पार्टी/नेताहरूले प्रस्ताव नगर्ने कुरै छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई दीपक बोहराको निधनपछि रिक्त रूपन्देही–३ मा घण्टी चुनाव चिन्हबाट उम्मेदवार बन्न प्रस्ताव गरिसकेको चर्चा छ। औपचारिकरूपमै यस्तो प्रस्ताव नआएको दाबी गर्ने उनी तिथि निर्धारण हुनै बाँकी रहेको उपचुनावमा प्रतिस्पर्धा गर्ने सम्भावनाचाहिँ नरहेको बताउँछन्। “म कहाँ उठ्छु अहिले,” उनले प्रष्ट गरे, “दलहरूले सोच्या होलान्, अहिल्यै त उठदिनँ।”

प्राधिकरणमै छँदा मेयर बालेन शाहलाई बारम्बार भेटेका उनले एक महिनायता पनि पटक–पटक भेटिसकेका छन्। के बालेनसँग मिलेर पार्टी नै खोल्ने हो त? यस्तो विषयमा मेयरसँग खासै कुराकानी भएको छैन भन्दै उनी टक्टकिए। स्थापित पार्टी ज्वाइन गर्नेदेखि नयाँ पार्टी खोल्नेसम्म सबै सम्भावना खुला राखेका छन्।

माओवादी अध्यक्ष प्रचण्डलाई भेटिसकेका उनी शुक्रबार पनि साँझ कांग्रेस महामन्त्री गगन थापासँग भेट्ने समय निर्धारण भएको सुनाइरहेका थिए। त्यति मात्रै होइन बर्खास्त गर्न दबाब दिएको भनिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पनि समय मागेका छन्। आफूलाई माया गर्ने देउवाको दिमाग पछिल्ला दिनमा एकाध व्यक्तिले भुटिदिएको उनलाई लाग्छ।

कुलमानको दोस्रो कार्यकाल देउवाकै कारण सम्भव भएको थियो। त्यसबाहेक, एकदमै थोरै मान्छेलाई थाहा भएको अर्को खुलासा पनि उनले गरे। २०७४ सालको स्थानीय चुनाव आउँदा कुलमान ‘लोडसेडिङ’ अन्त्य गरी देशकै सम्भवतः सबैभन्दा लोकप्रिय व्यक्ति थिए। देउवाले उनलाई कांग्रेसबाट काठमाडौँको मेयरमा प्रतिस्पर्धा गर्न भनेका थिए।

यस्तै, गत आमचुनाव (२०७९) मा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनबाट काठमाडौँ–३ मा चुनाव उठ्न प्रस्ताव आएको थियो। “शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाललाई गठबन्धनको समर्थनमा स्वतन्त्र चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने शर्त राखेपछि कुरा नमिलेको हो,” उनी सुनाउँछन्।

कुलमानकै अनुसार उनलाई चिलिमे जलविद्युत् आयोजना प्रमुखमा पठाउने तत्कालीन उर्जामन्त्री डा. प्रकाशशरण महत थिए, जहाँ ‘सेलेब्रिटी कुलमान’ बन्ने जग निर्माण भयो। एमालेकी राधा ज्ञवाली मन्त्री हुँदा चिलिमेबाट अकारण तानेर जिम्मेवारीविहीन बनाइँदा डा. रामशरण महत ‘राम्रो मान्छेलाई दण्डित गर्न हुँदैन’ भन्दै उनको पैरवीमा उत्रिएका थिए। भलै सरकारमा एमालेको नेतृत्वकर्ता वामदेव गौतमको अडानको कारण उनलाई चिलिमेमै फर्काउने महतको प्रयास कारगर भएन।

दाजु महतकै तारिफ सुनेर कुलमान प्रचण्डको नोटिसमा परेका थिए, जसले उनलाई वरिष्ठहरूलाई उछिन्दै प्राधिकरणको प्रमुख बनाउने बाटो बनाए। वरिष्ठहरूलाई उछिन्नपर्ने भएपछि उनी नियुक्तिअघि राजीनामा गरी प्राधिकरणको सेवाबाट अलग्गिएका थिए। नत्र मध्यपचासको उमेरमा रहेका उनको जागिर अझै बाँकी रहन्थ्यो।

प्राधिकरणकै इतिहासमा पहिलोचोटि दुई कार्यकाल पूरा गरी ‘ग्रेसफुल एक्जिट’ चाहेका थिए उनले। तर त्यसो हुनसकेन। चार वर्षीय दोस्रो  कार्यकालको चार महिना मात्र बाँकी रहँदा उनलाई बर्खास्त गर्ने निर्णय सरकारले चैत ११ गते गरेको थियो। दुई दीपक (खड्का र भट्ट) को जोडबलमा बाहिरिन परेको उनी ठान्छन्। र यसको अन्तर्यमा चाहिँ बहुचर्चित डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता काण्ड छ। उनलाई बक्यौतावाला केही उद्योगीहरूले बताएअनुसार उनीहरू बक्यौता तिर्न तयार भइसकेका थिए। त्यसैबखत बक्यौता मिनाहा गराउने जिम्मा लिएर दृश्यमा भट्ट प्रकट भए।

“नियमन गर्ने निकायदेखि संसदीय समिति र अदालतसम्मले बक्यौता असुल्न भन्नुका साथै क्याबिनेटले दुइचोटी निर्णय गरेको विषयमा मन्त्रालयले छानबिन गर्न समिति भनेपछि चुनौति दिएकै हुँ,” उनी भन्छन्, “आखिर, अदालतले पनि अन्तरिम आदेश दिएर बक्यौता असुल्ने बाटो नै सफा गर्दियो।”
कुलमानका अनुसार आफू बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने चिठ्ठी तयार पारिरहेकै बेला मन्त्रिपरिषद्को निर्णय आएको थियो। “चिठ्ठी बिहान तयार पार्दै थिएँ, बेलका फालि पो हाले,” उनी भन्छन्।