काठमाडौँ– सात वर्षअघि काठमाडौँ स्कुल अफ ल (केएसएल) मा स्नातक पहिलो वर्षमा अध्ययन शुरू गरेका विद्यार्थीका लागि काभ्रेको भकुन्डेबेसीस्थित स्कुलको आवासीय विद्यालयमा १० दिने ‘क्याम्प’ चलिरहेको थियो। त्यो क्याम्पमा सहभागी एक पूर्वविद्यार्थीका अनुसार उनले ‘ब्रेक टाइम’मा लामो समय केएसएलका कार्यकारी निर्देशक डा. युवराज संग्रौलाको टाउको मसाज गर्नु पर्यो।
“विद्यार्थीको हुलमा तँ आइज भनेर बोलाउनुभयो र मेरो टाउको मजास गर् भन्नुभयो। टाउकोबाट नराम्रो गन्ध आइरहेको थियो। म असाध्यै डराएकी थिएँ, कपालभित्र हात लगेर अलि बेस्सरी थिच् भन्नुभयो,” केही दिनअघि उकालोको सम्पर्कमा आएकी उनले भनिन्, “त्यसपछि लामो समय मसाज गरिरहेँ। हात गलेका थिए, तर सरले अब भयो भन्नुभएन। टाउकोबाट हात झिक्न डर लागेको थियो। पछि धेरै गाह्रो भएपछि झिकेँ।”
उनले मसाज गर्दागर्दै डा. संग्रौलाले आफ्ना दुवै हात समातेर ‘तेरा हात त कस्ता मुलायम रहेछन्, बिहे गरेपछि कसरी भाँडा माझेर खान्छेस्’ भनेको सुनाइन्। “म मात्र होइन, त्यहाँ पढ्ने अरू साथी (महिला) लाई पनि उहाँले टाउको मसाज गर्न लगाइरहनुहुन्थ्यो। अलि सोझो देखिने खासगरी पहिलो वर्षका छात्रालाई उहाँ छानीछानी आफूनजिक बोलाउनुहुन्थ्यो र टाउको मसाज गर्न भन्नुहुन्थ्यो। अहिले सम्झँदा उहाँप्रति असाध्यै घृणा लागेर आउँछ। त्यसबेला सरले भनेको नमानेको भए हुने जस्तो लाग्छ।”
केएसएलबाट सन् २०२१ मा स्नातक गरेकी अर्की विद्यार्थीसँग पनि यसैगरी टाउको मसाज गरिदिनुपरेको नमिठो अनुभव छ। “क्याम्प चलिरहेका बेला टाउको मसाज गर्न लगाएपछि सरले मेरा दुवै हात समात्नुभयो, चुम्नुभयो र भन्नुभयो– हो यसैगरी गर्ने हो। तर म बोल्न सकिनँ। डरले काँपे। आमाबुबालाई पनि भन्न सकिनँ,” उनले भनिन्, “सरसँग पहिलो वर्षमै यस्तो ब्याड एक्सपिरियन्स भएपछि मलाई मानसिक तनाव भयो। कलेज छाड्न मन थियो, तर बुबाआमालाई सम्झेर सकिनँ।”
उनले आफूमा संग्रौलाविरुद्ध बोल्ने आँट नै नभएको बताइन्। “हाम्रो सातो जानेगरी थर्काउनुहुन्थ्यो,” उनले भनिन्, “उहाँले अरू (महिला) विद्यार्थीलाई पनि काँध, हात र ढाडमा मसाज गर्न लगाएको देख्थेँ। अनि मैले मात्र बोलेर के हुन्छ भन्ने लाग्यो। सबै यस्तै अवस्थाबाट गुज्रिएका होलान् भन्ने लाग्थ्यो।”

केएसएलबाटै चार वर्षअघि, सन् २०२१ मा स्नातक सकेका विद्यार्थी हुन् सुलभजंग रायमाझी। उनी हाल नेपाल ल क्याम्पसमा अध्ययनरत छन्। केएसएलमा आफ्ना (केटी) साथीहरूले संग्रौलाबाट भोगेका यस्ता व्यवहारको फेहरिस्त उनलाई राम्रोसँग सम्झना छ। रायमाझीका अनुसार सन् २०१६ मा उनी स्नातक पहिलो वर्ष अध्ययन गर्दा आवासीय विद्यालयमा १० दिने क्याम्प चलेको थियो। त्यसबेला आफ्ना तीन जना (केटी) साथीलाई संग्रौलाले टाउको मसाज गराउँदै गरेको उनले देखे।
“त्यो देखेर मलाई एकदमै असहज महसुस भयो। एकजना साथीलाई त किन त्यस्तो गरेको भनेर पनि सोधेँ,” उकालोसँगको कुराकानीमा उनले भने, “साथीले मैले रहरले होइन बाध्यताले गर्नुपरेको हो भनिन्। त्यसो गर्दा उनलाई एकदमै नराम्रो लागेको रहेछ। असाध्यै डराएकी थिइन्।” संग्रौलाले भनेको मान्नुपर्ने नियम जस्तै रहेको र आफूले पनि त्यसबेला विरोध गर्न नसकेको उनी बताउँछन्।
रायमाझीकै ब्याचमेट रहेकी केएसएलकी पूर्वविद्यार्थी आश्मा आचार्य पनि यस्ता घटनाहरूको प्रत्यक्षदर्शी हुन्। “उहाँले ग्रुपमा रहेका (महिला) साथीहरूलाई बोलाएर कहिले टाउको कहिले हात मसाज गर्न लगाएको म देखिरहन्थेँ। शिक्षकले यसरी विद्यार्थीलाई मसाज गर्न लगाएको पहिले कहिले देखेकी थिइनँ,” उनी भन्छिन्, “डरले होला, कसैले त्यसको विरोध गर्न सकेनन्। मैले पनि आफू जोगिन प्रयास गरेँ।”
केएसएल ‘हल्लाउने’ त्यो सोसल मिडिया पोस्ट
गत फागुन २४ गते (मार्च ८ मा) इन्स्टाग्राममा शेयर भएको एउटा पोस्टले केएसएल र त्यसका प्रमुख (कार्यकारी निर्देशक) डा. संग्रौलामाथि तेर्सिएका गम्भीर प्रश्न र लागेका आरोप पहिलोपटक सार्वजनिक जानकारीमा ल्याएको थियो। त्यो पोस्ट केएसएलमा हालै स्नातक तह अन्तिम वर्षको परीक्षा दिएकी सन्ध्या गौतमको थियो, जसमा उनले पूर्व महान्याधिवक्तासमेत रहेका संग्रौलामाथि दुर्व्यवहारका आरोप लगाउँदै त्यसबारे कलेज प्रशासनमा निवेदन दिएको, तर महिनौँसम्म पनि कुनै सुनुवाइ नभएको उल्लेख गरेकी थिइन्। डा. संग्रौलाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारको वकालत गर्ने विद्यार्थीलाई कलेजबाट निकाल्ने धम्की दिनेगरेको भन्दै उनले ‘विद्यार्थीलाई पिठ्यु मसाज गर्न बाध्य पारेको’ उल्लेख गरेकी थिइन्।
“संग्रौलाले विद्यार्थीलाई अनावश्यक यौन टिप्पणी गर्ने, असभ्य शब्दहरूको प्रयोग गर्ने, महिलाको शरीरबारे अपमानजनक टिप्पणी गर्ने र विद्यार्थीका भविष्यका बच्चाहरूलाई पशुजस्तै तुलना गर्छन्,” उनले लेखेकी थिइन्, “तपाईंले मलाई भन्नु भयो– पुरुषहरूसँग नसुत्नू, केवल बिहे गर्नू र सम्बन्धबाट टाढा रहनू, किनकि केटाले केवल यौन चाहन्छन्। तपाईंलाई यस्तो टिप्पणी गर्ने अधिकार कसले दियो?”
उनको यही पोस्टपछि सामाजिक सञ्जालमा अरूले पनि परिचय नखुलाईकन संग्रौलाबाट दुर्व्यवहार भोग्नुपरेको लेख्न थाले। यो क्रम यसरी बढ्दै गयो कि, दबाबस्वरूप तीन दिनपछि केएसएलले विज्ञप्ति जारी गर्दै सन्ध्याले निवेदन दिएको स्वीकार गर्यो, तर वार्षिक परीक्षा नजिकै आएकाले छानबिन भने तत्कालका लागि रोकिएको जनायो।

सन्ध्याले त्यसपछि ‘साथीहरूका भोगाइ’ भन्दै अरू पोस्ट गर्न थालिन्। केएसएलका पूर्वविद्यार्थी पनि समूह खडा गरेर सन्ध्याले उठाएका विषयको समर्थनमा उभिए। अनि केएसएलले डा. संग्रौलाकै उपस्थितिमा पत्रकार सम्मेलन गर्यो, जहाँ उनले ‘आफ्नो ३७ वर्षको निष्ठामा दाग लगाउने षड्यन्त्र भएको’ दाबी गरे। उनले ‘सन्ध्याको अवस्था ठीक नभएकाले आफूमाथि उनले लगाएका आरोपमा पनि कुनै सत्यता नभएको’ जिकिर गरे।
सन्ध्याले डा. संग्रौलामाथि यस्तो गम्भीर आरोप किन लगाइन्? सन्ध्याका अनुसार यसको शुरूआत गत नोभेम्बरमा भएको थियो। त्यसबेला युट्युबमा पोस्ट भएको ‘यौन दुर्व्यवहारको घटनामा किन कलेजहरू मौन?’ शीर्षकको एउटा भिडियो उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी थिइन्। त्यो घटनापछि अभिभावकलाई समेत बोलाएर कलेजले आफूलाई लामै केरकार गरेको उनको भनाइ छ।
उनले भनिन्, “शुरूमा म कलेजमा नियमित उपस्थित नभएको कुरा गरियो, अनि हामीलाई नसोधी सोसल मिडियामा जे पायो त्यही किन लेखेको भनेर केरकार गरियो। त्यसपछि मैले के तपाईंहरू आफ्ना विद्यार्थीमाथि अनैतिक व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुहुन्छ भनेर सोधेँ, उहाँहरूले छानबिन गरेर दोषी देखिए कारबाही गर्छौं भन्नुभयो।” त्यसपछि आफूले निवेदन दिएको सन्ध्याको दाबी छ।
सन्ध्या पछिल्लो दुई वर्षयता एन्जाइटी, डिप्रेसन र एडीएचडी (एटेन्सन डिफिसिट हाइपर डिसअडर)सँग जुधिरहेकी रहिछन्। उनले सोसल मिडियामा पोस्टमा लगाएको आरोपको प्रतिवाद गर्ने क्रममा डा. संग्रौलाले केएसएलको पत्रकार सम्मेलनमै उनको स्वास्थ्य अवस्थालाई अगाडि सारेका थिए।
के मानसिक स्वास्थ्य समस्या भएकै कारण मात्र सन्ध्याले यस्तो आरोप लगाएकी थिइन् त? यही प्रश्नको उत्तर खोज्नेक्रममा केएसएलमा पढिरहेका र त्यहाँको पढाइ सकिसकेकाहरूलाई सम्पर्क गर्दा अरू घटना उजागर भएका हुन्।
जबकि, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मेन्टल हेल्थ एन्ड एक्सन प्लान (२०१३–२०२०) मा मानसिक समस्या रहेका व्यक्तिहरूको मानव अधिकार उल्लंघन गर्ने अनुमति दिनुलाई सामाजिक र कानूनी दृष्टिकोणबाट अस्वीकार्य भनिएको छ। संयुक्त राष्ट्रसंघको ह्युमन राइट्स एन्ड मेन्टल हेल्थ रिपोर्ट (२०११) मा भनिएको छ, “मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले शारीरिक र मानसिक सुरक्षा सुनिश्चित गर्ने अधिकार राख्छन् र उनीहरूको यौन दुर्व्यवहारको आरोपलाई नकार्नु भनेको उनीहरूको मानवअधिकार उल्लंघन गर्नु हो।”
तर केएसएलले सन्ध्याको स्वास्थ्य अवस्थालाई कारण बनाएर उनको निवेदनमाथि छानबिन अघि नबढाएको देखिन्छ। “कुनै संस्थामा कार्यरत व्यक्तिमाथि यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप लागेपछि तत्कालै छानबिन गर्नु सम्बन्धित संस्थाको जिम्मेवारी हो। त्यसमाथि कानून पढाउने संस्थाले कुनै अलमल नगरी तत्कालै छानबिन गर्नुपर्थ्यो,” अधिवक्ता दुर्गा कार्की भन्छिन्, “तर विभिन्न बहानामा छानबिनमा ढिलाइ गरेर कलेजले यौन दुर्व्यवहारमा संलग्नलाई बचाउने प्रयास गरेको देखिन्छ।”
केएसएलमा भित्रभित्रै गुम्सिइरहेको यो उकुसमुकुस रोकिने सम्भावना थिएन। पूर्वविद्यार्थी बोल्न थालेपछि र सार्वजनिक रूपमा पनि प्रश्न उठेपछि कलेज यसबारे छानबिन समिति गठन गर्न बाध्य भयो। पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति त बन्यो, तर समिति बन्दाबन्दै सदस्यको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्यो।
संग्रौलामाथि दुर्व्यवहारको आरोप लागेलगत्तै फेसबुकमा उनको बचाउमा उत्रिएकी अधिवक्ता सीमा धामीलाई समितिको सदस्य बनाइएको थियो। धामीले सन्ध्याको इन्स्टाग्राम पोस्ट आउनासाथ संग्रौलाको पक्षमा फेसबुक स्टेटस लेखेकी थिइन्, तर छानबिन समिति सदस्य बन्नासाथ स्टेटस हटाएकी थिइन्।
जुन संस्थाका प्रमुख र शिक्षकमाथि यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप लागेको छ, त्यही संस्थाले समिति बनाउँदा निष्पक्ष छानबिन हुनेमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली शंका व्यक्त गर्छिन्। “यस्तो संवेदनशील विषयमा निष्पक्ष र तथ्यपरक छानबिनका लागि सम्बन्धित स्वतन्त्र निकायलाई जिम्मा दिइनुपर्थ्यो। राष्ट्रिय महिला आयोग, मानव अधिकार आयोग, बार एसोसिएसन जस्ता संस्थाहरूलाई छानबिनको जिम्मेवारी दिन सकिन्थ्यो,” पराजुली भन्छिन्।
तर त्यही समिति पनि ‘लागेका आरोपमाथि छानबिन गर्ने क्षेत्राधिकार नभएको’ निष्कर्षसहित यो प्रक्रियाबाट अलग्गिएको छ। समितिले तयार पार्ने प्रतिवेदन स्वीकार नगर्ने चेतावनी सरोकारवाला र केएसएलकै पूर्वविद्यार्थीले दिएपछि समितिले ‘सेफल्यान्डिङ’ गरेको चर्चा भइरहेको छ।

दुर्व्यवहार र अपमानजनक टिप्पणी
पछिल्लो एक सातामा उकालोको सम्पर्कमा आएका केएसएलका पूर्वविद्यार्थीले कुनै न कुनै रूपमा डा. संग्रौलाबाट दुर्व्यवहार र अपमानजनक टिप्पणी भोगेको बताएका छन्। उनीहरूमध्ये धेरैले आफ्नो असुरक्षा हुने भन्दै परिचय खोल्न चाहेनन्।
जस्तो, त्यहाँबाट स्नात्तक उत्तीर्ण गरी देशबाहिरको एक विश्वविद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीले पहिलो वर्षमा अध्ययन गर्दा कक्षामा आफूभन्दा अघिल्लो बेञ्चमा बसेका साथीहरूको कपाल सुँघेर संग्रौलाले मुसारेको बताइन्। “साथीहरूले निकै असहज महसुस गरेको देखेर पछि मैले उनीहरूलाई सोधेँ। उनीहरूले डरले गर्दा चुपचाप लागेको बताए। उनीहरूले नै विरोध गर्न नसकेपछि म पनि चुपचाप बसेँ,” उनले भनिन्।
केही वर्षअघि स्नातक उतीर्ण अर्की एक विद्यार्थीले आफूलाई साथीहरूकै अगाडि डा. संग्रौलाले पटक–पटक अंगालो हाल्ने गरेको बताइन्। “एउटा हातले अंगालो हाल्नु हुन्थ्यो, अनि टाइट गरेर आफूसँगै टाँसेर राख्नु हुन्थ्यो र अरूसँग गफिनु हुन्थ्यो। त्यसो गर्दा छाती दुख्थ्यो, फुत्किन मुस्किल पर्थ्यो,” उनले भनिन्, “उहाँको विरोध गर्न डर लाग्थ्यो। पहिलेदेखि नै क्लासमा उहाँ सबैको सातो जानेगरी हप्काउनुहुन्थ्यो। कोही उहाँको विरोध गर्ने आँट गर्दैन्थे, मैले पनि गर्न सकिनँ।”
स्नातक उतीर्ण भएपछि हाल काठमाडौँकै एक क्याम्पसमा उनी स्नात्तकोत्तर तहमा अध्ययन गर्दैछिन् र एक सरकारी निकायमा पनि कार्यरत छिन्।
नेपालको संविधानको धारा ३८ ले महिलालााई विशेष सुरक्षा प्रदान गरेको छ र यौनजन्य उत्पीडन तथा दुर्व्यवहारविरुद्ध कानूनी सहायता लिने अनुमति दिएको छ। मुलुकी फौजदारी संहिताले पनि यौनजन्य दुर्व्यवहार गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिबानाको व्यवस्था गरेको छ। तर आफै कानून पढिरहेका विद्यार्थीले आफूलाई कानून पढाउने गुरुविरुद्ध उजुरी गर्ने आँट नै गर्न नसकेको बताए।

केही वर्षअघि केएसएलले एउटा ‘एजुकेसन टुर’ आयोजना गरेको थियो। त्यो टुरमा आफूले कहिल्यै भुल्न नसक्ने घटना भोगेको अर्की पूर्वविद्यार्थीले बताइन्। “सर अघिअघि, हामी पछिपछि हिँड्दै थियौँ। एक साथी सरभन्दा अगाडि हिँड्न खोज्दै थिइन्। सरले एक्कासि उहाँलाई ए सुत्केरी आइमाइ भन्नुभयो,” उनले भनिन्, “केही समयअघि आमा बनेकी ती साथीको तौल केही बढेको थियो। सरबाट आफ्नो शरीरको अपमान भएपछि उनले असाध्यै नराम्रो मानिन्। पछाडि हामीसँग आएर आँशु झारिन्।”
केएसएलबाटै स्नातक उत्तीर्ण अर्की पूर्वविद्यार्थीले सात वर्षअघि पहिलो वर्ष अध्ययनरत हुँदा आफूलाई अपमानित गरेको उल्लेख गर्दै सुनाइन्, “सरले मलाई किन छोटो कपडा लगाएको, बलात्कारमा पर्नु छ? भनेर हप्काउनुभयो। बलात्कार अपराध हो। कुनै महिलाको पोशाक, आचार–व्यवहारसँग त यसको सम्बन्ध हुन्न नि।”
उनले आफ्नो साथीले पनि छोटो कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेपछि ती साथीलाई गाली गरेर संग्रौलाले फोटो हटाउन लगाएको बताइन्। “यो कलेजका कोही विद्यार्थी सौन्दर्य प्रतियोगितामा गएको उहाँलाई पटक्कै मन पर्दैन्थ्यो। एक जना साथीले सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन्, कक्षामा सरले उनलाई अब त्यो यहाँ आउँदा हिल लगाएर नाङ्गै हिँड्ने त होली भन्नुभयो,” उनले भनिन्, “तेस्रो वर्षको पढाइ हुँदैगर्दा अर्को एक साथीले बिहे गरिन्। एक दिन सरले कक्षामै बिहे गर्नेलाई पढाएर के काम, अर्को वर्ष यही कोठामा कोक्रो झुण्ड्याउनुपर्ने होला भन्नुभयो।”
केएसएलकै अर्का (पुरुष) पूर्वविद्यार्थीले डा. संग्रौलाले कक्षाकोठामै महिलाको शरीरबारे अपमानजनक टिप्पणी गरेको आफूले देखेको बताए। “मनमा लागेका सबै कुरा उहाँ विद्यार्थीमाझ साझा गरिदिनुहुन्थ्यो। त्यसले सिधै मौखिक दुर्व्यवहार र मानसिक यातना दिने काम हुन्थ्यो। कसैले यसको विरोध गरेको मैले देखिनँ,” उनले भने।
केएसलमा स्नातक सकेर उनी बेलायतमा अध्ययनरत छन्।
केएसएलका पूर्वविद्यार्थी सुलभजंग रायमाझीले डा. संग्रौला लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीपीटीक्यूआई) समुदायका लागि ‘असहिष्णु रहेको’ टिप्पणी गरे। “एकपल्ट आवासीय विद्यालय भकुण्डेबेसीमा पढाइरहँदा उहाँले एलजीबीटीक्यूआई समुदायको अधिकार हुन्छ या हुन्न भनेर सोध्नुभएको थियो, हामीले यो समुदायको पनि मानवअधिकार हुन्छ भनेपछि उहाँले ‘अमेरिकी साहित्य पढेर उनीहरूको अधिकार हुन्छ भन्ने?’ भन्दै हप्काउनुभयो। यो समुदाय मानसिक रोगी हो भन्नुभयो। हामीले त्यसको प्रतिवाद गर्दा तिमीहरूले गोरे केटाहरूसँग ‘एनल सेक्स’ गर्न खोजेको हो भने म मिलाइदिन्छु भन्नुभयो,” रायमाझीले भने, “त्यसपछि सरले पुरूष–पुरूषबीच सेक्स हुनु भनेको त पुरूषले भैँसीसँग सेक्स गर्नु जस्तै हो भन्नुभयो। सरको कुरामा हामी असहमत भएपछि उहाँ क्लास ‘डिसमिस’ भन्दै निस्कनुभयो।”
त्यसलगत्तै कलेजका एक सिनियर कर्मचारी आएर ‘तिमीहरूले युवराज सरलाई चिनेका छौ? उहाँ नेपालको पूर्वमहान्यायाधिवक्ता हो, सरसँग विवाद गर्ने?’ भन्दै हप्काएको, सबै विद्यार्थीलाई माफी माग्न लगाइएको सुलभ बताउँछन्। “यो घटनापछि मैले गलत कलेज छानेछु भन्ने लाग्यो, कलेज छाड्ने सोच आयो, तर मेरो निर्णयले बुबालाई पर्ने असर सम्झेर चुप लागेँ,” उनले भने।
सुलभसँग अर्को अनुभव पनि छ। “एक दिन कलेज परिसरमा हिँडिरहँदा सरले हामीलाई यो कलेजमा ६०–७० प्रतिशत केटी र ३०–४० प्रतिशत केटा छन्, यसलाई उल्ट्याउँदा कस्तो होला भनेर सोध्नुभयो। मैले फिमेल स्टुडेन्ट पनि हामी जस्तै ट्यालेन्ट छन् नि सर भनेँ। उहाँले केटीहरूले अति दुःख दिनथालेका छन्, ब्वाइफ्रेन्ड बनाउँदै हिँड्छन्, पढाइमा ध्यान छैन भन्नुभयो,” सुलभ भन्छन्, “उहाँको यस्तो भनाइले हामीसँगै हिँडिरहेका केटी साथीहरूको आत्मसम्मानमा गहिरो चोट पुग्यो। उहाँ जातीय रूपमा पनि यस्तै विभेदपूर्ण टिप्पणी गर्नुहुन्थ्यो।”
केएसएलकै पूर्वविद्यार्थी आश्मा आचार्यले पनि यस्तै अनुभव सुनाइन्। “हाम्रो पहिलो वर्षको क्याम्पमा भकुन्डेबेसीमा पढाउँदा सरले एलजीबीटीक्यूआई समुदायको अधिकारको समर्थन गर्ने को–को छ, हात उठाऊ भन्नुभयो। म पहिलो बेञ्चमै थिएँ, हात उठाएँ,” उनले भनिन्, “त्यसपछि सरले तैँले ‘सेम सेक्स’लाई किन समर्थन गरिस् मिस आचार्य भनेर हप्काउनुभयो। मैले यो मानवअधिकारको कुरा हो भनेपछि प्रकृतिमै नहुने कुरा हो, सेम सेक्स रिलेसन भनेको भैँसीसँग गएर सेक्स गर्नुजस्तै हो, के म भैँसीसँग गएर सेक्स गरौँ भन्दै तीनपटक सोध्नु भयो।”
त्यसबेला आफूले असाध्यै अपमानित महसुस गरेको आश्मा बताउँछिन्। “त्यसपछि सर पुरूष साथीहरूको नजिक गएर ‘तँ एनल सेक्स गर्छस्?’ भनेर सोध्नुभयो। उहाँ हामीलाई अनावश्यक प्रश्न गरेर एलजीबीटीक्यू प्लस समुदायमा पर्नु लाजको विषय हो भन्ने वातावरण बनाउनुहुन्थ्यो। एकजना साथीलाई त तेरा बाउआमा झुन्डिए पनि अब म तलाई पढाउँदिन भन्दै कक्षा छोडेर जानुभयो,” उनले भनिन्, “त्यसपछि हामी सबै सरसँग माफी माग्न बाध्य भयौँ। डर यस्तो थियो कि उहाँसँग बाझिने केही कुरा गरेर रेस्ट्रिकेट भइएला कि भन्ने लाग्थ्यो।”

केएसएलमा सन् २०१२ मा स्नातकोत्तर, पहिलो वर्ष मात्रै अध्ययन गरेकी आस्था दाहालले अर्को अनुभव सुनाइन्। “एकदिन सरले पढाउँदापढाउँदै तँ मेरो बुढी भएको भए के गर्थिस् भन्ने उदाहरण दिएको अन्डरग्राजुयटका विद्यार्थीले गुनासो गर्ने गरेका थिए। तर उनीहरूले आफूहरू केही बोल्नै नसकेको बताउँथे,” उनले भनिन्, “त्यति मात्रै होइन, कहिलेकाहीँ त तँ र म नांगै सुत्यो भने के हुन्छ भनेर सोध्ने गरेको पनि ती विद्यार्थीले सुनाएका थिए। अहिले म आफै कानून पढाउँछु, शिक्षकले विद्यार्थीलाई यस्तो अपमानजनक उदाहरण दिन मिल्छ त? उहाँको बोली र व्यवहारले कलिला विद्यार्थीमा कति नकारात्मक असर पर्यो भन्ने उहाँले कहिल्यै सोच्नुभएन।”
जति नै अपमानजनक व्यवहार भोगे पनि डा. संग्रौलाविरुद्ध उजुरी गर्न भने आँट नै नआएको आस्था बताउँछिन्। “सर शक्तिशाली मान्छे हुनुहुन्थ्यो, यो कलेज उहाँकै हो भनिन्थ्यो,” उनले भनिन्, “सरपछिको पदमा पनि उहाँकै श्रीमती हुनुहुन्थ्यो।”
केएसलबाटै स्नातक गरेका र हाल एक सरकारको कानूनी क्षेत्रमा कार्यरत एक पूर्वविद्यार्थीले संग्रौलाले महिला विद्यार्थीलाई टाउको मसाज गर्न लगाएको देखेपछि आफूले विरोध गरेको बताए। “सरले विद्यार्थीलाई जुन किसिमले आफ्नो टाउको मसाज गर्न लगाउनुहुन्थ्यो, त्यो सामान्य घटना थिएन। त्यो त विद्यार्थीमाथि गरिएको शोषण थियो। त्यसको विरोध गर्दा हामीलाई उहाँले अनेक किसिमका दुःख दिनुभयो,” उनले भने।
विद्यार्थीले लगाएका यस्ता आरोपबारे बुझ्न डा. संग्रौलालाई सम्पर्क गर्दा उनले प्रतिक्रिया नदिने बताए। “म यस विषयमा केही पनि कुरा गर्दिनँ। अहिले मिडिया ट्रायल गरिएको छ, प्रेससँग बोल्दिनँ। प्रमाणित गरोस् राज्यले,” उनले भने, “म छुट्टीमा बसिसकेको छु, यसबारे कलेजका पदाधिकारीहरूले बोल्ने हो। जे बोल्नुपर्ने हो, उति नै बेला बोलिसकेको छु। अब भन्नु केही छैन। अब अनुसन्धान होला। कानून छ। अदालत छ। गठन भएको समितिले हेर्ला। मेरोबारे केही पनि नलेख्नू होला।”