‘क्लाइमेक्स’ बिनाको हाम्रो राजनीतिक सर्कस

चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी छ, दुर्भाग्यवश यो मजाक हामीमाथि नै भइरहेको छ।

नेपाललाई प्रायः विदेशीहरू संसारकै अग्लो शिखर सगरमाथादेखि योसँग भएका सुन्दर हिमशृंखलाहरूका कारण चिन्ने गर्छन्। त्यसैले त बर्सेनि लाखौँ बाह्य पर्यटक यिनै सुन्दर हिमशृंखला अवलोकन गर्न, कतिपय त हिमाल आरोहण गर्नकै लागि ठूलो रकम खर्च गरेर नेपाल आउँछन्।

पछिल्लो समय विदेशीलाई आकर्षित गर्ने अर्को उपाय यहाँको खान्की पनि हो। जस्तो, नेपालको स्वादिष्ट म:म अहिले संसारभर फैलिँदो छ। यहाँ भने हामी नेपाल चिनाउने अलि फरक कुराको चर्चा गरौँ। त्यो के भने नेपाल विश्वकै सबैभन्दा मनोरञ्जनात्मक राजनीतिक रंगमञ्चको घर पनि हो। अझ भनौँ, हाम्रो राजनीति दर्शकलाई भरपुर मनोरञ्जन दिने सर्कस जस्तै छ।

सोचौँ त, यदि राजनीति सर्कस भएको भए नेपाल त्यसलाई अवलोकन गर्न चाहनेहरूका लागि सबैभन्दा ठूलो मञ्च पक्कै हुने थियो। यस्तो मञ्च जहाँ नेताहरू जोकर झैँ बनेर हिँड्छन्। गठबन्धन नामको जादु देखाउन पल्केका जादुगरहरू हात मिलाएर खेल्छन्। विचारधारा पेल्न सिकेका कलाकारहरू ओलम्पिक स्तरको कलाबाजी देखाउँछन्।

विशुद्ध निहित स्वार्थको लहडमा दौडिने प्रधानमन्त्रीको ‘म्युजिकल चेयर’को खेलदेखि संविधानलाई आफूअनुकूल अर्थ्याउने शैली र नेताहरूले बोलेको बोली नेपाली राजनीतिको एक यस्तो उपहार हो, जसले हेर्ने दर्शकलाई कहिल्यै निराश पार्दैन। यदि तपाईंहरूलाई जीवन नीरस लागिरहेको छ भने समाचार सुन्नुहोस्। तपाईं तुरुन्तै एकदमै तरोताजा अर्थात् 'फ्रेस' महसुस गर्नुहुनेछ। नेताहरूका बेठेगानका योजना र आश्वासनका सूचना सम्प्रेषण भइराखेका जो छन्।

नेपालको लोकप्रिय खेल अब क्रिकेट वा फुटबल होइन, नेपालको असली राष्ट्रिय खेल भनेको त राजनीतिको खेल पो भएको छ जहाँ सबै रमाइराखेका छन्। आँखा झिमिक्क मात्र पार्नुभयो भने पुराना गएर नयाँ प्रधानमन्त्री सत्तामा आइसकेका हुन्छन्। सम्झनुस् त, गणतन्त्र आएदेखि तपाईंले कति पटक फेसबुक प्रोफाइलको तस्वीर फेर्नुभयो? त्यो भन्दा धेरै त नेपालले प्रधानमन्त्री फेरिसकेको छ। यहाँ राजनीतिक स्थिरता भन्ने शब्द खुबै चलेको छ। नचलोस् पनि किन, त्यो केवल नेताहरूको भाषणमा मात्र जो छ।

एउटा पार्टी विकास र अग्रगमनको बाजा बजाउँदै सिंहदरबार छिर्छ, तर फलामे ढोका थुनी, पुराना कार्यक्रम डिलिट गरी नयाँ टोलीले आफूअनुसारको नयाँ योजना बनाउन थालिहाल्छ। विपक्षीहरू चिच्याउँदै सरकारलाई निकम्माको नारा लगाउन थाल्छन् र बिर्सन्छन् कि केही महिनाअघि उनीहरूले पनि  सत्तामा बसेर त्यही गरेका थिए।

यस्तो जे सुकै भइरहोस्, जनता भने असहाय दर्शक जस्तै हेरिरहन्छन्। अझ भनौँ उनीहरू त्यसलाई हेरिरहन बाध्य छन्। मानौँ, उनीहरू कुस्तीको खेल हेरिरहेका छन्, जहाँ खेलाडीहरू नियमबिना जबरजस्ती खेल्न खोजिरहेका छन्। सबैभन्दा रमाइलो क्षण प्रधानमन्त्रीले आफू हटेको खबर अनलाइन समाचार पढेर थाहा पाउँछन्। ठीक त्यस्तै, जसरी कोही कर्मचारीले इमेलबाट आफू जागिरबाट निकालिएको थाहा पाएका हुन्छन्।

नेपाली नेता गठबन्धन बनाउने कलामा यति माहिर छन् कि पोखराको मौसमभन्दा पनि छिटो उनीहरूको मित्रता वा शत्रुता परिवर्तन हुन्छ। सेक्सपियर बाँचिरहेका भए उनले नेपालको राजनीतिक नाटकबारे लेख्न न त्रासदी छनोट गर्थे न त व्यंग्य। हिजो एक अर्कालाई भ्रष्ट, अयोग्य, लोकतन्त्रका लागि खतरा भनेर गाली गरिरहेका नेता लोभको गठबन्धनका नाममा  हात मिलाउँदै मुस्कुराइरहेका हुन्छन् र मिलीजुली सरकार गठन गरिरहेका हुन्छन्। उनीहरूको भनाई हुन्छ– ‘हाम्रो मिलन राष्ट्रिय एकताको लागि।’ तर हामीले देखिरहेका हुन्छौँ, त्यो मिलन त उनीहरू आफ्नो र उनीहरूको परिवारका लागि जो हुन्छ।

राजनीतिक सर्कसमा विचारधाराको अर्थ छैन। मनोरञ्जनमा विचारधारा किन पो चाहियो र? कम्युनिस्टहरू राजावादीसँग मिल्छन्, समाजवादीहरू पुँजीवादीसँग। हिजोका कट्टर दुस्मनहरू आजका जिग्री भएका छन्, आफ्नो स्वार्थमा गडबड महसुस नभएसम्म। अनि चित्त नबुझेसम्म त्यही चक्र दोहोरिन्छ। यदि नेपाली नेताहरू जादुगर भएका भए उनीहरूको सबैभन्दा चर्चित जादु विकास गायब गराउने हुने पो थियो कि? किनभने प्रत्येक चुनावमा उनीहरूबाट मेट्रो/मोनो रेल, पानीजहाज, पाइपबाट ग्यास, राजमार्ग र भ्रष्टाचारमुक्त शासनको आश्वासन बाँडिन्छ। चुनाव सकिए भोग्न पाइन्छ, हिलाम्मे बाटो र संसदमा केटाकेटीको जस्तो झगडा।

पूर्वाधार विकास भन्ने शब्द राजनीतिक भाषणहरूमा धेरै लोकप्रिय छ, तर व्यवहारमा यसको अर्थ चाहिँ कस्तो देखिन्छ भने उही सडक पटक–पटक खन्ने, टावर खडा गर्ने, विमानस्थल बनाउने ताकि आफ्ना आसेपासेले पैसा कमाउन सकुन्। तपाईंले कुनै सडक बनिरहेको देख्नुभयो भने खुसी नहुनुहोस्, ६ महिनाभित्रै पानीको पाइप, बिजुलीको लाइन अथवा कुनै अनौठो कारणले त्यो फेरि खनिन्छ।

जब जनताले बेथितिबारे गुनासो गर्छन्, नेताहरू कराउन थाल्छन्– यो त अघिल्लो सरकारको गल्ती हो। यो बहाना यति शक्तिशाली छ कि दशकौँसम्म टिकिरहेको छ। हामीलाई लाग्न थालेको छ मूल समस्या सरकार वा सत्ताधारी दल नभएर बरु अघिल्लो सरकार हो जसले सबै कुरो बिगारिदिएको छ।

राष्ट्रिय बजेट सत्र एउटा भव्य उत्सव हो, जहाँ नेताहरू पालैपालो असम्भव प्रतिज्ञा गर्छन्। ‘हामी पाँच लाख रोजगारी सिर्जना गर्नेछौँ’, ‘नेपाललाई एशियाको स्वीट्जरल्यान्ड बनाउनेछौँ’ भन्ने कुरा त हामी अविराम सुनिरहेका छौँ हाम्रा नेताका मुखबाट। नेपाली नेताले जानेको भनेकै ठूला गाडी, विदेश भ्रमण, आफ्नालाई नियुक्ति र सुविधा न हो। यदि पैसाले पुगेन भने हामीले चिन्ता गर्नु पर्दैन, सरकार अन्तर्राष्ट्रिय संस्थाहरूबाट ऋण लिन्छ र त्यसलाई आर्थिक वृद्धि भन्छ। जब देशले ती ऋणहरू फिर्ता गर्न सक्दैन, त्यो जनताको थाप्लोमा बजारिने समस्या हुन जान्छ।

नेपालमा भ्रष्टाचार अपराध होइन, यो त अधिकार हो जस्तै हुन पुगेको देखिन्छ। प्रत्येक सरकारले भ्रष्टाचार अन्त्य गर्ने वाचा गर्छ, तर अघिल्लो सरकारभन्दा अझै भ्रष्ट बन्छ। यदि भ्रष्टाचारको ओलम्पिक प्रतियोगिता हुन्थ्यो भने नेपालले प्रत्येक वर्ष स्वर्ण पदक मात्रै पो जित्थ्यो कि? भ्रष्टाचार यति फैलिएको छ कि कृत्रिम बुद्धिमत्ता (एआई) ले पनि ट्र्याक गर्न गाह्रो पर्ला। सरकारी सुविधाहरू नागरिकलाई दुःख दिनका लागि बनाइएका छन् भन्दा फरक नपर्ला।

विकेन्द्रीकरणले विकासको ढोका खोल्छ भनेर नेपालले संघीयताको अभ्यास अपनायो। नतिजा डोकोभरि नेता, कर्मचारी, नियुक्ति र बढी अन्योलका रूपमा प्राप्त भएको छ। अहिले प्रत्येक प्रदेशमा आफ्नै मुख्यमन्त्री, मन्त्रीहरू र कर्मचारीहरू भव्य कार्यालयहरूमा बस्छन्। तर वास्तवमा के काम गर्छन्, कोही जान्दैन। जब कुनै विपत्ति आउँछ, सरकारको प्रतिक्रिया काठमाडौँका जामभन्दा पनि सुस्त हुन्छ। नागरिकहरू आफैँ संघर्ष गर्छन्, नेताहरू उच्चस्तरीय समिति बनाएर प्रेस विज्ञप्ति निकाल्छन्।

नेपाल सुन्दर छ, सम्भावनाले भरिएको छ तर यसको सबभन्दा ठूलो दुर्बलता भनेकै नेता हुन्। जनता मिहिनेत छन्। युवा सपना देख्छन्। तर सत्तामा रहेका नेताहरू हदैसम्म स्वार्थी छन्। हरेक चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी नै छ, दुर्भाग्यवश यो सब मजाक हामीमाथि नै भइरहेको छ।