विवाहपछि पनि टेड र एलन लामो समय नेपाल बसे। छोरीलाई जन्म दिन अमेरिका पुगे। तर टेडलाई रोगले समात्यो। उनको निधनको चार वर्ष बितिसकेको छ। उनका संकलनका पुस्तक भने 'प्रेमको प्रतीक' बनेर नेपाल आइपुगेका छन्।
काठमाडौँ– “तपाईंको श्रीमान्ले पुस्तक किनेर लैजानुभएको थियो, यो बिल लिनूस्,” दशकअघि अमेरिकाका सडकमा हिँड्दा पुस्तकपसले एलनको हातमा बिल थमाउन आइपुग्थे।
एलनका लागि यो नौलो कुरा थिएन। श्रीमान् टेड रिकार्डीको पुस्तक किन्ने बानीले कहिलेकाहीँ त उनलाई आजित गराउँथ्यो। तर पुस्तकमा हुने खर्च उनलाई कहिल्यै आपत्तिजनक लागेन। कारण टेडको पुस्तक मोह बिछट्टै थियो।
सन् १९९९ सम्म टेड कोलम्बिया विश्वविद्यालयको मध्यएशिया भाषा तथा संस्कृति विभाग प्रमुख थिए। खल्तीमा पैसा हुँदा उनी किताब किनिहाल्थे। नभए मन लागेका किताब उधारोमा लिन्थे।
टेडले किनेका तीमध्ये कतिपय पुस्तक अहिले नेपालमा छन्। भक्तपुरस्थित भोकेस्नल एकेडेमीमा, जहाँ ‘टेड रिकार्डी मेमोरियल रिडिङ रुम’ खोलिएको छ।
टेडले लामो समय नेपाली इतिहासबारे अध्ययन र अध्यापन गराए। नेपाली इतिहास र संस्कृतिको अनुसन्धानमा योगदान दिए। सन् २००४ मा ‘पार्किसन’बाट ग्रसित भएका टेडको मृत्यु सन् २०२० मा भयो।
मृत्युपछि पनि नेपालसँग टेडको नाता टुटेको छैन। टेडसँग रहेका महत्त्वपूर्ण पाँच हजारभन्दा बढी पुस्तक बोकेर श्रीमती एलन कुन नेपाल आइन्। अनि यी पुस्तक टेडको सम्झना बोकेर यतै रहे।
एलन कुन आफै पनि नेवार समुदायको मौखिक इतिहासको अध्येता हुन्। अन्य देशका विभिन्न संस्कृतिको पनि अनुसन्धान गरेकी छन्।
अहिले अमेरिकाका तिनै सडकमा हिँड्दा कुनै पसलेले फेरि उसैगरी पुस्तकको बिल थमाओस् भन्ने सोच्छिन्। तर समयले छाडिसकेको छ।
टेडसँगको पहिलो भेट
४२ वर्षअघि एलन धार्मिक र सांस्कृतिक अध्ययनका लागि नेपालमा थिइन्। कोलम्बिया युनिभर्सिटीका प्राध्यापक टेड नेपालको राजनीतिक इतिहासमा चासो राख्दथे। उनी पनि नेपालमै थिए।
एलनका बुवा नेपालका लागि अमेरिकी राजदूत थिए। उनी बुवासँगै नेपालमा थिइन्। नेपालस्थित ग्याब्रियल क्याम्पबेल र लेन बेनेटको घरमा ‘डिनर’का लागि उनीहरूलाई बोलाइएको थियो। त्यहाँ नेपालका मानवशास्त्रीहरू छलफल गरिरहेका थिए।
एलन र उनका बुवा त्यहाँ पुगेपछि एक जना मानिस ढोका खोल्न आए। तर खोल्न सकेनन्। गाडीबाट ओर्लिएर एलनले नै ढोका खोलिन्। ढोकामा उभिएका मानिसले बेलायती ‘एक्सेन्ट’ (उच्चारण) मा ‘थ्याङ्क्यु भेरी मच’ भने। ती व्यक्ति टेड थिए।
“फेक बेलायती एक्सेन्ट सुन्दा मैले आफ्नो हाँसो रोक्न सकिन,” टेडसँगको पहिलो भेटबारे एलन बताउँछिन्।
त्यसपछि उनीहरूबीच बारम्बार भेटघाट हुन थाल्यो। उनीहरूको कुराकानीको विषय मुख्यतः नेपाल र यहाँको इतिहास, राजनीति, कला, संस्कृतिबारे हुन्थ्यो।
सन् १९८३ मै फेरि बार्बरा एडम्सको घरमा डिनर आयोजना भयो। हत्तपत्त कफी नखाने एलनले त्यस दिन कफी खाइन्। बिस्तारै पेटलाई असर गर्न थाल्यो।
“टेडले मलाई खानापछि एक छिन हिँड्न प्रस्ताव गरे। हामी नेपालको इतिहासबारे कुरा गर्दै थियौँ। पेट भने दुखिरहेको थियो,” उनी सम्झिन्छिन्, “त्यही बेला हामीलाई एउटा कुकुरले लखेट्यो। मलाई थाहा थिएन उसलाई कुकुरसँग डर लाग्छ।”

एलनले टेडलाई कुकुरबाट बचाइन्। त्यसपछि आफ्नो पेट दुखाइबारे बताइन्। उनले आफ्नो खल्तीमा रहेको ‘एसिडिटी’को औषधी एलनलाई दिए। उनी भन्छिन् “मैले उनलाई कुकुरबाट बचाएँ, उनले मेरो पेट दुखाइको निवारण गरे। त्यो घटनाले हाम्रो प्रेम झाँगिन थाल्यो।”
नेपाल अध्ययनले जोडियो सम्बन्ध
उनीहरू घुम्न काठमाडौँका गल्लीदेखि नेपालमण्डलका पनौती शहरसम्म पुग्थे। टेड शिलालेखमा कुँदिएका अक्षर पढेर उनलाई सुनाउँथे। बहाः, बहीको घुमघाम दुवैको दैनिकी बनिसकेको थियो। नेपालका गल्लीमा पाक्ने रोटी उनीहरूको साझा रोजाइ हुन्थ्यो। “न्युरोडको शिव भोजनालयमा हामी रोटी खान्थ्यौँ,” उनी भन्छिन्।
टेडले नेपालमा मोहनप्रसाद खनालसँग काठमाडौँ उपत्यका दुमखालको पुरातात्त्विक अन्वेषण गरेका थिए। जसमा प्रयागराज शर्माको सहायता थियो। एलनका पिता पनि टेडको कामबाट प्रभावित थिए। उनी राजनीतिक इतिहासमा पनि दक्खल राख्थे।
एलन भने मौखिक इतिहासमा रुचि राख्थिन्। नेवार समुदायको मौखिक इतिहासको काममा टेडले एलनलाई सदैव प्रेरित गर्थे। एनलका काममा देख्ने त्रुटिमा घण्टौँ बहस गर्थे। “मेरो अंग्रेजी भाषामा कमान्ड थियो। लेखाइ राम्रो थियो। टेड मेरा लाइन र फ्रेज अनुमति मागेर आफ्नोमा राख्थे,” उनी भन्छिन्।
टेड र उनको सम्बन्ध नेपालको सौन्दर्य र मनमोहक दृश्यमा मात्र सीमित थिएन। उनीहरूको सम्बन्धको जरा नै नेपाल अध्ययन थियो। यद्यपि, यी दुईबीच उमेर २४ वर्षको फरक थियो।
“तर त्यो ठूलो कुरा बन्न छाड्यो। कारण हामी एकअर्कालाई धेरै माया गर्थ्यौं। नेपाललाई माया गर्थ्यौं, त्यो हामीबीचको एउटा बलियो कडी थियो। त्यसले हामीलाई जोडिरह्यो,” उनी भन्छिन्।
एलन र टेडबीचको उमेरको भिन्नतालाई लिएर सम्बन्ध स्थायी रूपमा जोडिन भने समस्या भइरहेको थियो। “हाम्रो सम्बन्धलाई लिएर मेरो बुबालाई आपत्ति थिएन। मेरी आमाले भने उमेरको कारणले स्विकार्नु भइरहेको थिएन,” उनी भन्छिन्।
टेड हरेक वर्ष एलनसँग विवाहको प्रस्ताव राख्थे। उनी भने अहिले विवाह नगर्ने भनेर टार्थिन्। यसरी निकै वर्ष बिते। सन् १९९६ मा भने एलनले नै विवाहको प्रस्ताव गरिन्। टेड राजी भए। त्यति बेला एलन ३५ र टेड ५९ वर्षका थिए।
टेडसँगको बसाइलाई उनी ‘देवलोक’को बसाइसँग तुलना गर्छिन्। “म किचेनमा काम गरिरहँदा उनी पियानो बजाउँथे। सुन्दर माहौल हुन्थ्यो। कहिले लिच्छविकालीन, मल्लकालीन समयको कुराकानी हुन्थे। ती समय अलौकिक लाग्थे। अनि लाग्थ्यो– मैले ११ वर्ष बिहेका लागि टेडलाई पर्खाउनु हुँदैन थियो,” उनी भन्छिन्।
सन् २००४ मा टेडलाई पार्किन्सन भएको पत्ता लाग्यो। ती समयमा आफ्नो कामलाई थाँती राखेर टेडका लागि बाँचिन्। “मैले उनलाई कहिल्यै छाडिनँ,” उनी भन्छिन्, “टेडले कहिल्यै रोगबारे कुरा गरेनन्। उनी आफ्नो काममै केन्द्रित भइरहेको हुन्थे। सक्ने जति काम आफै गर्थे।”
छोरीको पहिलो भाषा नेपाली
विवाहपछि उनीहरूको बसाइ लामो समय नेपालमै भयो। बच्चा जन्माउन भने अमेरिका नै गए। एक नेपाली शान्तिलाई सहयोगी बनाएर अमेरिका लगेका थिए। “शान्तिलाई अंग्रेजी बोल्न आउँदैन थियो। घरमा हामी सबै नेपाली बोल्थ्यौँ,” उनी भन्छिन्, “त्यही कारण हाम्रो छोरीले पनि नेपाली नै बोल्न सिकिन्। मेरो छोरीको पहिलो भाषा नेपाली थियो।”

एलन नेपालको सामाजिक जीवनलाई आदर गर्छिन्। उनलाई अमेरिकाको सामाजिक जीवन दिक्क लाग्छ। “मानिसहरूलाई लाग्छ अमेरिका राम्रो देश हो। हुन पनि त्यहाँ २४ घण्टा पानी चल्छ, बाथ टब हुन्छ। घर, गाडी हुन्छ,” उनी भन्छिन्, “तर त्यहाँ ६ जना मानिसका लागि भोज तयार गर्नुपर्यो भने हरकोहीको हार्टअट्याक हुन्छ।”
सन् २००४ देखि २०११ सम्म उनीहरू छाउनीस्थित दयारामभक्त माथेमाको घर भाडामा लिएर बसे। दिनभर अध्ययन, अनुसन्धान गरेर घर आइपुग्दा जहिल्यै कोही न कोही टेडलाई भेट्न आएका हुन्थे। टेडका लागि साथीको कमी थिएन। बिमारी हुँदा पनि टेड आफ्ना समकक्षीका कारण सक्रिय थिए।
प्रेमिल जीवनमा आउने खटपटको विषयमा कुराकानी गर्दा एलन भावुक भइन्। टेडलाई याद गर्दै भन्छिन्, “धेरै महिला आफ्नो श्रीमान्को घुर्ने बानीबारे गुनासो गरेको सुन्छु। यदि मेरो श्रीमान्ले घुरेको १० मिनेट सुन्न पाउने भए मसँग जेजति छ सबै खर्च गर्थें।”
आफ्नो जीवनसाथीको स–साना कुराले दिक्क नहुन उनी सल्लाह दिन्छिन्। ती सबै अर्थहीन भएको उनी बताउँछिन्। “यदि मागी विवाह गर्नु भएको छ भने दुई जनाले साझा रुचि लाग्ने कुरामा समय बिताउनु होस्। मानिसको रूपभन्दा गुणलाई परख गर्नुहोस्,” एलन भन्छिन्, “हामी एकअर्कालाई हासीमजाकमार्फत हौस्याउँथ्यौँ।”
सुत्ने समय एकअर्कालाई किताब पढेर सुनाउँथे। गीत, संगीत, फिल्म जे मन पर्छ मिलेर हेर्थे। एलन बिहान जर्नल लेखिरहेको बेला टेड चिया बनाइदिन्थे। टेड व्यस्त रहँदा एलन खानपिन हेर्थिन्। टेड मिठाइ मन पराउँथे, एलन केक बनाइदिन्थिन्।
यद्यपि, सम्बन्धमा स्वतन्त्रता पनि दिनुपर्छ। हरेक पटक दुई जना एकैसाथ हुनुपर्छ भन्ने छैन। “उनका केही साथी मलाई मन पर्दैन थियो, मेरा केही साथी उनलाई। तर हामी हस्तक्षेप गर्दैन थियौँ। त्यो स्वतन्त्रता पनि दिनु पर्छ,” उनी भन्छिन्।
टेडले छाडेका सम्झना
टेड पियानो बजाउन रुचाउँथे। पार्किन्सन भएपछि पनि पियानो बजाउन र समाचार पढ्न रोकेनन्। टिभीमा कलर्स च्यानलमा प्रसारण हुने विश्वयुद्धका वृत्तचित्र हेर्न रुचाउँथे। “कतिपटक त म भन्थेँ, विश्वयुद्ध सकिइसक्यो किन हेरिरहन्छौ?” उनी सुनाउँछिन्, “जवाफमा टेड भन्थे– होइन युद्ध सकिएको छैन। जातीयवाद, नश्लियवाद दोहोरिइरहेका छन्। विश्वयुद्ध सकिएको नसोच।”
श्रीमान् टेडको राजनीतिक बुझाइ उनका लागि विश्व बुझ्ने अर्को कोण थियो। एलन भने धार्मिक र साहित्यिक कोणबाट विश्वलाई हेर्थिन्। टेड मानिसले राजनीतिका लागि इतिहासलाई दुरुपयोग गरेको मन पराउँदैन थिए।
टेडको निधनपछि एलन आफै पनि असहज अवस्थामा थिइन्। टेडसँग लामो समय नेपाल बसेको कारण पनि होला यता आउँदा उनी भावुक हुन्थिन्। नेपाल आउँदा टेड अनि साथीहरूसँगको सम्झना कुनै संग्रहालयजस्तो भएर खुल्ने उनी बताउँछिन्।
“टेड यहाँ भएको कति रमाउँथे होला! लाग्छ टेड कतैबाट मलाई आवाज दिइरहेका छन्– गो ह्याभ फन, एक्सप्लोर द वर्ल्ड,” एलन भन्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
