अजरबैजान विमान दुर्घटना : एन्टी मिसाइलले लागेको आशंका, कारण खोज्दै अनुसन्धानकर्ता

सैन्य विशेषज्ञले विमानमा ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशंका गरेका छन्। रुसी अधिकारीले भने ‘अड्कलबाजी’भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।

तस्वीर : अजमात सार्सेनबायेभ/सिन्ह्वा

अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ। 

अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको रूसको दक्षिणी षेत्र चेचन्याको ग्रोज्नी शहरका लागि उडेको एम्ब्रेयर १९० विमान काजकिस्तानको अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। तर केही उड्डयन तथा सैन्य विशेषज्ञहरूले युक्रेनी ड्रोन गतिविधिको रिपोर्ट गरिएको क्षेत्रमा उडिरहेको बेला विमानलाई रुसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीवश लागेको हुन सक्ने बताएका छन् ।

रुसी अधिकारीले घटनाबारे ‘अड्कलबाजी’भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन्। 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामीले अनुसन्धानको अन्त्यसम्म पर्खनु आवश्यक छ।”

काजकिस्तानका सभामुख माउलेन आशिम्बायेभलाई उद्धृत गर्दै रुसी समाचार संस्था (तास)ले विमान दुर्घटनामा परेको हो भनेर यकिन भई नसकेको उल्लेख गरेको छ। 

“विशेषज्ञले यी सबै घटनाको अनुसन्धान गरिरहेका छन् र छिट्टै आफ्नो निष्कर्ष निकाल्नेछन्। काजकिस्तान, रुस र अजरबैजानले पनि सूचना लुकाउन चाहने छैनन्, यसलाई सार्वजनिक गरिनेछ,” उनले भने।

‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशंका
रुसी सैन्यविज्ञ युरी पोडोल्याकाले विमानको भग्नावशेषमा देखिएको प्वाल ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले पुर्‍याएको क्षतिसँग मिल्दोजुल्दो रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सबै कुराले यही संकेत गर्छ।”

अजरबैजान एयरलाइन्सले शुरूमा उक्त विमान चराको बथानको बीचमा पुगेको बताएको थियो।

विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना सवार रहेको एयरलाइन्सले जनाएको छ।

काजकिस्तानका उपप्रधानमन्त्री कानत बोजुम्बायेभले ३८ जनाको मृत्यु भएको तीन बालबालिकासहित २९ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन्।