रेस्टुरेन्ट तथा क्याफेमा ‘नेपाली कफी’ ब्रान्ड लोकप्रिय भइरहेको छ। तर नेपालकै उत्पादनले माग नधान्दा अहिले पनि आयातित कफीमै भर पर्नु पर्ने बाध्यता छ। के पारखीहरूले साँच्चै नेपाली कफी पिउन पाएका छन्?
काठमाडौँ– खुमलटारका प्रवेश दाहाल नेपाली कफीका पारखी हुन्। उनी नेपाली कफी नै पाउने ‘कफीसप’ पुग्छन्। तर नेपाली भनेर दिइने सबै कफी नेपालमै उत्पादन भएका हुन् त?
नेपाल अर्गानिक कफी प्रोडक्टस् प्रालिका सञ्चालक धाकेश्वर घिमिरेका अनुसार स्वदेशी कफीको माग धेरै भए पनि उत्पादन कम छ। नेपालमा उत्पादन भएको कफीले माग धान्न सकेको छैन। “बाहिरको कफी आएर ठाउँ लिरहेको भन्ने सुनिन्छ। ब्रान्ड नेपाली तर सामान चाहिँ आयातित भन्ने सुनिएको भए पनि मैले ठ्याक्कै देखेको छैन,” उनी भन्छन्।
नेपालमा कफीको पारखी बढेसँगै कफी पाइने क्याफे तथा रेस्टुरेन्टको संख्या पनि बढ्दै छन्। ती ठाउँमा कफीका अनेक प्रकार पाइन्छन्। ‘नेपालमा उत्पादित’ कफी बेच्ने क्याफे र रेस्टुरेन्ट पनि धेरै छन्।
व्यवसायी घिमिरे बजार विस्तार भए पनि नेपालमै कफीको उत्पादन बढाउनेतिर सरकारको ध्यान नगएको बताउँछन्। “उत्पादनमा ध्यान नदिनु दुःखलाग्दो हो, बजारको माग धान्न पनि नेपाल सरकारले उत्पादन बढाउनतिर लाग्नु पर्छ,” उनी भन्छन्।
गत वर्षसम्म स्वदेशमा उत्पादन हुने कफीभन्दा आयात धेरै हुन्थ्यो। यो वर्ष भने नेपालमा आयातको तुलनामा उत्पादन बढेको छ। तर उत्पादन र आयात दुवैको परिमाण जोड्दा पनि घरेलु मागभन्दा कम नै छ।
नेपालका ४३ जिल्लाको ४३ सय हेक्टर जमिनमा कफी लगाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ। गत मंसिर १ गते मनाइएको २०औँ राष्ट्रिय कफी दिवसमा बोर्डले यो वर्ष (२०८० मंसिरदेखि २०८१ कात्तिकसम्म) नेपालमा ५०१ टन कफी उत्पादन भएको जनाएको थियो।

गत वर्ष भने कुल ३९० टन कफी मात्र उत्पादन भएको थियो। तर, त्योभन्दा बढी अर्थात्, ४४३ टन कफी आयात भएको भन्सार विभागको तथ्यांक छ। त्यसअघि, २०७८ मंसिरदेखि २०७९ कात्तिकसम्म एक वर्षमा ३५७ टन कफी उत्पादन हुँदा ४४४ टन आयात भएको थियो।
व्यवसायी घिमिरे सरकारले कफी उत्पादन बढाउन समन्वय गर्नुपर्ने बताउँछन्। उत्पादन बढाउन सके कफी निर्यातको पनि राम्रो सम्भावना भएको उनको भनाइ छ। “कस्तो जग्गा उपयोग गर्ने? हदबन्दी कतिसम्म छुट गर्ने? केके सुविधा दिने भनेर नीति बनाउनुपर्छ। यसबाट रोजगारी बढ्छ र उद्योगधन्दालाई पनि जाति हुन्छ,” उनी भन्छन्, “कृषि, वाणिज्य र वन मन्त्रालय तथा योजना आयोगबीच समन्वय हुनु पर्छ।”
जमिन छ, खेती थोरै
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपनिर्देशक डा. लक्ष्मण पोखरेलका अनुसार ३२ हजार किसान कफी उत्पादनसँग जोडिएका छन्। नेपालमा अर्गानिक र अराबिका जातको कफी बढी उत्पादन हुन्छ। नेपाली कफी उच्च गुणस्तरको भएका कारण नेपालसहित विदेशमा पनि उच्च माग रहेको पोखरेल बताउँछन्।
“नेपाली कफी उच्च गुणस्तर र स्वादको हुने भएको कारण देश बाहिरबाट नै १२/१४ हजार टनको माग छ। नेपालमै पनि ६ हजारभन्दा बढी क्याफे/रेस्टोरन्टहरूले कफी बेच्छन। त्यसका लागि पनि २२/२३ सय टन चाहिने रहेछ,” पोखरेलले भने।
नेपालबाट निर्यात हुने कफी प्रतिकिलो १६ अमेरिकी डलरमा बिकिरहेको छ। नेपालमा कफी खेतीका लागि पर्याप्त जग्गा पनि भएको उनले बताए।
“अहिले प्लान्टेसनका लागि लायक १२ लाख हेक्टर जमिन छ। विश्वबजारमा माग भएको उच्च गुणस्तरको कफी उत्पादन गर्न सक्ने क्षेत्र पनि ६० हजार हेक्टर छ,” पोखरेल भन्छन्।
उनका अनुसार अन्यत्र धेरै नहुने अराबिक कफी नेपाली भूगोलमा राम्रो मानिन्छ। उत्पादन बढाउन किसानहरूलाई कफी लगाउन उत्साहित गरेर कफीखेतीको क्षेत्र बढाउनु पर्ने उनी बताउँछन्।
नेपालको कफी राम्रो हुने कारणले नै आयातितलाई नेपाली कफी भनेर बेच्ने गरेको सूचना आउने गरेको पोखरेल बताउँछन्। “हामी अनुगमन गर्ने क्रममै छौँ। उत्पादन कम र खपत उच्च भएपछि मागसँग आपूर्ति सन्तुलित हुँदैन र बजारमा स्वाभाविक यस्ता कुराहरू हुन्छन्,” उनी भन्छन्।
कफी आयातलाई रोक्न पनि नसकिने पोखरेल बताउँछन्। “बिक्री गर्नेले कुन कफी हो त्यही भनेर बेच्नुस् भनेर हामीले आग्रह गरेका छौँ। बाहिरबाट ल्याइएकोलाई आयातित र नेपालको अराबिका, अर्गानिक वा इनअर्गानिक जे हो त्यही भनेर बेच्न हाम्रो आग्रह छ,” उनी भन्छन्।
नेपालमा कफीको विकासक्रम
१९९५ सालतिर गुल्मीको आँपचौर निवासी हिरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीको बीउ ल्याई नेपालमा कफी खेतीको शुरूआत गरेको मानिन्छ। विसं २०२० को दशकमा सरकारले भारतबाट बीउ ल्याई वितरण गरेपछि कफी खेतीले गति लिन थालेको चिया तथा कफी विकास बोर्डले कफीको इतिहासमा उल्लेख गरेको छ।
आर्थिक वर्ष २०४०/४१ मा रूपन्देहीको मनिग्राममा स्थापना भएको ‘नेपाल कफी कम्पनी’ले किसानसँग सुक्खा कफी खरिद गरेर आन्तरिक बजारका लागि प्रशोधन गर्न थालेको थियो। कफी उत्पादकहरूको संख्या बढ्दै गएपछि २०४८ सालमा ‘नेपाल कफी उत्पादक संघ’ स्थापना भयो।
अहिले ४० भन्दा बढी जिल्लामा कफीको उत्पादन विस्तार भएको छ। मध्यपहाडको काभ्रे, गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत जिल्लामा कफी हुन्छ।
कफीको विकास एवं विस्तारमा काम गर्ने निकायको रूपमा कृषि विभागअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड छ। नेपाल कफी व्यवसायी महासंघ, केन्द्रीय कफी सहकारी संघ र जिल्लागत कफी व्यवसायी संघहरूले कफी विकासको संगठित प्रयास गरिरहेका छन्।
केन्द्रीय कफी सहकारी संघका पूर्वअध्यक्ष योगेश पोखरेलका अनुसार नेपालमा कफीको उत्पादन, आन्तरिक खपत र निर्यात तीन वटैको प्रचुर सम्भावना छ। “हाम्रो उत्पादनले आन्तरिक माग नै धान्न सकेको छैन। प्रचारप्रसार नगर्दै पनि बाहिरबाट अहिले पाँच–सात हजार टनको माग छ, जसलाई हामीले पूरा गर्न सकेका छैनौँ,” उनी भन्छन्।
राज्यका निकायले कफीको उत्पादन र प्रवर्धनका लागि गर्नुपर्ने काम गरिरहे पनि अझै अपुग भएको उनी बताउँछन्। उनका अनुसार एक पटक लगाएको बिरुवाले ४० वर्षभन्दा बढी समय उत्पादन दिन सक्छ। तर खेती विस्तार आवश्यक रहेको उनको भनाइ छ।

अहिले नेपालबाट निर्यात हुने कफीको मात्रा ज्यादै थोरै छ। आर्थिक वर्ष २०७८/७९ मा करिब ७० टन कफी निर्यात भएको थियो। त्यसपछिको वर्ष निर्यात करिब ७८ टन पुग्यो। आर्थिक वर्ष २०८०/८१ मा भने झन्डै ८९ टन कफी निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
गत वर्ष निर्यात भएको कफी कुल घरेलु उत्पादनको करिब साढे २२ प्रतिशत हो। तर नेपालले निर्यात गरे भन्दा पाँच गुण बढी आयात भएको छ।
कफीमा नेपाललाई गत आर्थिक वर्ष २७ करोड २ लाख रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। १४ करोड ९१ लाख रुपैयाँको कफी निर्यात गर्दा नेपालले ४१ करोड ९३ लाख रुपैयाँ बराबरको आयात गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
