काठमाडौँ– पाँचथरबाट ३० वर्षअघि काठमाडौँ आएका यमबहादुर गुरूङको बसाइ लैनचौर क्षेत्रमा थियो। त्यस बखत लैनचौरको बस्ती पातलो थियो। तर यो ३० वर्षमा लैनचैर घना बस्ती र सुविधायुक्त शहरमा परिणत भइसकेको छ।
यहाँको कच्ची सडक कालोपत्रे भइसकेको छ। खाली मैदान र खेतमा अग्ला होटल र व्यापारिक भवन बनेका छन्। उपराष्ट्रपति भवन, दुग्ध विकास संस्थान (डीडीसी), खानी विभागलगायत सरकारी कार्यालय बनेका छन्। विदेशी दूतावासका कार्यालय छन्।
शहरी विकाससँगै यहाँको खुलापन साँघुरिएको छ। लैनचौर पनि खुम्चिएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले तयार गरेको ‘काठमाडौँ उपत्यका खुलास्थलहरूसम्बन्धी मानचित्र पुस्तक २०७१’ अनुसार सरकारी स्वामित्वको लैनचौरको क्षेत्रफल ४६ सय ९३ वर्गमिटर छ।
त्यसको एकतिहाइ भागमा फुटसल मैदान छ। बाँकी एक भागमा बास्केट बल कोर्ट छ। कोर्टलगत्तै उत्तरतर्फ नेसनल कलेज अफ सोसल (निस्ट)को भवन छ। कोर्टको पश्चिममा शान्ति विद्यागृह स्कुल र फुटसल मैदानको पूर्वमा डीडीसीको कार्यालय छ।
दक्षिणतर्फ मुख्य सडकपारि द मल्ल होटल, अलोफ्ट लगायत होटल र अमृत साइन्स क्याम्पस (अस्कल) छन्। व्यस्त सडकको छेउमा खुम्चिएको लैनचौरमा अहिले ठूलो ‘होर्डिङ बोर्ड’मा ‘लैनचौर खेल मैदान’ लेखिएको छ।
काठमाडौँ महानगर वडा नं. २६ कार्यालयले यो मैदानको व्यवस्थापनको जिम्मा लैनचौर युवा क्लबलाई दिएको छ। तर सर्वसाधारणलाई लैनचौर प्रवेशमा रोक लगाइएको छैन। हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको लागि मैदान खुला रहन्छ।
केही समय टहलिनका लागि लैनचौर उपयुक्त रहेको यमबहादुर बताउँछन्। दौँतरीसँग साँझ, बिहान चिया खाँदै गफिन र घाम ताप्न आउने उनको भनाइ छ। “म त खुशी छु। भीडभाड सामान्य हुन्छ, घुम्न आउनेहरू दुईचार फन्का लगाएर जान्छन्। कोठामा बसिरहने भन्दा यहाँ आउन राम्रै लाग्छ,” उनी भन्छन्।
लैनचौर पार्क नभएको ठमेलका स्थानीय शैलेन्द्र नकर्मी बताउँछन्। किराना पसल चलाउने उनी बिहान बास्केट बल अभ्यास गर्न साथीहरूसँग यहाँ आउँछन्। बास्केट खेलेबापत कुनै शुल्क लाग्दैन।
नागरिकको सुलभताकै लागि पनि यस्ता खुला ठाउँ र खेलमैदान चाहिने शैलेन्द्रको भनाइ छ। “नक्सालको चौर हिँड्ने स्पेस हो, त्यसको आफ्नै महत्त्व छ,” उनी भन्छन्, “लैनचौर सर्वसाधारण मात्र नभई खेलाडीका लागि पनि उपयुक्त स्थान हो। माटोका ढिस्का भएको ठाउँ मैदानका रूपमा उपभोग गर्न पाउँदा हामी खुशी छौँ।”
बाल्यकालमा देखेको लैनचौरको तुलनामा अहिले राम्रो संरचना बनाएको उनी बताउँछन्। “पहिले यहाँ फोहोरको थुप्रो थियो। माटोका ढिस्का र झारपातबाहेक केही थिएन,” उनी भन्छन्, “मानिसहरूको मनलाग्दी थियो। पार्किङसमेत अस्तव्यस्त थियो।”
टहल्ने ठाउँ मासिने चिन्ता
स्थानीय विष्णुबहादुर ओझा (८३) भने खेलमैदान वा अन्य भौतिक संरचना बनाएर खुला ठाउँ मास्न नहुने बताउँछन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अवकाश प्राप्त कर्मचारीसमेत रहेका उनी खाली स्थानको महत्त्व नबुझ्दा त्यस्ता स्थान मासिन थालेको बताउँछन्।
ठमेलमा जन्मिएका ओझा सडक विस्तारको क्रमसँगै शहरीकरण भएको लैनचौरका साक्षी हुन्। आफूहरू यहाँ बसाइँ सर्दा लैनचौर खाली र विशाल भएको उनको सम्झना छ। श्रीमतीलाई हिँडडुल गराउन बिहान लैनचौर आएका उनी अन्य बेला यता खासै नपस्ने बताउँछन्।
तर खुम्चिएको लैनचौर देख्दा भित्रभित्रै निसासिने विष्णुबहादुर बताउँछन्। “खुला स्थान नभए कहाँ उभिने! एउटा टुँडिखेल देखाएर त हुँदैन,” उनी भन्छन्, “सबैलाई आफ्नो स्वार्थ र काम भए पुगेको छ। यस्ता खाली स्थानको कसलाई चासो?”
उनका अनुसार २०३०–३२ सालदेखि लैनचौर अतिक्रमण हुन थालेको हो। २०४३ सालपछि सरकारी निकाय तथा विभिन्न व्यापारिक भवन बाक्लै बन्न थाले। भौतिक निर्माणका लागि कुनै बेला इचंगुनारायणबाट यहाँ रोप वेमा ढुंगा ओसारपसार भएको आफूले देखेको उनी बताउँछन्।
शान्ति विद्यागृह तथा बेलायती र भारतीय दूतावास भने राणाकालमै बनेका थिए। फुटसल मैदान २०७८ सालमा एनसेलले व्यावसायिक सामाजिक दायित्व (सीआरएस) अन्तर्गत बनाएको थियो। लैनचौरलाई खेलमैदान बनाउँदा अकुपाई टुँडिखेल अभियन्ताहरूले विरोध जनाएका थिए।
अकुपाई टुँडिखेल अभियन्ता आलोकसिद्धि तुलाधार खुलामञ्चलाई पनि लैनचौरजस्तै बनाएर खुला स्थान मास्न खोजिएको दाबी गर्छन्। “विभिन्न प्रयोजनसहित खुल्ला स्थान निजी अथवा क्लबको सञ्चालनमा जाँदा बिस्तारै निजीकरणको चपेटाका नपरोस् र बन्द पनि नहोस्, हाम्रो आशय त्यति हो,” उनी भन्छन्, “हामी अभियन्ताभन्दा पनि सचेतक हौँ। भविष्य र भावी पुस्ताका लागि हामीले के छाडेर जाँदै छौँ?”
लैनचौर सर्वसाधारणका लागि खुला छ। तर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयसीमा तोकेर खोल्न नहुने कतिपय स्थानीय बताउँछन्। चौरभित्रको सार्वजनिक शौचालयमा ताला लगाउँदा पनि असुविधा भएको उनीहरूको भनाइ छ।
कहाँदेखि कहाँसम्म लैनचौर?
लैनचौर युवा क्लबले सञ्चालन र संरक्षण गरिरहेको यो खेल मैदान पहिले खुला चौर थियो। यो खुला चौरमा राखिएका व्यायामस्थलका साधन अहिले अलपत्र छन्। परम्परागत हिटीका संरचना पनि संरक्षण छैन। सार्वजनिक शौचालय व्यवस्थित छैन।
इतिहासकार त्रिरत्न मानन्धरका अनुसार कुनै समय लैनचौर गाईभैँसी चराउने चौर थियो। उनी भन्छन्, “मेरो घर ठमेलको गल्कोपाखा, २०१८–१९ सालसम्म गाई पाल्थ्यौँ। मेरी बज्यै दिनका दिन गाई चराउन लैनचौर जानु हुन्थ्यो। हामी पनि मिनपचासको बिदामा हजुरआमासँग त्यहाँ जान्थ्यौँ।”
इस्ट इन्डिया कम्पनी सरकार र नेपालबीच २०८ वर्षअघि सुगौली सन्धि भएपछि लैनचौरमा बेलायती राजदूतावास स्थापना भएको उनी बताउँछन्। त्यसपछि भारतीय दूतावास यहीँ स्थापना भयो। लैनचौरको पूर्वमा २००७ सालपछि खानी विभाग स्थापना भयो।
राजा महेन्द्रको राज्याभिषेक २०१३ सालमा यहीँ भएको थियो। अहिले डीडीसीको कार्यालय रहेको ठाउँपछाडि राज्याभिषेक समारोह भएको मानन्धर बताउँछन्। “२०१४ सालमा मात्र डीडीसी खोलियो। डेरी खोलिनुअघि त्यस क्षेत्रमा ठूलो पोखरी थियो, जहाँ नुहाउने, पौडी खेल्ने गरिन्थ्यो। त्यो पछि पुरियो,” उनी भन्छन्।
उनका अनुसार २०२०–२२ सालसम्म लैनचौरमा ढुंगा र गिट्टी थिए। त्यस समयमा इचंगुनारायणदेखि लैनचौरसम्म (हाल टेबलटेनिस हल भएको ठाउँ) रोप वेको पोल थियो। उक्त रोप वेबाट ठूला ढुंगाहरू सार्ने, खसाल्ने, राख्ने र कुटेर गिट्टी बनाउने गरेको उनी बताउँछन्।
रोप वेबाट उत्तरतर्फ धोबीहरूको बस्ती थियो। धोएका लुगा सुकाउने स्थान लैनचौर थियो। पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ पुस्तकअनुसार, हालको स्काउट, खानी विभाग, दुग्ध विकास संस्थानले ओगटेको स्थानमा पोखरीहरू थिए। ती पोखरीमा २०३२–३५ सालसम्म नजिकका विद्यालयका विद्यार्थी पौडी खेल्न आउँथे।
इतिहासकार मानन्धरका अनुसार शान्ति विद्यागृह २००४ सालमा गल्कोपाखा ठमेलमा थियो। २००७ सालमा लैनचौरमा स¥यो। उक्त स्कुलले हालको लैनचौरको भाग लिन प्रयास गरेको उनी बताउँछन्।
तर सार्वजनिक स्थानलाई खुल्लै राख्नु पर्ने नारामा थोरै परिमार्जन हुनु पर्ने उनी बताउँछन्। “खुला स्थानलाई कसैले निजीकरण गर्न अथवा निजी प्रयोजनमा दिन कदापि हुँदैन,” उनी भन्छन्, “तर, कुनै स्थानको सार्वजनिक प्रयोग हुन्छ भने सुरक्षित रूपमा पर्खालले घेर्नु राम्रै मान्छु म।”
नामगेल शेर्पासँगको त्यो सहमति
सडक विस्तारले गर्दा नै लैनचौरको सीमा अहिलेको अवस्थामा आइपुगेको लैनचौर युवा क्लब अध्यक्ष रामबहादुर रजक (५१) बताउँछन्। उनका अनुसार २०७३ सालसम्म लैनचौर अस्तव्यस्त थियो। “यो ठाउँमा भैँसी चराउनेदेखि गाडी पार्किङसम्म हुन्थ्यो,” उनी भन्छन्, “स्थानीयले लैनचोर जोगाउन धेरै संघर्ष गरे।”
काठमाडौँ महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले लैनचौरमा भूमिगत तथा लिफ्ट पार्किङको योजना ल्याए। त्यसविरुद्ध स्थानीयले संघर्ष गरे। स्थानीय विद्यालय, स्थानीयवासी र क्लबका सदस्यले खुला चौर नै हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाए। स्थानीयको आन्दोलनले नै यो स्थान पार्किङ बन्न रोकिएको रजक बताउँछन्।
२०७२ सालको भूकम्पमा लैनचौर आश्रयस्थल बनेको थियो। सोही वर्ष लैनचौरपछाडिको जग्गामा नामगेल शेर्पाले भवन (हाल एनसेलको भवन) बनाउने योजना अघि बढाएका थिए।
शेर्पाले आफ्नो प्रयोजनका लागि भवन बनाउँदै थिए। “भवन बनाउने निर्माण सामग्री राख्न लैनचौरको खुला स्थान माग भएको थियो,” रजक भन्छन्, “त्यस क्रममा लैनचौरलाई व्यवस्थित खेल मैदान बनाइदिने शर्तमा स्थानीय र वडा कार्यालयमार्फत महानगरपालिकाको सहकार्यमा उक्त स्थान प्रदान गरिएको थियो।”
यद्यपि, उत्तः भवनपछि एनसेललाई हस्तान्तरण भयो। खेल मैदान बन्ने निश्चित भएन। यद्यपि शेर्पाले स्थानीयसँग सम्झौता नै गरेका थिए। रजक भन्छन्, “उक्त सम्झौतापत्र महानगरपालिका, वडा, भद्रभलादमीसहित एनेसलका पदाधिकारीलाई बुझाएपछि एनसेले सामाजिक उत्तरदायित्व अन्तर्गत मैदान बनाइदिएको हो।”
मैदान खुला गर्दा राति ठमेल घुम्न आउनेले फोहोर गर्ने अध्यक्ष रजक बताउँछन्। सोही कारण शौचालय पनि बन्द गरिएको उनको भनाइ छ। आफूहरूले लैनचौरको इतिहासलाई नमेटाएको, बरु पुरानो इतिहाससँगै अहिलेका पुस्तालाई पनि सुविधा दिइरहेको उनी बताउँछन्।
‘खुला स्थान सबैलाई खुला हुनुपर्छ’
शहरी विकास विशेषज्ञ पद्मसुन्दर जोशी नक्सालस्थित नन्दिकेशर बगैँचालाई खुला स्थानको अब्बल उदाहरण मान्छन्। उक्त स्थान हरेक उमेर समूहका लागि हिँडडुल, व्यायाम र खेलकुदको लागि उपयुक्त भएको उनी बताउँछन्।
सौन्दर्यीकरण वस्तुगतभन्दा पनि विषयगत भएको उनको भनाइ छ। “बढ्दो आधुनिकता र शहरीकरणसँगै उमेर समूह अनुसार खुला स्थानको आवश्यकता पर्छ। युवालाई खेलकुद मैदान चाहिन्छ, ज्येष्ठ नागरिकलाई टहल्न,” जोशी भन्छन्, “तर खुला स्थान निश्चित व्यक्ति र समूहको मात्र नभएर बहुसंख्यकको प्रयोगमा हुनुपर्छ।”
कुनै समय गाई चराउने चौरमा अहिले फुटसल मैदान बनाउँदा युवाबाहेक अन्य उमेर समूहले प्रयोग गर्न नपाएको उनी बताउँछन्। उनी भन्छन्, “अतिक्रमणमा पर्न थालेका यस्ता स्थानमा घर, भवन संरचना बनाउनुभन्दा फुटबल मैदानलगायत अन्य खेलका कोर्ट बनाउनु राम्रो हो। तर निश्चित समूहलाई मात्र केन्द्रित गराउनु हुँदैन।”