काठमाडौँ- नेपालमा बाढीले विपत्ति मच्चाएपछि ‘हररात सपनीमा ऐठन हुन्छ’ गीतको सार–संवेदना सम्झाउँदै अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरे- ‘नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको छ।’
राष्ट्रसंघीय महासभा बैठकमा असोज ११ गते सम्बोधन सकिएलगत्तै आएको प्रधानमन्त्री ओलीको ‘दर्दभरे’ पोष्टले कतिपय सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रतिरोधी बनाइदियो। यता देशैभर जनधनको क्षति थपिँदै थियो र काठमाडौँ छिर्ने सबै सडक नाका बन्द भए।
उता प्रधानमन्त्री ओली न्यूयोर्कबाट शुक्रबार नै म्यासाचुसेट्स राज्यको बोस्टनतिर लागे। पूर्वीय सभ्यताको गाथा बोकेर प्रवचनका लागि हार्वर्ड युनिभर्सिटी पुगेका ओली त्यहाँबाट फर्कने क्रममा म्यासाचुसेट्समै खोलिएको अवैतनिक वाणिज्यदूतको कार्यालय उद्घाटनमा पुगे। आफ्ना सल्लाहकार, पार्टी कार्यकर्ता र केही कूटनीतिक प्रतिनिधिमाझ ‘अनरेरी कन्सुलेट अफ नेपाल’ उद्घाटन गर्दै उनले कागजमै तयार गरिएको ‘तामपत्र’मा आफ्नो नाम लेखाए।
प्रधानमन्त्री ओली १० दिनदेखि अमेरिका ‘घुमघाम’मा हुँदा भारतीय समकक्षी नरेन्द्र मोदी भने तीन दिनमै सबै भेटघाट र सम्बोधन पूरा गरेर दिल्ली फिर्ता भैसकेका छन्। यसबीच, भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि प्रधानमन्त्री ओली तथा अष्ट्रेलिया र जापानका प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्न भ्याए। युक्रेनदेखि भियतनामका राष्ट्रपतिसँग भेटवार्ता र अरू सरोकारसम्बद्ध एक दर्जनजति द्विपक्षीय वार्ताहरूमा मोदी सहभागी भए।
त्यही तीन दिनमा मोदीले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म गैरआवासीय भारतीय समाजलाई मन्तव्य दिन भ्याए। यता, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी हुने भनिएको न्यूयोर्कको समारोह ‘सुरक्षा संवेदनशीलता’ जनाउँदै खारेजीमै पर्यो।
राष्ट्रसंघीय महासभाको कार्यतालिकामा ‘साइडलाइन’ हुन्छ नै। भारतदेखि भुटानका प्रधानमन्त्री र बंगालादेश, चीनसहित देशका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीले कूटनीतिक सक्रियता देखाए। न्यूयोर्कमा ओलीको तालिका व्यस्त थियो। तर देशमा विपत्ति मच्चिँदा अवैतानिक दूतको कार्यालय उद्घाटन गर्न पुग्नुले प्रधानमन्त्रीको संवेदनशीलतालाई देखाएको सामाजिक सञ्जालमा टिप्पणी हुने नै भयो।
अमेरिकामा अवैतनिक दूतको लाम
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा असोज ४ गते न्यूयोर्क अवतरण गरेकै दिन एउटा गजबको लर्को देखिन्थ्यो- पूर्वदेखि वर्तमान राजदूतहरू, गैरआवासीय नेपालीदेखि राजनीतिक भाइभारदारहरूको। त्यो लर्केताँतीमा काठमाडौँ महानगरकी उपमेयरदेखि ‘आउनुभयो, भेट्नुभयो, बोल्नुभयो र जानुभयो’ भाँतीका सूचना टिपाउनेहरू पनि थिए। अवैतनिक वाणिज्यदूत प्रेमराजा महतदेखि अरू राज्यका दूतहरू पनि थिए।
अमेरिकाको वासिङटन डीसीमा नेपाली दूतावास छ। न्यूयोर्कमा राष्ट्रसंघीय नियोगको कार्यालय र महावाणिज्य दूतावास छ। योबाहेक अमेरिकामा पर्यटन दूत, वाणिज्य दूत र अन्य दूतहरू गनीसाध्य छैन। हुनलाई ‘मानका खातिर मान’को पद भए पनि आफूलाई राजदूतसरह ‘स्वयंपाके’ मान्यता दिएर हिँड्नेको पछिल्लो नाम, सूची र संख्यामा म्यासाचुसेट् कार्यालय पनि थपिएको छ।
व्यवसायी ज्ञानप्रसाद रिमाल अवैतनिक पर्यटनदूत बनेर बसेको बाल्टिमोर (मेरील्यान्ड)मै प्रभा देउजाले आफू ‘महिला दूत’ रहेको दाबी गर्दै आएकी छन्। नेपाल पर्यटन बोर्डले मनोनयन गर्ने अवैतनिक दूतको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली मूल भई विदेशी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्ने’ जस्ता शर्त राखिएका छन्। तर को, किन र कसरी अवैतनिक दूत बन्छ, धेरैले पत्तो पाएका हुँदैनन्।
सिकागोमा एमाले समर्थित एनआरएन बाला घिमिरे र एटलान्टाका व्यवसायी राजा घले ‘अवैतनिक दूत’ छन्। लसभेगासमा किरण शर्मा, सनफ्रान्सिस्कोमा घन दवाडी, क्यालिफोर्नियामै रामेश्वर भण्डारी र प्रकाश थापा पनि ‘दूत’ कै रूपमा आफूलाई चिनाउँछन्। न्यूयोर्कमा प्रदीप श्रेष्ठ, टेक्सास (ह्युस्टन)मा जगदीश काफ्ले (ज्याक), कोलोराडोमा साब गदाल छन्। कोही अवैतनिक वाणिज्यदूत, कोही पर्यटन दूत र कोही सद्भावना दूत भएका छन्। उनीहरूसँग कूटनीतिक तहको कुनै हैसियत वा जिम्मेवारी नभए पनि स्थानीय तहमा प्रतिष्ठा वा पहुँच बढाउन कतिपय सभा–समारोहमा आफ्नो गाडीमा नेपालको झण्डा फहराएर हिँड्छन्।
पर्यटन सद्भावना दूतका रूपमा नवीना बस्नेत चिनिएकी छन् भने ऋषि ढकाल (क्यालिफोर्निया) र एसपी शेर्पा (सियाटल)ले अवैतनिक वाणिज्यदूतको चिनारी राखेका छन्। पर्यटन बोर्डले भने जगदीश काफ्ले (टेक्सास) र नीलबहादुर तिलिजा (सियाटल)लाई मात्रै पर्यटन दूत तोकेको बताएको छ।
वासिङ्टनस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलका पालादेखि पार्टी कार्यकर्तालाई अमेरिकामा अवैतनिक वाणिज्यदूत तोक्ने ‘खेती’ फस्टाएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा सिकागोमा बाला घिमिरे र त्यसपछि माओवादी सरकारमा छँदा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको रुचिमा ढकाललाई क्यालिफोर्नियामा अवैतनिक वाणिज्यदूत सिफारिस गरिएको थियो।
दूतहरूको यो सूचीमा अब हार्वर्ड जाने बाटोको क्याम्ब्रिज कुनो पनि जोडिएको छ जहाँ स्थानीय व्यवसायी प्रल्हाद केसी अवैतनिक दूत भएका छन्। टेक्सासबासी पत्रकार रामचन्द्र भट्टका अनुसार उक्त कार्यालय उद्घाटन गर्ने प्रमुख अतिथि बनेका प्रधानमन्त्री ओलीको नाम ताम्रपत्रमा कुँदेर भित्तामा राख्न भ्याइएकै थिएन। त्यसैले तत्कालका लागि कागजको चिर्कटोमा प्रधानमन्त्रीले उद्घाटन गरेको जानकारी लेखेर भित्तोमा टाँसी ‘सम्मान’ दिइएको छ।
प्रधानमन्त्री ओलीकै शब्दमा त्यति बेला ‘यता मनमा पहिरो गएजस्तो भैरहेको छ।’ कवि संगीतस्रोताले वर्षौंअघि कवितामा भनेझैँ–
किरेडाँडाबाट हिँडेर
म काठमाडौं आइपुगेँ कमरेड
अरू त तपसिलका कुरा
शुरूमा तिमीलाई नै हेर्नुछ मैले
साँच्चै,
कस्तो देखिन्छौ हँ तिमी यहाँ?