विपद्मा फसेका १६१ जनाको हेलिकप्टरबाट उद्धार

आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ।

काठमाडौँ– मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १६१ जनाको उद्धार गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। 

प्रतिकूल मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो ।

काभ्रेपलान्चोकमा नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ। प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको बताए। 

शनिबार काठमाडौँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो। बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको उनले बताए। गृह मन्त्रालयको तथ्यांक अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।  

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका छन्।