नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारी चलाउन रोक

चितवन प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

चितवन– स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा उक्त सडकखण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हो। 

“सवारी धनी एवं यात्रु मानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ,” सूचनामा भनिएको छ। 

शुक्रबार काठमाडौँतर्फ जान हिँडेका सवारीसाधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको सूचनामा उल्लेख छ। त्यस्तै, सिञ्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ।

अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासनले अनुरोध गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो। विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।