Friday, February 07, 2025

-->

रुसपछि युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी, युद्धका बीच यी भ्रमणको अर्थ के?

भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाँदैछन्। मोदीको यस भ्रमणले रुसलाई 'चिढ्याउन' सक्ने आलोचना पनि भइरहेको छ।

रुसपछि युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी युद्धका बीच यी भ्रमणको अर्थ के
इटालीमा जी ७ शिखर सम्मेलनका दाैरान मोदी र जेलेन्स्कीबीच भएको भेट

गत महिना मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा गएका थिए। युक्रेनमा रुसी आक्रमणपछि प्रधानमन्त्री मोदीको त्यो पहिलो रुस भ्रमण हो। मस्को पुग्नेबित्तिकै प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भलादमिर पुटिनले एकअर्कालाई अँगालो हाल्दा पश्चिमा मिडियामा यसको चर्को आलोचना पनि भयो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पुटिन र मोदीबीचको अँगालो मन परेन।

जेलेन्स्कीले गत जुलाई ९ मा यसबारे आपत्ति जनाउँदै भनेका थिए, “आज रुसको मिसाइल आक्रमणमा ३७ जनाको मृत्यु भयो, जसमा तीन बालबालिका पनि थिए। रुसले युक्रेनको सबैभन्दा ठूलो बाल अस्पतालमा आक्रमण गरेको छ। यस्तो दिन विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रका नेताले मस्कोमा विश्वकै सबैभन्दा हत्यारा अपराधीलाई अँगालो हाल्नु शान्ति स्थापना प्रयासका लागि ठूलो निराशाको विषय हो।”

यो घटना भएको करिब डेढ महिना भइसकेको छ र अहिले मोदी युक्रेन भ्रमणमा जाँदैछन्।

भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन्। दुवै देशका विदेश मन्त्रालयले यसबारे औपचारिक जानकारी दिइसकेका छन्। भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गरेको ३० वर्षमा यो पहिलो पटक हो।

प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणले रुसलाई असहज बनाउन सक्ने आलोचना पनि भइरहेको छ। तर, कतिपयले राष्ट्रपति पुटिनको चीन भ्रमणबाट भारत पनि सन्तुष्ट नभएको प्रतिक्रिया जनाएका छन्।

 रुस भ्रमणमा रहेका बेला पुटिनसँग अँगालोमा मोदी

युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको समयमा प्रधानमन्त्री मोदीको भ्रमण भइरहेको हो। युक्रेनले रुसका केही क्षेत्र पनि आफ्नो नियन्त्रणमा लिएको छ। रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ।

यस्तो अवस्थामा मोदीको युक्रेन भ्रमणको समयको चर्चा भइरहेको छ र प्रश्न उठिरहेको छ कि परिस्थिति बिग्रिएको बेला प्रधानमन्त्री मोदी किन युक्रेन जान लागेका हुन्?

अन्तर्राष्ट्रिय मामिलाका विज्ञ ब्रह्म चेल्लानीले ट्वीट गर्दै भनेका छन्, “अगस्ट २३ मा युक्रेन भ्रमणमा जानु भनेको खराब समय मात्र होइन, यसको उद्देश्य पनि स्पष्ट छैन।”

रुसमा युक्रेनको पछिल्लो आक्रमणले युद्धविरामको प्रयासलाई धक्का दिएको छ। युक्रेन स्वतन्त्र भएपछि कुनै पनि भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका छैनन्। अहिले पनि युद्धका कारण तनाव बढेका बेला प्रधानमन्त्री मोदीको युक्रेन जानु उचित नहुने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ प्रवीण साहनीले लेखेका छन्, “युक्रेनको डोनबासमा धेरै मोर्चाहरूमा रुसी सेनाको आक्रमण तीव्र भएको छ, यस समयमा मोदीको युक्रेन भ्रमणको उद्देश्य के हो?”

सन् २०२२ को फेब्रुअरीमा रुस–युक्रेन युद्ध शुरू भएयता प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीच दुई पटक भेट भइसकेको छ। मे २०२३ मा मोदी र जेलेन्स्कीबीच जापानमा भेट भएको थियो। यस्तै, जुन २०२४ मा दुवै नेताले इटालीमा भेटेका थिए।

रक्षा विशेषज्ञ ब्रह्मा चेल्लानीले लेखेका छन्, “यति बेला मोदीको युक्रेन भ्रमण निकै खराब साबित हुन सक्छ। युक्रेनमा घुसपैठ गरेपछि रुसले त्यहाँ ठूलो आक्रमणको तयारी गरिरहेको छ। अमेरिकालाई पति युद्धविराममा कुनै चासो छैन।”

भारतीय विदेश मन्त्रालयका सचिव तन्मय लाललाई पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीको रुस भ्रमणपछि पश्चिमी मुलुकबाट भएको आलोचनाका कारण युक्रेनको भ्रमण भइरहेको हो कि भनेर सोधिएको थियो। उनले यस भ्रमणलाई स्वभाविक भ्रमण भनेका छन्।

“भारतको रुस र युक्रेनसँग बलियो र स्वतन्त्र सम्बन्ध छ, जसको आफ्नै अस्तित्व छ। यो एक व्यक्तिको फाइदा र अर्काको नोक्सानको कुरा होइन,” उनले भने, “प्रधानमन्त्री मोदी रुस भ्रमणमा गएका छन्। धेरै विषयमा छलफल भयो। त्यसपछि प्रधानमन्त्रीले जेलेन्स्कीसँग पटक–पटक भेट पनि गरेका छन्। अहिले दुवै नेता युक्रेनमा भेट्दैछन्। जारी संघर्षका बारेमा पनि छलफल हुनेछ।”

रुस–युक्रेन युद्धमा भारतको अडानबारे तन्मय लालले भने, “भारतले एकदमै स्पष्ट अडान राखेको छ। यो विवाद कूटनीति र संवादबाट समाधान गर्न सकिन्छ। यसले दिगो शान्ति ल्याउन सक्छ, त्यसैले वार्ता निकै महत्त्वपूर्ण छ।”

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयले पनि प्रधानमन्त्री मोदीको भ्रमणको जानकारी दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको झण्डा दिवसको अवसरमा अगस्ट २३ मा औपचारिक भ्रमणमा युक्रेनको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ। द्विपक्षीय सम्बन्धको इतिहासमा भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हुनेछ।

भ्रमणका क्रममा द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा छलफल हुनेछ। भारत र युक्रेनबीच धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

–बीबीसी हिन्दीबाट
 


सम्बन्धित सामग्री