काठमाडौँ– स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ। च्याम्पियन्स लिग र ला लिगा विजेता रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
रियललाई कीर्तिमानी छैटौँ पटक सुपर कप जिताउन केलियन एमबाप्पे र फेडेरिको भल्भर्डेले गोल गरे। यसै समरमा फ्रान्सेली क्लब पीएसजीबाट रियलमा अनुबन्ध भएका एमबाप्पेले आफ्नो डेब्यु खेलमै गोल गर्न सफल भएका हुन्।
बिहीबार पोल्यान्डको वार्सामा भएको खेलमा ५९औँ मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई अग्रता दिलाए। ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको जित सुनिश्चित गरे।