पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली चल्दा ट्रम्प घाइते, २ जनाको मृत्यु

ट्रम्पको र्‍याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए। घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए।

तस्वीर: एपी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। शनिबार राति पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो।

सीएनएनका अनुसार घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ। गोली हान्ने व्यक्ति पनि अमेरिकी सेक्रेट सर्भिसको कारबाहीमा मारिएका छन्। 

घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए। उनको अवस्था अहिले सामान्य रहेको सीएनएनले जनाएको छ। ट्रम्पको र्‍याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए। 

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन्।