इजरायलले हमासले बन्दी बनाएका चार जनाको सफलतापूर्वक उद्धार गरिएको जनाएको छ। इजरायली रक्षा बल, इजरायली सुरक्षा एजेन्सी र इजरायली प्रहरीको संयुक्त विज्ञप्तिमा अधिकारीहरूले मध्य गाजा पट्टीमा जारी विशेष अपरेसनका क्रममा चार जनालाई उद्धार गरिएको जनाएका छन्।
“शनिबार बिहान नुसिरातमा संयुक्त आईडीएफ, आईएसए र इजरायल पुलिस (यामाम)को संयुक्त अपरेसनमा हमासले बन्धक बनाएका नोआ अर्गामानी , अल्मोग मीर जान, आन्द्रे कोज्लोभ र स्लोमी जिभ गरी चार इजरायली बन्धकलाई उद्धार गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “उनीहरूलाई नुसिरातको दुई वटा छुट्टै स्थानबाट उद्धार गरिएको हो।” इजरायली अधिकारीहरूका अनुसार उनीहरूलाई हमास लडाकु समूहले अक्टोबर ७ मा ‘नोभा’ संगीत महोत्सवबाट नियन्त्रण लिएर बन्धक बनाएको थियो।
इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सबै बन्धकहरू सुरक्षित रहेको र हाल अस्पतालमा सारिएको बताएको छ। “उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ र थप मेडिकल जाँचका लागि ‘सेबा’ तेल–हासोमर मेडिकल सेन्टरमा सारिएको छ,” मन्त्रालयले भनेको छ।
मृतकको संख्या ३७ हजार ८४ पुग्यो
इजरायल र प्यालेस्टिनीबीच आठ महिनाभन्दा बढी समयदेखि जारी युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ जनाको मृत्यु भएको छ।
हमासद्वारा सञ्चालित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार जनाएअनुसार नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा २७४ जनाको मृत्यु भएको छ। यहाँबाट इजरायली सेनाले चार जना बन्धकलाई जीवित उद्धार गरेका थियो। इजरायली आक्रमणबाट ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।