Wednesday, July 24, 2024

-->

बजेटको मार भान्छामा, कुन–कुन तरकारी र खाद्यान्नमा पर्दैछ प्रभाव?

आगामी वर्षको बजेटमा करका दर हेरफेर हुँदा भान्सामा दैनिक उपभोग्य खाद्यान्न र तरकारी/फलफूलको समेत लागत बढ्ने देखिएको छ। बजेटले दाल उद्योगको कच्चा पदार्थ गेडागुडी/दलहन आयातमा पनि अग्रिम आयकर लगाएको छ।

बजेटको मार भान्छामा कुन–कुन तरकारी र खाद्यान्नमा पर्दैछ प्रभाव

काठमाडौँ– बजेटमा गरिएको राजस्व दर हेरफेरको कारण आगामी आर्थिक वर्षमा उपभोक्ताको भान्छा खर्च बढ्ने देखिएको छ। धान, दाल (कच्चा पदार्थसमेत)को आयातमा अग्रिम आयकर र विषादीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको कारण दैनिक उपभोग्य खाद्यान्न र तरकारी/फलफूलको समेत लागत बढ्ने व्यवसायी बताउँछन्।

बजेटका भन्सार महसुल, अन्तःशुल्क, कृषि सुधार शुल्क र भ्याट, अग्रिम आयकर जेठ १५ बाटै कार्यान्वयन भइसकेको छ। आगामी वर्षको बजेटमा आलु–प्याज र स्याउमा मूल्य अभिवृद्धि कर भ्याट (१३ प्रतिशत) खारेज गरेर १० प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था गरिएको छ। 

यसअघि आलु–प्याज आयातमा प्रतिकिलो १.५ प्रतिशत अग्रिम आयकर, ९ प्रतिशत कृषि सुधार शुल्कका साथै भ्याट लाग्थ्यो। भ्याट खारेज भएपछि आर्थिक विधेयकको नयाँ प्रावधानअनुसार आयातकर्ताले भन्सारमा  १० प्रतिशत अग्रिम आयकर बुझाउन थालेका छन्।

चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल भने नयाँ व्यवस्था लागू भए पनि आयातित आलु–प्याजको मूल्यमा खासै उतार–चढाव नआउने बताउँछन्। “१३ प्रतिशत भ्याट लाग्दा १.५ प्रतिशत अग्रिम कर लाग्थ्यो,” दाहाल भन्छन्, “नयाँ व्यवस्थाअनुसार साढे ८ प्रतिशत अग्रिम कर बढी दिनुपर्छ, भ्याट खारेज भयो, अन्ततः लागत उस्तै–उस्तै हुने हो।” 

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आलु–प्याजमा भ्याट लगाएको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेपछि केही दिन बजारमा अभाव देखिनुका साथै मँहगिएको थियो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु–प्याज र स्याउमा भ्याट लगाउन पुगेका निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले भने आयातकर्तालाई खुशी पार्न भ्याट खारेज गरिएको आरोप लगाउँछन्।

“स्याउ, आलु प्याजमा लागेको भ्याट हटाएर सिधै झूटा कुरा गर्नुभयो स्वदेशी उत्पादन बढ्छ भनेर। भ्याट लगाए पो आयात निरुत्साहित हुन्छ, स्वदेशी उत्पादन बढ्छ,” डा. महत भन्छन्, “व्यापारीसँग सेटिङमा हटाइयो।” 

बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै बुधबार अर्थमन्त्री पुनले प्रतिनिधिसभा बैठकमा भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्रै भ्याट लगाउन प्रशासनिक जटिलताको कारण उक्त व्यवस्था हटाएर अग्रिम आयकर लगाइएको बताएका थिए। “आलु–प्याज र स्याउसहितका तरकारी एवं फलफूलमा भ्याट लगाइएकोमा प्रशासनिक हिसाबले जटिल हुनुका साथै आन्तरिक उत्पादनमा समेत कायम भ्याट हटाई आन्तरिक उत्पादनलाई संरक्षण दिन आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको हो,” पुनले भनेका थिए।

भन्सार विन्दुमै १० प्रतिशत अग्रिम आयकर लिएपछि आयातित वस्तु स्वतः महँगो हुने र आन्तरिक उत्पादनलाई बजार संरक्षित हुने अर्थमन्त्री बताउँछन्। 

पुनको दाबी सही निस्किएमा आन्तरिक उत्पादन संरक्षित भए पनि उपभोक्ताको भान्छा खर्च बढ्ने छ। आलुको घरेलु माग स्वदेशी उत्पादनले धान्ने अनुमान गरिए पनि प्याजका लागि भारतीय उत्पादनमा निर्भर हुनुपर्छ। यसले प्याज महँगो हुन सक्छ। कालीमाटी फलफूल तथा तरकारी बजार समितिको दैनिक मूल्यसूची विवरण अनुसार जेठ १७ गते प्याज सुकेको (भारतीय)को औसत थोक मूल्य प्रतिकेजी ६६ रुपैयाँ रहेकोमा शुक्रबार ७२ रुपैयाँ पुगेको छ।

बजेटले दाल उद्योगको कच्चा पदार्थ गेडागुडी/दलहन आयातमा १० प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था गरेको छ। विशेषगरी शहरी क्षेत्रका भान्छामा पाक्ने दाल आयातमै निर्भर भएकाले महँगी बढाउने देखिएको छ। चालु आर्थिक वर्षको साउन–वैशाखसम्म १३ अर्ब रूपैयाँको दाल/दलहन गेडागुडी आयात भएको भन्सार विभागको तथ्यांक छ।

हाल उद्योगको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल छ। अग्रिम आयकर थपिँदा दाल महँगो हुने चामल, तेल र दाल उद्योग संघका अध्यक्ष कुमुद दुगड बताउँछन्। संघका अनुसार मुलुकभरि सञ्चालित करीब ३५ वटा ठूला दाल उद्योगमा लगभग ३५ अर्बको लगानी छ। अर्कोतर्फ तस्करी फस्टाई स्थानीय उद्योग प्रतिस्पर्धा गर्न नसकी बन्द हुने अवस्था आउनसक्छ। संघले यी वस्तुमा भ्याट खारेजीको माग गरेको छ। 

थपिएको अग्रिम आयकर फिर्ता हुने आशमा व्यापारीहरूले अप्रशोधित दाल बोकेका कन्टेनरहरू  एक सातायता भन्सार कार्यालयहरूमै थन्काएका छन्।

बजेटले धान आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएपछि चामलको मूल्य पनि महँगिने संघका अध्यक्ष दुगडको दाबी छ। मैदा उद्योगले कच्चा पदार्थको रूपमा आयात गर्ने गहुँमा पनि २.५ प्रतिशत आयकर लगाइएको हुदा गहुँबाट बन्ने आँटा, सुजी, चक्की आँटा, चोकर जस्ता खाद्यान्नको मूल्य पनि बढ्ने मैदा उद्योग संघको दाबी छ।

घरेलु प्रयोजनका लागि आन्तरिक उत्पादनले पुग्ने भए पनि उद्योगमा प्रयोग हुने कच्चा पदार्थको रूपमा भने गहुँ आयात गर्नुपर्छ। भन्सारमा अग्रिम आयकरको व्यवस्थाले यी वस्तुको तस्करी बढ्न गई उद्योग नै धराशायी हुनसक्ने जोखिम बढेको व्यवसायी बताउँछन्। अर्थमन्त्री पुनले भने आन्तरिक उत्पादन प्रोत्साहनका लागि आयातित कृषि उपजमा करको दर बढाएको बताएका छन्।

तरकारी, अन्नबाली र फलफूलमा प्रयोग हुने विषादीमा पनि भ्याट लाग्ने व्यवस्था कार्यान्वयनमा आइसकेको छ। यसअघि प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको सिफारिसमा बालीनालीका लागि प्रयोग हुने किटनाशक, ढुसीनासक, झारपातनासक विषादी र कच्चा पदार्थमा एक प्रतिशत भन्सार महसुल लाग्थ्यो। भ्याट छुट थियो। 

विषादीमा नेपाल भारतमै निर्भर रहेको हुँदा यसको मूल्य पनि बढ्ने निश्चित छ। भ्याट लगाएकोमा विरोध जनाउदै विषादी आयात गर्ने व्यवसायीहरूले कृषिमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

अर्थ मन्त्रालयमा भेटिएका जनकपुरका व्यवसायी अरविन्दकुमार साह विषादीको मूल्यमा २५ प्रतिशतसम्म मूल्य बढ्ने बताए। “आयातकर्तासहितका चार वटा च्यानलबाट बल्ल कृषकसम्म पुग्छ, यो जोड्दा किसानहरूलाई २० देखि २५ प्रतिशतसम्म महँगो हुन्छ, यसले किसानको उत्पादन लागत बढाउँछ र उपभोक्तासम्म असर पुग्छ,” साहले भने। 

नेपालले तरकारी, अन्नबाली र फलफूलमा प्रयोग हुने वार्षिक ४ अर्ब रूपैयाँ बराबरको विषादी प्रयोग गर्दै आएको छ। नेपाल बिउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष वसन्त मरहठ्ठा पनि विषादी उत्पादन गर्ने स्वदेशी कम्पनी नभएको अवस्थामा किसानलाई मारमा पार्नेगरी भ्याट लगाइएको बताउँछन्। “विषादीको स्वदेशी कम्पनी नै छैन। नेपालमा भएका दुईतीन वटा फ्याक्ट्रीले पनि रिप्याकिङ मात्र गर्ने हो। त्यसले गर्दा भारत र नेपालको उत्पादन लागतमा फरक पर्ने भयो,” मरहठ्ठा भन्छन्।

अर्का व्यवसायी दुर्गा दाहाल खुला सिमानाबाट नक्कली विषादी भित्रनसक्ने हुँदा किसान नै यसको मारमा पर्ने दाबी गर्छन्। “चार वटा च्यानलबाट किसानसम्म पुग्दा २०/२५ प्रतिशत फरक पर्न जान्छ। त्यसपछि आएर खुला बोर्डर छ, अहिले डाइरेक्ट बोर्डरबाट ल्याइएको हुँदा गुणस्तरीय सामान आइरहेकोछ। भोलि नक्कली सामान बिक्ने सम्भावना ९० प्रतिशत हुन्छ,” दाहाल भन्छन्, यही बोर्डर छेउमा कृषि उत्पादनमा ८०/९० प्रतिशत सब्सिडी छ। अब हाम्रो उत्पादन कति महँगो होला?” 

नेपालमा उत्पादन नै नहुने कृषि औजारमा पनि भ्याट लगाइएको हुँदा यसले प्रविधिको प्रयोगमा किसानलाई निरुत्साहित गरेको उनको भनाइ छ।


सम्बन्धित सामग्री