काठमाडौँ– वैशाख अन्तिम हप्ता देशभर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रिमनसुन शुरू भएपछि यस वर्ष दोस्रो पटक पानी परेको हो। यसअघि चैत पहिलो हप्ता देशका कतिपय स्थानमा वर्षा भए पनि गण्डकी र लुम्बिनी प्रदेशमा भएको थिएन।
जल तथा मौसम विज्ञान विभागका अनुसार इस्वी सम्वत्को मार्चदेखि मेसम्मलाई प्रिमनसुन मानिन्छ। किसानले अन्नबाली लगाउने समय पनि यही हो। यस पटक वैशाख २७ गतेदेखि ३० गतेसम्म परेको पानीले किसानलाई राहात मिलेको छ।
खडेरीका कारण मकै लगाउन र धानको बीउ राख्न नपाएका मध्यपहाडका किसानले अब धमाधम बाली लगाइरहेका छन्। क्लाइमेट एक्सन नेटवर्क दक्षिण एशियाका सदस्य ङमिन्द्र दाहाल अहिलेको वर्षाले झारपात उम्रिन र पालुवा पलाउन सहयोग मिल्ने बताउँछन्।
त्यसैगरी, वर्षाले डढेलोको प्राकृतिक नियन्त्रण भएको छ। डढेलो र आगलागीका घटनाबाट पछिल्लो एक महिनामा २६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत ३० देखि वैशाख ३० गतेसम्म आगलागी तथा डढेलोबाट ८४ जना घाइते भएका छन्।
यद्यपि, मौसम तथा जलवायु क्षेत्रका जानकारहरू डढेलो र आगलागी बढ्नुमा लामो खडेरीलाई मात्र कारण भन्न नमिल्ने बताउँछन्। “चैतको पहिलो हप्ता पानी परेको थियो। त्यसयता भएका आगलागीका घटनालाई लामो खडेरी भन्न मिल्दैन। डढेलो र आगलागी हुनुमा अरू पनि कारण छन्,” क्लाइमेट एक्सन नेटवर्कका दाहाल भन्छन् “हिउँदे वर्षा नभएर एकै पटक चैतमा पानी पर्नु चाहिँ लामो खडेरी थियो।”
यद्यपि, चैतमा देशका सबै ठाउँमा वर्षा भएको थिएन। वर्षा नभएका ठाउँमा डढेलो र आगलागीका घटना धेरै भएका थिए। उदाहरणका लागि चैतको पहिलो हप्ताभन्दा अघि पूर्वीनेपालमा आगलागी र डढेलोका घटना धेरै थिए। तर चैतको वर्षाले पूर्वीनेपालमा यस्ता घटनामा कमी आयो। वर्षा नभएका पश्चिम नेपालका जिल्लामा आगलागीका घटना ह्वात्तै बढे।
डढेलो र अन्य कारणबाट बिग्रिएको वायुको गुणस्तर पनि अहिले भइरहेको वर्षाका कारण सुधार भएको छ। विश्वव्यापी रूपमा हावाको गुणस्तर सूचकांक मापन गर्ने आईक्यू एयरका अनुसार सोमबार काठमाडौँको हावाको गुणस्तर पीएम ७५ छ।
हावाको गुणस्तर पीएम ५० सम्मलाई राम्रो मानिन्छ। अहिले काठमाडौँको हावाको गुणस्तर मध्यम छ र प्रदूषित शहरहरूको सूचीमा २४औँ स्थानमा छ। तर वर्षा हुनुअघि काठमाडौँ प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थान र त्यस आसपास थियो।
कहाँ कति वर्षा भयो?
जल तथा मौसम विज्ञान विभागले वैशाख ३० गते जारी गरेको बुलेटिनअनुसार देशका १५५ वटा वर्षामापन केन्द्रमध्ये १२७ वटामा मापन गरिएको थियो। त्यसमध्ये उदयपुरको सुन्दरपुर केन्द्रमा पछिल्लो २४ घण्टामा १२७.८ मिलिमिटर वर्षा भएको छ। वर्षा मापन गरिएको केन्द्रहरूमध्ये ६ वटामा ५० मिलिमिटरभन्दा बढी र दुई वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रिमनसुनको समयमा वर्षा गराउनमा स्थानीय वायुको भूमिका रहन्छ। तर यस पटकको वर्षाका लागि भने स्थानीय वायुका साथै भारतको विहार तथा उत्तरप्रदेश आसपास विकास भएको न्यून चापीय रेखाको महत्वपूर्ण भूमिका रह्यो।
“प्रिमनसुनमा वर्षा गराउन स्थानीय वायुको पनि भूमिका रहन्छ। अहिले चाहिँ भारतको विहार आसपासमा न्यून चापीय प्रणाली बनेकाले पनि बंगालको खाडीबाट जलवास्पयुक्त हावा आएर बर्वाा भएको हो,” मौसमविद् अधिकारी भन्छन्, “बंगालको खाडीबाट पानी बोकेर हावा पूर्वतिरबाट नेपाल आएको हो। यसले गर्दा वायुमण्डलमा जलवास्पयुक्त हावा भयो। विहारको प्रणालीले वर्षा गराउन राम्रो साथ दिएको छ।”
अधिकारीका अनुसार सोमबारबाट यो प्रणाली कमजोर भएको छ। यद्यपि, स्थानीय वायुले वर्षा बनाउने बादलको विकास गराउँछ र यो क्रम अझै एक महिना रहन्छ।
जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक ऋषिराम शर्मा प्रिमनसुनको लक्षण नै मुसलधारे पानी पर्ने र केही बेरमै घाम लाग्ने भएको बताउँछन्। उनका अनुसार एक पटक पानी परेपछि स्थानीय वायु विकसित हुन्छ र त्यसले पनि विभिन्न ठाउँमा पानी पार्न मद्दत गर्छ।