काठमाडौँ– जुन १३ अर्थात् जेठ ३१ गतेलाई नेपालमा मनसुन शुरू हुने दिन मानिन्छ। तर यस वर्ष एक हप्ताअघि नै मनसुन भित्रिने भएको छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कंडेलका अनुसार ३० वर्षको आधारमा जुन १३ लाई मनसुन शुरू हुने दिन मानिए पनि ठ्याक्कै त्यही दिनमै भित्रिन्छ भन्ने हुँदैन। उनी भन्छिन्, “कुनै वर्ष ४/५ दिन छिटो शुरू हुन्छ। कुनै वर्ष ढिलो शुरू हुने गरेको छ।”
यस वर्ष भारतको केरलाबाट मनसुन शुरू भइसकेको छ। भारतको जल तथा मौसम विज्ञान विभागले मे २९ (जेठ १६) मा केरलाबाट मनसुन शुरू भएको घोषणा गरेको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट शुरू भएको मनसुन भारत प्रवेश गरेको एक हप्तादेखि १० दिनभित्र नेपाल भित्रिन्छ।
महाशाखाका मौसमविद् सन्तोष पुडासैनी यसपटक मनसुन एक हप्तामा नेपाल आइपुग्ने अनुमान गर्छन्। उनी भन्छन्, “यद्यपि, जल तथा मौसम विज्ञान विभागले अहिलेसम्म मनसुन भित्रिने दिनबारे औपचारिक घोषणा गरेको छैन। हामीले विभिन्न मोडेलको अध्ययन गरिरहेका छौँ। मनसुन भित्रिने दिन अब छिट्टै घोषणा गर्छौं।”
भारतको मौसम विज्ञान विभाग (आईएमडी)ले अबको तीन दिनभित्र मनसुन केरलासहित तमिलनाडु, असाम, कर्नाटकलगायत राज्यमा फैलिने जानकारी दिएको छ। अत्यधिक गर्मीका कारण प्रभावित जनजीवन मनसुन भित्रिएसँग सहज बन्ने छ।
आईएमडीको प्रक्षेपणअनुसार पूर्वी भागबाट अबको पाँचदेखि ६ दिनमा मनसुन नेपाल पस्नेछ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेल पूर्वी नेपालबाट भित्रिने मनसुन एक हप्ताभित्रमा काठमाडौँ आइपुग्ने बताउँछन्। “पूर्वबाट फैलिएको मनसुन पश्चिमसम्म पुग्न १५/२० दिन लाग्न सक्छ,” पोखरेल भन्छन्, “गत वर्ष पनि धेरै समय लगाएर मात्र मनसुन पश्चिम नेपालमा फैलिएको थियो। पूर्वबाट भित्रिनासाथ देशभरि एकैपटक फैलिँदैन।”
सामान्यतः मनसुनको समयमा पूर्वबाट पश्चिमतर्फ बहने जलवाष्पयुक्त हावाले नेपालमा पानी पार्छ। हावा सधैँ ‘हाई प्रेसर’बाट ‘लो प्रेसर’तर्फ बहन्छ। अत्यधिक गर्मीका कारण भूसतहको हावा वायुमण्डमा जाँदा उक्त ठाउँमा लो प्रेसर उत्पन्न हुन्छ। लो प्रेसरमा चिसो हावाले ठाउँ लिँदा वर्षा हुन्छ।
किन छिटो भित्रिँदैछ मनसुन?
प्रशान्त महासागरको लालिनाका कारण औसत मितिभन्दा करिब एक हप्ताअघि मनसुन भित्रिने स्थिति बनेको सहप्राध्यापक डा. पोखरेल बताउँछन्। यसमा केही दिनअघि बंगालको खाडीबाट उठेको रेमल चक्रवातको भूमिका पनि रहेको उनले बताए।
लालिनाको अवस्था भन्नाले जमिनको भन्दा प्रशान्त महासागरको तापक्रम कम हुनु हो। अत्यधिक गर्मीका कारण जमिन तातेर ‘लो प्रेसर’ हुँदा चिसो हावा जमिनतर्फ बहन्छ र त्यसले पानी पार्छ। केही दिनदेखि भारत र पाकिस्तानका विभिन्न ठाउँमा बढेको अत्यधिक गर्मीले पनि लो प्रेसरको अवस्था सिर्जना गर्न भूमिका खेलेको पोखरेल बताउँछन्।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद कंडेलका अनुसार जमिन जति छिटो र जति बढी तात्यो मनसुन उति छिटो आउने सम्भावना हुन्छ। “जमिन छिटो र धेरै तात्दा त्यहाँको सिस्टमलाई तान्छ। अन्य सहायक सिस्टम पनि विकास भइरहेको हुन्छ। त्यसरी घुमिरहने मौसमी सिस्टमले पनि मनसुनलाई छिटो वा ढिलो गराउन मद्दत गर्छ,” उनी भन्छिन्।
‘जेट स्ट्रिम’का कारण पनि वर्षा
वर्षा गराउने अर्को प्रणाली ‘जेट स्ट्रिम’ हो। कहिलेकाहीँ वायुमण्डलमा शक्तिशाली हावाको प्रणाली विकास हुन्छ, जसलाई जेट स्ट्रिम भनिन्छ। सामान्यतः जमिनको सतहदेखि नौ किलोमिटरमाथि अर्थात् ३० हजार फिटको आसपासमा यो प्रणाली विकास हुन्छ।
शक्तिशाली हावाको यो प्रणाली जमिनको सतह नजिक र दक्षिणतर्फ आउँदा यसले अरबियन सागर र बंगालको खाडीको प्रणालीलाई आफूतिर खिचेर सक्रिय बनाउँछ। जसले गर्दा ठूलो वर्षा हुन्छ। यस्तो प्रणाली विकास हुँदा देशभरि एकैसाथ वर्षा हुने वरिष्ठ मौसमविद् कंडेल बताउँछिन्।
जेट स्ट्रिम कतिसम्म शक्तिशाली हुन्छ भने, त्यसले उडिरहेको जहाजको सन्तुलनलाई नै बिगारिदिन्छ। गत जेठ ८ गते लन्डनबाट सिंगापुरतर्फ उडेको सिंगापुर एयरलायन्सको जहाज जेट स्ट्रिममा परेर अनियन्त्रित भएको थियो। ३९ हजार फिटमा उडिरहेको जहाज केही सेकेण्डसम्म अनियन्त्रित भएर तल खस्दा एक जनाको मृत्यु भएको थियो भने ८० यात्रु घाइते भएका थिए।