मानवीय गतिविधिका कारण वायुमण्डलमा हरितगृह ग्यास (ग्रिनहाउस ग्यास) को मात्रा बढ्दै गएको छ। वायुमण्डलमा खराब ग्यास बढ्नुको खास कारण मानवीय गतिविधि हो। मानवीय सुखसुविधाका लागि अत्यधिक इन्धन प्रयोग गर्दै उद्योगधन्दा चलाउँछौँ। ती उद्योगबाट आधारभूत आवश्यकताका वस्तुसँगै मानवीय सुखसुविधा र विलासिताका उत्पादन भइरहेका हुन्छन्। यात्राका लागि सवारीसाधन चलाउँछौँ। यी सबै क्रियाकलाप बढ्दै जाँदा वायुमण्डलमा कार्बन डाइअक्साइड र मिथेनलगायतका ग्यास बढ्छन्। त्यसले पृथ्वीलाई झनै तातो बनाउँछ, बनाउँदै लगेको छ।
पछिल्लो समय अन्य कारणसँगै कृषि तथा 'पशुकृषि'का कारण पनि मिथेनलगायतका ग्यास उत्सर्जन बढेको देखिन्छ। सोही कारण कतिपयले पशुजन्य भोजनका साटो वनस्पतिजन्य भोजन बढी दिगो हुन्छ भन्दै बहस पनि चलाएका छन्।
जलवायु परिवर्तनमा धनी देशहरूकै योगदान बढी छ। पछिल्लो पटक जलवायुमैत्री प्रविधि उपयोग गरेर उनीहरूले त्यो दर घटाउन थालेका छन्। उनीहरू अहिले कार्बन उत्सर्जनको दर घटाउने क्रममा भए पनि उनीहरूकै कारण सिर्जित पहिलेका असर अझै बाँकी छ, बढ्दो छ। पछिल्लो समय तीव्रस्तरमा विकसित हुँदै गरेका भारत र चीनजस्ता देश कार्बन उत्सर्जन गर्नेमा विश्वमै शीर्षमा पर्छन्। त्यसो हुनाले ती देशमा कलकारखाना बढी छन्। सफा ऊर्जाको सट्टा परम्परागत ऊर्जा नै बढी प्रयोग गरेका कारण पनि ती देशले बढी कार्बन उत्सर्जन गरेका हुन्।
पृथ्वी त एउटै छ
राजनीतिको जस्तो जलवायुको कुनै सीमारेखा हुँदैन। पृथ्वी आखिर सबै प्राणी र वनस्पतिको साझा घर भएकाले जोसुकैले वायुमण्डलमा कार्बन उत्सर्जन गरे पनि मार सबैले झेल्नुपर्छ। फलानोले गरेको योगदानको परिणाम उसले मात्रै भोग्नुपर्ने भन्ने हुँदैन। किनभने वायुमण्डल हाम्रो साझा हो। जलवायुको यही प्रकृतिलाई बुझेर नै 'क्लाइमेट नेगोसिएसन'समेत हुने गरेको छ। बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रले कम उत्सर्जन गर्ने राष्ट्रलाई कोषको व्यवस्था गर्न बेलाबेला पहलकदमी पनि लिइने गरेको छ। त्यसका लागि ग्रिन क्लाइमेट फन्ड्स (जीसीएफ), क्लाइमेट इन्भेस्टमेन्ट फन्ड्स (सीईएफ) लगायत कोष स्थापना भएका छन्।
विकसित देशले कम विकसित देशलाई क्षतिपूर्ति दिनुपर्छ, ‘हामीमाथि परेको अतिरिक्त भार झेल्न सक्दैनौँ र त्यसै पनि जलवायु परिवर्तनमा हाम्रो योगदान कम छ’ भनेर त्यस्तो कोषको माग कम विकसित देशले गर्छन्। त्यस्ता कोषबाट केही राहत मिले पनि क्षतिका आधारमा राहत एकदमै न्यून हुने गरेको छ।
जलवायु परिवर्तनका असर पछिल्लो समय टड्कारो देखिँदै गर्दा यसका असर घटाउनु पर्छ भनेर वैज्ञानिक, अभियन्ता र सचेत राजनीतिज्ञ लागेका छन्। कतिपय देश एकदमै तीव्र रूपमा जलवायु परिवर्तनको असर घटाउन सफा ऊर्जाको प्रयोगतिर मोडिएका छन् भने कतिपय देशले यसमा आनाकानी गर्दै आएका छन्। भारत र चीनले पनि जलवायु परिवर्तनका असर कम गर्ने गरी तयार पारिएका कतिपय सन्धिमा हस्ताक्षर गर्न मानेका छैनन्। तर के कुरा सत्य हो भने जलवायु परिवर्तनको विषय विश्वका सबै नागरिकको साझा मुद्दा हो।
जलवायु परिवर्तनले के गर्छ?
अहिलेकै स्तरमा जलवायु परिवर्तन जारी रहे स्थिति भयावह हुन्छ भन्ने वैज्ञानिकहरू पनि छन्। यसलाई 'षड्यन्त्र सिद्धान्त' मान्ने कतिपय व्यक्ति तथा राजनीतिज्ञ पनि छँदै छन्। तर अहिलेका संकेत सुखद छैनन्। नेपालको सन्दर्भमा हामीसँग लामो समययताको तथ्यांक छैन, तर पनि विश्वका अन्य भूभागमा झैँ यहाँको तापमान पनि बढेकै छ। नेपालको सन्दर्भमा तापक्रम बढ्ने दर पहाडी र हिमाली भेगमा बढी देखिन्छ। तर ख्याल गर्नुपर्ने कुरा के छ भने तापक्रम मापन गर्ने केन्द्र हामीकहाँ एकदमै कम छ। जति केन्द्र छन्, तिनबाट मापन गर्दा तराईको तुलनामा पहाड र हिमालमा तापक्रम धेरै नै बढेको देखिन्छ। जैविक विविधताका हिसाबले समेत यसले राम्रो संकेत गर्दैन।
तापक्रम बढेर के फरक पर्छ?
तापक्रम बढ्नेबित्तिकै मानवसहित सबै जीव र वनस्पतिमा असर पर्छ। एक किसिमको जलवायुमा हाम्रो शरीर पहिले अनुकूलित भइरहेको हुन्छ। जलवायु परिवर्तन हुँदै गर्दा शरीरलाई त्यो तापक्रम थेग्न/सहन गाह्रो हुन्छ। तापक्रम वृद्धिकै कारण पछिल्ला दिनमा मान्छेको मृत्यु भएका खबर पनि आएका छन्। पहिलो त तापक्रमले स्वास्थ्यमा सिधा असर पार्छ। तापक्रम वृद्धिले मान्छेमा चिडचिडाहटलगायत अनेकन् समस्या देखा पर्छन्। तापको असर घटाउन हामीले पंखा किनौँला, घरमा एयर कन्डिसन राखौँला या चिसो पेय पदार्थ पिउँला। तर त्यसले पनि आर्थिक भार बढ्छ। आर्थिक भार बढ्नेबित्तिकै त्यसले तनाव बढाउला। किनकि आर्थिक भार बढ्नुका पनि बहुआयामिक असर हुन्छन्।
अर्कोचाहिँ, हाम्रो जैविक विविधतामा तापमान वृद्धिका असर देखा पर्छ। अहिले उच्च पहाडी र हिमाली भेगमा पनि पहिले नदेखिएका रूखबिरुवाका प्रजाति देखिन थालेका समाचार आएका छन्। जैविक 'स्नो लाइन' (हिमतह) माथिमाथि सर्दै गइरहेको छ। हाम्रा हिमनदी जो तलसम्म थिए, ती पग्लिएर छोटाछोटा भएका छन्। हिमनदी हाम्रा धेरै नदीका उद्गमस्थल हुन्। त्यहाँबाट बिस्तारै पानी बग्दै आउँदा सुख्खा याममा पनि खोला र नदीमा पानी रहिरहन्छ। ती हिमनदी यही दरले तात्दै जाने हो भने नदीमा अहिले भएको पानीको उपलब्धता कम हुन जानेछ। पृथ्वीको तापक्रम बढ्दै जाँदा 'ग्राउन्ड रिचार्ज'मा पनि समस्या निम्तिँदै छ।
केही पहिले जोमसोमतिर पुग्दा स्थानीयले पहिलेजस्तो हिउँ नपर्ने र पर्दा पनि थोरै पर्ने बताएका थिए। हिउँ पर्दा गहुँ र स्याउखेती राम्रो हुने तर आजकल खेती राम्रो हुन छाडेको उनीहरूको भनाइ थियो।
पृथ्वीको तापक्रम बढेसँगै भाइरसको प्रकोप बढ्ने पछिल्ला कतिपय अध्ययनले संकेत गरेका छन्, तर नेपालमा यसबारे गम्भीर अध्ययन भएको पाएको छैन। कोभिड महामारीका बेलामा पनि कतै सो महामारी जलवायु परिवर्तनकै असर हो कि भन्दै केही अध्ययन गरिए। नेपालमा भएका अध्ययनले चाहिँ तापक्रम वृद्धिकै कारण ‘भेक्टर बोर्न डिजिज’ (लामखुट्टेलगायतले सार्न सक्ने रोगहरू) बढेको देखाएको छ। पहिले कहिल्यै लामखुट्टे नदेखिएको भेगमा पनि लामखुट्टे पुगेको, डेंगी र मलेरियालगायतका रोग देखिन थालेको अध्ययनले देखायो।
के गर्ने?
तापमान वृद्धि विश्वव्यापी समस्या भएकाले विश्वव्यापी प्रयत्न र समन्वयमा मात्र यो संकट हल गर्न सकिन्छ। वैश्विक र क्षेत्रीयसँगै देशहरूले पनि यसमा आ–आफ्ना ठाउँबाट प्रयत्न गर्नुपर्छ। तर हामी सबैको साझा प्रयास ती मञ्च र संस्थामा झल्कने हुन्। कार्बन उत्सर्जनमा हाम्रा प्रयत्न त छँदैछ, त्यसका असर घटाउन रूखबिरुवा रोप्नु पनि आवश्यक छ। यी कार्यहरू व्यक्तिगत र सामुदायिक रूपमा पनि गर्न सकिन्छ। गर्न आवश्यक पनि छ।
(जल तथा मौसम विज्ञान विभाग बबरमहल, काठमाडौँमा कार्यरत सिनियर डिभिजनल मेटेरियोलोजिस्ट कडेलसँगको कुराकानीमा आधारित।)