Friday, May 03, 2024

-->

जलवायु र मौसमी प्रकोपबाट एशिया सबैभन्दा बढी प्रभावित: राष्ट्रसंघ

एशियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएको उल्लेख छ। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए।

जलवायु र मौसमी प्रकोपबाट एशिया सबैभन्दा बढी प्रभावित राष्ट्रसंघ
तस्वीर: डब्ल्यूएमओ

सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एशिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको छ। एशियामा बाढी र आँधी मानवीय तथा आर्थिक क्षतिको प्रमुख कारण भएको संयुक्त राष्ट्रसंघले बताएको छ। 

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ। राष्ट्रसंघको मौसम तथा जलवायु एजेन्सी (डब्ल्यूएमओ) ले एशियामा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ। संगठनले एशियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुने र पग्लिँदै गरेको हिमनदीबाट जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ। 

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्यूएमओले एशियामा विश्वव्यापी औसतको तुलनामा तीव्र रूपमा तापक्रम बढिरहेको बताएको छ। 

“प्रतिवेदनको निष्कर्ष गम्भीर छ। यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्,” डब्ल्यूएमओका प्रमुख सेलेस्टे साउलोले भने, “जलवायु परिवर्तनले यस्ता घटनाको आवृत्ति र गम्भीरतालाई बढाएको छ। यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्ण रूपमा मानव जीवन र हामी बस्ने  वातावरणमाथि गहिरो प्रभाव पारेको छ।”

एशियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकको तीव्र गतिमाथि प्रकाश पारिएको छ। 

“सन् २०२३ मा एशिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ,” डब्ल्यूएमओले भनेको छ। सन् २०२३ मा एशियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो। यो सन् १९९१–२०२० को औसतभन्दा ०.९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा १.८७ डिग्री सेल्सियसले अधिक थियो। 

पश्चिमी साइबेरियादेखि मध्य एशिया र पूर्वी चीनदेखि जापानसम्म विशेष रूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दू कुश पर्वत शृंखलामा वर्षा सामान्यभन्दा कम भएको थियो। 

यसैबीच गत वर्ष दक्षिण पश्चिम चीनले खडेरीको सामना गर्नुपर्‍यो। वर्षको करिब प्रत्येक महिनामा यहाँ वर्षाको स्तर सामान्यभन्दा कम रह्यो। तिब्बती पठारमा केन्द्रित हाई–माउन्टेन एशिया क्षेत्र अर्थात ध्रुवीय क्षेत्रबाहिर बरफको सबैभन्दा ठूलो मात्रा विद्यमान छ। 

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदी पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेकोसमेत जनाइएको छ। यस क्षेत्रका निरीक्षण गरिएका २२ वटा हिमनदीमध्ये २० वटामा गत वर्ष लगातार सामूहिक रूपमा क्षति भइरहेको छ। 

सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा उल्लेख छ। 

पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन्। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए। यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्राकृतिक प्रकोपका घटनामा एशियाको संवेदनशीलतालाई लगातार उच्च जोखिममा राख्दै डब्ल्यूएमओले भनेको छ, “सन् २०२३ मा रिपोर्ट गरिएका घटनामा मृत्युको प्रमुख कारण बाढी थियो।”

हङकङमा सेप्टेम्बर ७ मा एक घण्टामा १५८.१ एक मिलिमिटर वर्षा रेकर्ड गरियो। आँधीको परिणामस्वरूप सन् १८८४ मा रेकर्ड राख्न शुरू भएयता यो सबैभन्दा उच्च थियो। 

डब्ल्यूएमओले विपद् जोखिम न्यूनीकरणमा काम गरिरहेका अधिकारीलाई अनुकूल जानकारी सुधार गर्नका लागि यस क्षेत्रभर राष्ट्रिय मौसम सेवाको तत्काल आवश्यकता रहेको बताएको छ। 

“हाम्रो कार्य र रणनीतिहरूले यो समयको जरुरीतालाई प्रतिबिम्बित गर्न आवश्यक छ,” डब्ल्यूएमओका प्रमुख साउलोले भने, “हरित गृह ग्यास उत्सर्जन घटाउनु र विकसित जलवायुमा अनुकूलन गर्नुको विकल्प नभए पनि आधारभूत आवश्यकता हो।”


सम्बन्धित सामग्री