Saturday, May 04, 2024

-->

दैलेखमा बँदेलको आक्रमणबाट गहुँ काटिरहेका ७ जना घाइते

मंगलबार भैरवी गाउँपालिका–६ कुसापानीमा एउटा बँदेलले आक्रमण गरेर गहुँ काटिरहेका सात जनालाई घाइते बनाएको छ।

दैलेखमा बँदेलको आक्रमणबाट गहुँ काटिरहेका ७ जना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ। मंगलबार भैरवी गाउँपालिका–६ कुसापानीमा एउटा बँदेलले आक्रमण गरेर गहुँ काटिरहेका सात जनालाई घाइते बनाएको छ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका-६ का वडाध्यक्ष तुलबहादुर हमालले बताए।

बँदेलको टोकाइबाट भैरवी गाउँपालिका-६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन्।

घाइते सबैलाई लखेट्दै बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पानीपोखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिए। घाइते सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ।

घाइतेमध्ये गणेश सलामीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सदरमुकाम ल्याइएको वडा अध्यक्ष हमालले बताए। गएको फागुनमा भैरवी गाउँपालिका-६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको साप्रो र हातको औँला टोकेर अपांग भएकी छन्।


सम्बन्धित सामग्री