Friday, May 03, 2024

-->

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको छ।

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच शीतलनिवासमा भेटवार्ता
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति भवन शीतलनिवासमा द्विपक्षीय भेटवार्ता शुरू भएको छ। उनीहरूबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।


कतारका अमिर थानीलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए।  राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर थानी नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाटै कतारका अमिर शीतल निवास पुगेका हुन्।  


भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोतमन्त्री शक्ति बस्नेत, परराष्ट्रसचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको पनि सहभागिता छ। 


यसअघि मंगलबार अपराह्न राष्ट्रपति पौडेलले कतारका अमिर थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। उनको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरू पनि विमानस्थलमा पुगेका थिए।


अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोजको आयोजना गर्दै छन्। अमिर थानी र प्रधानमन्त्री दाहालबीच बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। अमिर थानीको यो पहिलो नेपाल भ्रमण हो। उनको नेपाल भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।


सम्बन्धित सामग्री