Tuesday, May 28, 2024

-->

माथिल्लो अरुण र दूधकोशी आयोजनाको सुरुङ टीबीएमले खन्ने प्राधिकरणको तयारी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका २ आयोजनाको सुरुङ टीबीएममार्फत खन्दा समय बचत र काम गुणस्तरीय देखिएकाले ठूला सुरुङ भएका २ जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउने तयारी गरिएको बताए।

माथिल्लो अरुण र दूधकोशी आयोजनाको सुरुङ टीबीएमले खन्ने प्राधिकरणको तयारी

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने तयारी गरेको छ।

टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको हो। 

अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ। दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ। निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिक लि.का प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशी, दूधकाशी जलविद्युत कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टीबीएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ।

टोलीले टीबीएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नु परेका समस्या तथा चुनौती, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका दुई वटा आयोजनाको सुरुङ टीबीएममार्फत खन्दा समय बचत र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजना प्रयोगमा ल्याउन लागिएको बताए।

घिसिङले माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अब निर्माणका लागि टेन्डर आह्वान गर्न लागिएको बताए। भेरी बबई र सुनकोशी मरिणमा टीबीएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेन्डर कागजात तयार गरिने उनको भनाइ छ।

“सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टीबीएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ, माथिल्लो अरुणमा टीबीएम पुर्‍याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पुर्‍याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टीबीएम नै प्रयोगमा ल्याइने छ,” घिसिङले भने, “एकपल्टको लगानीका हिसाबले केही महँगो देखिए तापनि टीबीएममार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नु नपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्दा, निर्माणमा लाग्ने कम समयलगायतलाई हिसाब गर्दा टिबिएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ।”

टीबीएमको प्रयोगमार्फत सुरुङ निर्माण छिट्टो सकिने तर अन्य संरचना नसकिने अवस्था आउन नदिन शुरूमै आयोजनाको समग्र व्यवस्थापन गरिनुपर्ने उनले उल्लेख गरे।

मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नु पर्ने दुई वटा प्रवेश (एडिट) सुरुङको लम्बाइ ५ किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ। टीबीएमबाट खन्दा एडिट सुरुङ बनाउनु पर्दैन। एडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन।

माथिल्लो अरुण विश्व बैंक र दूधकोशी एशियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ। सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायतसहित एक अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ। विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र  स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ।

दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ। यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।

एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ। यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ।


सम्बन्धित सामग्री