Saturday, May 04, 2024

-->

रुपन्देहीका ९ गाउँमा आगलागी, ४० घर जले

पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। गहुँको नलबाट शुरू भएको आगो बतासका कारण फैलिएको थियो।

रुपन्देहीका ९ गाउँमा आगलागी ४० घर जले

भैरहवा– तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। 

रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए। गहुँको नलबाट शुरू भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ।

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेको तथा ३९ वटा बाख्रा मरेको उनले बताए। प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले शनिबार साँझ आगो निभाएको थियो। 

आगलागीको घटना जिल्लाभरि नै भएको प्रवक्ता भट्ट बताउँछन्। गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ। वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो। उक्त गोठमा रहेका नौ बाख्रासहित तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेको थियो। यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए। 


सम्बन्धित सामग्री