Tuesday, May 21, 2024

-->

डोल्पामा १२० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजाअनुसार डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० रहेको देखिएको छ।

डोल्पामा १२० हिउँ चितुवा
तस्वीर : animalia.bio

काठमाडौँ– हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय संख्या रहेको देखिएको छ। विसं २०८० को वैशाखदेखि भदौसम्म सञ्चालित व्यवस्थित क्यामेरा ट्याप सर्वेक्षणले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या यकिन गरेको छ।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ। यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको यकिन हुन गएको छ।

यसैगरी, चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो। यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो।

यसर्थ डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० हुन गएको छ। जुन संख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ। हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो। 

यो प्रजाति आफ्नो वासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। ठूलो र दुर्गम भौगोलिक क्षेत्रको वासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ।

नेपालमा हिउँ चितुवाको वासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ। यी क्षेत्रहरू वासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्त्वपूर्ण छन्। 

पूर्वी डोल्पा नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुन्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँ चितुवाको संख्यालाई जोडेको छ। यस महत्त्वलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यो महत्त्वपूर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

हिउँ चितुवा विश्वमा नै एशियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा चार हजारदेखि ६ हजार पाँच सयको संख्यामा रहेको अनुमान गरिएको छ। हिउँ चितुवाका लागि नेपाल चौथो राष्ट्रमा पर्दछ र जहाँ तीन सयदेखि चार सय संख्यामा हिउँ चितुवा पाइने विश्वास गरिएको छ। यस हिसाबले हिउँ चितुवा अवलोकनका लागि विश्वमा नेपाल र नेपालमा डोल्पा एक प्रमुख गन्तव्य स्थापित छ।

डिभिजन वन कार्यालय डोल्पाको कार्यक्षेत्रभित्र गरिएको यस सर्वेक्षणले छार्का ताङसोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्जबाहिर रहेका क्षेत्र मात्र समेटेको थियो। हिमाली भूभागमा पर्ने करिब दुई हजार वर्गकिलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको थियो।

यो अध्ययनमा ३३ जना नागरिक वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीन जना विद्यार्थी र दुई जना डब्लूडब्लूएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताहरू सामेल थिए।

वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्व अनि डब्लूडब्लूएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पादित यस सर्वेक्षणका लागि ६६ ठाउँमा ‘क्यामेरा ट्र्याप’हरू जडान गरिएका थिए।

यो सर्वेक्षणले पहिलोपटक संरक्षित क्षेत्रबाहिर बाक्लो संख्यामा हिउँ चितुवा रहेको बलियो प्रमाण मात्र देखाएको छैन, नेपालमा हिउँ चितुवाको संख्या बुझ्न पनि सघाएको छ। यस सर्वेक्षणले संरक्षित क्षेत्रबाहिर पनि प्रभावकारी संरक्षणका प्रयासहरूको आवश्यकता रहेको पुष्टि पनि गरेको वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताए।

“हामी यस उपलब्धिमा डिभिजन वन कार्यालय डोल्पालाई बधाई दिन्छौँ। यससँगै अनुसन्धानमा खटिने वन्यजन्तु अनुसन्धानकर्ताहरू, नागरिक वैज्ञानिकहरू, स्थानीय आदिवासी समुदायहरू र डब्लूडब्लूएफ नेपालका साथमा काम गर्न पाउँदा हामी निकै खुशी छौँ,” उनले भने।

डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षण गर्नमा विभिन्न प्रयास भइराखेको उल्लेख गर्दै नेपाल सरकारलाई सहयोग गर्न र हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा थप जिम्मेवार हुन प्रेरित गरेको बताए। उनले हिउँ चितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लूडब्लूएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयासलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी दिनहरूमा मानव–हिउँ चितुवा द्वन्द्व न्यूनीकरणका लागि पशु बीमा तथा राहत व्यवस्था र घरपालुवा पशुचौपायाको चरिचरन क्षेत्र  व्यवस्थापन आवश्यक देखिएको छ। साथै हिउँ चितुवा संरक्षण तथा पर्या–पर्यटन प्रवर्द्धन र जडीबुटी उत्पादन क्षेत्रका रूपमा पनि विकास गर्न दिगो, वैज्ञानिक र एकीकृत व्यवस्थापनतर्फ सबैको साझा पहल, प्रयास र अभ्यास हुने अपेक्षा गरिएको छ।


सम्बन्धित सामग्री