Monday, April 29, 2024

-->

पर्यटकको पर्खाइमा बागलुङको मुठाचौर

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन्। बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन्। यहाँबाट मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृंखला नियाल्न सकिन्छ।

पर्यटकको पर्खाइमा बागलुङको मुठाचौर

ढोरपाटन– वरपर घना जंगल। बीचमा समथर भूभाग। कतै आलु त कतै सिमी लगाइएका बारी। बारीभरि भर्खरै अंकुराएका आलुबारी। आलुबारी छेउमै काठ, ढुंगा र माटोले बनेका चिटिक्कका मौलिक घर। यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ। यो मुठाचौरको विशेषता हो। 

तमानखोला गाउँपालिका–२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो। पर्यटकीय क्षेत्र बराहताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ। गाउँपालिकाको केन्द्र बोंगादोभानदेखि भयरबोंगा कटेरी हुँदै मुठाचौर मोटरबाटो जोडिएको हो।

प्रशस्त खेतीयोग्य जमिन रहेकोले वर्षौंदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ। कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको मौसममा मुठाचौरमा गोठ लगेर बस्छन्। १०० घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटो जोडिएपछि अन्य विकासका सम्भावना खुलेको स्थानीय ओम पुनले बताए।  

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन्। बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला नियाल्न सकिन्छ। यहाँ बेलाबखत आन्तरिक पर्यटक पुग्ने गर्छन्। अघिल्लो वर्षसम्म फाट्टफुट्ट पर्यटक आउने गरेकामा सडक जोडिएपछि पर्यटकको संख्या बढेको छ। सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ।

एक वर्ष अगाडिमात्रै सडक पुगे पनि विद्युत् र खानेपानीको समस्या उस्तै छ। स्थानीयवासी बर्खाको मौसममा यहाँ दियालो र टुकीका भरमा बस्ने गर्छन्। मुठाचौरभन्दा केही तलको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुगेको छैन। चाँडै विद्युत् र खानेपानीको सुविधा पुग्ने आशामा रहेको पुनको भनाइ छ। 

अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएकाले थप विकासका पूर्वधार जोड्नसके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उनी बताउँछन्। 

“वातावरणका हिसाबले यो ठाउँ निकै शान्त छ। हावापानी पनि स्वच्छ छ। अहिलेसम्म मुठाचौरलाई चरिचरन र खेतीपातीका रूपमा प्रयोग गर्दै आइएको छ,” पुनले भने, “अब यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने देखिन्छ। यति सुन्दर ठाउँ अहिलेसम्म विकासका हिसाबले निकै पछाडि परेको छ।”

असारदेखि वरपरका गाउँले मुठाचौरमा गोठ लैजान शुरू गर्छन्। असोज कात्तिक लाग्नसाथ गाउँ झर्ने गर्छन्। मुठाचौरमा बस्ने समयमा उनीहरू पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्छन्। सडक पुगेपछि मुठाचौरमा उत्पादित आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताइन्। 

सडकका कारण पर्यटक बढ्न थालेको उनको भनाइ छ। हरेक नयाँ वर्षमा मुठाचौर छेउमै रहेको बराह तालमा मेला लाग्ने गर्छ। यस वर्ष अहिलेसम्मकै धेरै पर्यटक यहाँ आएको रसाइलीको भनाइ छ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताए। 

बराह ताललाई पर्यटनको केन्द्र बनाई मुठाचौरमा घरबास सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।


सम्बन्धित सामग्री