Thursday, April 25, 2024

-->

टेरामक्स खरिद प्रकरणमा बयान सकियो, केही समयभित्रै नतिजा आउँछ : अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही समयभित्रै नतिजा आउने बताएका छन्।

टेरामक्स खरिद प्रकरणमा बयान सकियो केही समयभित्रै नतिजा आउँछ  अख्तियार प्रमुख

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद घोटाला प्रकरणमा बयान लिने काम सकिएको बताएका छन्। 

मंगलबार संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले टेरामक्स खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही समयभित्रै नतिजा आउने बताएका हुन्।

सो प्रकरणमा मुछिएका हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग आयोगले बयान लिएको छ। प्रमुख आयुक्त राईले सो प्रकरणको तथ्य र प्रमाणलाई केलाउने काम भइरहेकाले केही समयभित्रै परिणाम आउने समितिलाई जानकारी गराए।

“टेरामक्स भन्ने अर्को सूचना प्रविधिसँग सम्बन्धित विषय हो। यसको विषय पनि अब हामीले करिब करिब बयानलाई टुंग्याएको अवस्था हो। बयानपछि हामीले अव विश्लेषण गरेर अध्ययन, अनुसन्धान गरेर यसलाई यसलाई एउटा फरम्याटमा ल्याउने, तथ्य र प्रमाणलाई केलाउने काम भइराखेको छ। केही समय भित्र यसको पनि रिजल्ट आउन सक्छ,” उनले भने।

उनले गौतमबुद्धको समाधिस्थल रामग्राम स्तुपाक्षेत्रको जग्गा ९९ वर्षका लागि लिजमा दिने मुद्दाका बारेमा प्रारम्भिक अनुसन्धान शुरू गरिएको बताए। उनले यो प्रकरणमा विस्तृत अध्ययन गरेर अघि बढ्न केही समय लाग्ने समितिलाई जानकारी गराए।

आयोगले धितोपत्र बोर्ड शेयर कारोबारसम्बन्धी मुद्दाको अनुसन्धानलाई पनि अघि बढाएको जनाएको छ। प्रमुख आयुक्त राईले वाइडबडी विमान खरिद, सेक्युरिटी प्रेस, चमेलिया जलविद्युत् आयोजनामा पनि छानबिन भइरहेको उल्लेख गर्दै छिटै टुंगो लगाउने बताए।

उनले वाइडबडी विमान खरिद प्रकरण छानबिनका लागि बाह्य मुलुकसँग द्विपक्षीय सम्झौता नभएकाले अनुसन्धानमा कठिनाइ भइरहेको पनि समितिलाई अवगत गराए। कैलाली, सिन्धुली, कञ्चनपुर, कपिलवस्तु चार वटा जिल्लामा वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी उजुरी आयोगमा परेपछि यसको पनि अनुसन्धान आयोगले शुरू गरेको छ। वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी मुद्दामा उपभोक्ता समिति धेरै भएकाले अनुसन्धानले धेरै समय लिने अवस्था रहेको प्रमुख आयुक्त राईको भनाइ थियो।

विशेषज्ञ जनशक्ति अभावमा आयोगको काम गर्ने क्षमता कमजोर हुन पुगेको उनले उल्लेख गरे। कर्मचारी सरुवा भइरहने भएकाले मन्त्रालय तथा विभागमा अनुसन्धानका लागि आवश्यक कागजात पाउन नसकिने अवस्थाले पनि अनुसन्धानमा कठिनाइ थपिएको प्रमुख आयुक्त राईको भनाइ थियो।

आयोगले गत वर्ष करिब २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फर्स्योट गरिएको र चालु आर्थिक वर्षमा त्योभन्दा बढी उजुरी पर्ने सम्भावना रहेको जनाएको छ।


सम्बन्धित सामग्री