राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

 राष्ट्रियसभामा मंगलबार भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए।

काठमाडौँ– राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादीका नारायण दाहाल निर्वाचित भएका छन्।

 राष्ट्रियसभामा मंगलबार भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका दाहाल मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेकाले सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्।

यसअघि राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो।

कांग्रेसबाट उम्मेदवार रहेका युवराज शर्माको पक्षमा १७ र विपक्षमा ३९ जनाले मतदान गरेका थिए।