Thursday, May 09, 2024

-->

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ: प्रधानमन्त्री

असंलग्न आन्दोलनका सिद्धान्त र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रलाई आह्वान गरेको बताएका छन्।

युगान्डाको कम्पालामा सम्पन्न असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका जीवित प्राणीका लागि हिमाल अति महत्त्वपूर्ण रहेको उल्लेख गरे। 

“पर्वतीय देश नेपाल जलवायु परिवर्तनको चपेटामा छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई दोहोर्‍याउँदै हिमालको आवाजलाई समर्थन गर्नसमेत आव्हान गरेँ,” उनले भने।

असंलग्न आन्दोलनका सिद्धान्त हाम्रा लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। “असंलग्न आन्दोलनका सिद्धान्त र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण छन्,” उनले भने, “यस आन्दोलनले हामीबीच आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरिरहेको जानकारी गराएँ।”  

सम्मेलनमा आफूले सम्बोधनका क्रममा असंलग्न आन्दोलनले कैयौँ मुलुकको राजनीतिक स्वतन्त्रता अभिवृद्धि, ‍औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएको उनले बताए। 

यस्तै, भ्रमणको क्रममा श्रीलंकाका राष्ट्रपति महामहिम रणिल विक्रमासिंघेसँग भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको भनाइ छ।

“हालै पहिलो पटक काठमाडौँमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकले गरेका निर्णयलाई कार्यान्वयन गर्ने तथा सार्कलाई गतिशील तुल्याउन दुवै देशले साझा पहलकदमी लिनेबारे पनि छलफल भयो,” उनले भने।


सम्बन्धित सामग्री