Saturday, May 04, 2024

-->

अभियुक्तलाई फूलमाला-सम्मानले ‘नायक’ बनाउने राजनीति

अपराधमा संलग्न अभियुक्तहरूलाई दलका नेता-कार्यकर्ताले नै नायकजस्तो शैलीमा स्वागत र सम्मान गर्ने विकृत अभ्यास कानूनी राजलाई चुनौती दिँदै संघीय राजधानी काठमाडौँदेखि जिल्लासम्म विस्तार भएको छ।

अभियुक्तलाई फूलमाला-सम्मानले ‘नायक’ बनाउने राजनीति
एआईको सहयोगमा तयार पारिएको प्रतीकात्मक तस्वीर।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणलाई गएको मंसिर १६ गते सत्ताधारी दल नेपाली कांग्रेसले सम्मान गर्‍यो। कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवाले नै खाणलाई सम्मान गरे। सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका खाणले सम्मान ग्रहण गर्न त पाएनन्, तर उनका भाइ तथा तिलोत्तमाका मेयर रामकृष्ण खाणले दाजुको सम्मान थापेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी मिनाहा पाएपछि जन्मकैदको सजाय भोगिरहेका बाँकेका योगराज ढकाल ‘रिगल’ संविधान दिवसको दिन असोज ३ गते रिहा भएका थिए। दाङको घोराहीस्थित जिल्ला कारागारबाट छुट्दा उनलाई समर्थकहरूले फूलमाला र अबिर लगाएर भव्य स्वागत गरेका थिए। उनको स्वागतमा दुई दर्जनभन्दा बढी गाडीको लावालस्कर नै लागेको थियो।

रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाख ११ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर सर्वोच्च अदालतले गत कात्तिक १६ गते उनले पाएको माफी मिनाहा बदर गरिदियो। उनी त्यही दिन बाँकेबाट पक्राउ परे। अहिले उनी फेरि थुनामा गएका छन्। उनले २०७२ असार २८ गते २९ वर्षीय चेतन मानन्धरलाई नेपालगन्जको व्यस्त सडकमा दिउसै खुँडा प्रहार गरी हत्या गरेका थिए।

उता, राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसर पारेर बाँकी सजाय माफी मिनाहा गरेपछि टीकापुरको हिंसात्मक घटनामा तीन तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरी गएको जेठ १५ गते डिल्लीबजार कारागारबाट छुटेका थिए। उनको स्वागतमा नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ नै कारागारमा पुगेकी थिइन्। उनी चौधरीकी पत्नी पनि हुन्।

चौधरी कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक नाबालक र आठ सुरक्षाकर्मीको हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति हुन्। उनको सजाय जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका अदालतबाट सदर भएको थियो। उनलाई कैद माफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। गएको जेठ २४ गते सर्वोच्चले सरकारलाई माफी दिनुको कारण माग गरेको थियो। तर त्यसपछि उक्त मुद्दामा थप सुनुवाइ हुन सकेको छैन।

अभियुक्तलाई फूलमाला लगाउने चलनले असल र खराबबीचको भिन्नता मेटाइदिएको त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने बताउँछन्। दलहरूले नै थुनामा रहेका वा थुनाबाट निस्किने अभियुक्तलाई स्वागत गरेर प्रश्रय दिने गरेको उनको भनाइ छ। “खराब–असल, न्याय–अन्याय, सत्य–झूटमा कुनै सीमा नै नहुने भयो,” उनले भने, “यी दलहरू कुनै बेला लोकतन्त्रका निम्ति लडेकै हुन्, तर अहिले हेर्ने हो भने यिनीहरूभित्र लोकतन्त्रको खडेरी छ।”

उपप्राध्यापक चलाउने आफैँ पनि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताको आक्रमणमा परेका थिए। विद्यार्थी नेताहरूकै योजनामा २०७७ असोज २० गते विश्वविद्यालय परिसरमै उनी अचेत हुने गरी कुटिएका थिए। मंसिर २० गते काठमाडौँ जिल्ला अदालतले मुख्य अभियुक्त हरि आचार्य र योगेन्द्र रावललगायतलाई धरौटीमा छाडेको थियो। त्यसबेला नेविसंघका कार्यकर्ताले उनीहरूलाई फूलमालाले स्वागत गरेका थिए।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा सरकारले गएको असार ४ गते फिर्ता लिने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले असार ७ गते उक्त मुद्दा फिर्ता लिन नमिल्ने आदेश जारी गर्‍यो। त्यसपछि काठमाडौँ जिल्ला अदालतले मंसिर ८ गते उक्त मुद्दामा सुनुवाइ गर्दै कुटपिटमा संलग्न नेविसंघका ६ कार्यकर्तालाई दुई–दुई वर्ष कैद हुने फैसला गरेको छ। साथै, उनीहरूबाट २८ लाख क्षतिपूर्ति भराउन पनि आदेश भएको छ। 

कुनै अपराधमा जेल बसेका सर्वसाधारणलाई नभई राजनीतिको आडमा अपराध गरेकाहरूलाई फूलमाला लगाएर प्रदर्शन गर्ने काम भइरहेको उपप्राध्यापक चलाउने बताउँछन्। “जेलबाट छुटेपछि पार्टीलाई परिचालन गरेर फूलमाला पहिराउने, लावालस्करसहित स्वागतमा जाने र अपराध गरेर थुनिएकाहरूलाई हिरोको ठाँटबाँटमा बाहिर निकाल्ने काम भइरहेको छ,” उनले भने, “यो सरासर विधिको शासन र लोकतन्त्रमाथिको ताण्डव हो।”

संगठित अपराधका अभियुक्त खाणलाई देउवाको सम्मान
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण भ्रष्टाचार, सरकारी कागजात किर्ते, संगठित अपराधलगायत कसुरका अभियुक्त हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी जेलमा छन्। उनलाई कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिले गएको शनिबार दिएको सम्मानपत्र सभापति देउवा आफैँले खाणका भाइ रामकृष्णलाई हस्तान्तरण गरे। केन्द्रीय सदस्य शेखर कोइरालाले खादा ओढाइदिए।

सम्मानका लागि नाम बोलाउँदा कार्यक्रम सञ्चालक रहेका कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले खाणलाई ‘लुम्बिनी प्रदेशको अभिभावक’ भनेका थिए। खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने विषयमा उच्च अदालत पाटनका दुई न्यायाधीशबीच राय बाझिएको भोलिपल्ट मंसिर १६ मा कांग्रेसले उनलाई सम्मान गरेको हो। उनी सभापति देउवानिकट नेता हुन्।

देउवाले भाइ रामकृष्णमार्फत खाणलाई सम्मान गर्दा मञ्चमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताहरू पनि थिए। सभापति देउवाले त्यसअघि ‘खाणले न्याय पाउने’ बताएका थिए। मंसिर १२ गते रुपन्देही कांग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै उनले अदालतबाट अभियोग पुष्टि हुन बाँकी रहेका खाणले न्याय पाउने बताए। त्यसको तीन दिनपछि भएको सुनुवाइमा खाणका सम्बन्धमा मात्र उच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको थियो।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले खाणलाई सम्मान गर्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले अदालतमा विचाराधीन मुद्दासँग यसको कुनै सम्बन्ध नरहेको बताएका छन्। आफूहरूले बुटवलमा पार्टीको प्रदेश कार्यालय स्थापनामा सहयोग गर्ने दाताहरूलाई सम्मान गर्ने क्रममा खाणलाई पनि सम्मान गरेको उनले बताए।

एक लाखभन्दा बढी सहयोग राशि दिने पाँच जनालाई त्यस दिन सम्मान गरिएको पुनले बताए। “यहाँ पार्टी कार्यालय नै थिएन, यसको स्थापनामा उहाँले आर्थिक सहयोग गर्नुभएको थियो। उल्लेखनीय किसिमले जसजसले सहयोग गर्नुभएको थियो, उहाँहरूलाई हामीले सम्मान गरेका हौँ, बालकृष्ण खाणलाई मात्र सम्मान गरिएको होइन,” उनले भने।

विगतमा फूलमाला लगाउने अभियुक्तहरू
अपराधमा संलग्न अभियुक्तहरूलाई कैद वा थुनाबाट छुट्दा दलका नेता-कार्यकर्ताले नै कुनै प्रतियोगिताका विजेता वा नायकजस्तो शैलीमा स्वागत गर्ने विकृत अभ्यास कानूनी राजलाई चुनौती दिँदै संघीय राजधानी काठमाडौँदेखि जिल्लासम्म विस्तार भएका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कैलालीको धनगढीस्थित कारागारबाट २०७९ फागुन ७ गते रिहा भएका थिए। आगजनी मुद्दामा कैद सजाय पाएका उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले फूलमाला लगाएर स्वागत गरेका थिए। 

त्यसअघि, चितवन जिल्ला कारागारभित्र नेपाली कांग्रेसका कार्यकर्ता शिव पौडेलको हत्यामा दोषी ठहर भएका तीन जनालाई पनि तत्कालीन राष्ट्रपति भण्डारीले २०७७ फागुन ७ गते सजाय माफी मिनाहा दिएकी थिइन्। दोषी ठहर भएका नेकपा एमालेनिकट युथ फोर्सका कार्यकर्ता फणीन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी छुट्दा पनि फूलमालाले स्वागत गरिएको थियो। पौडेलको २०६८ पुसमा हत्या भएको थियो।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका माओवादी केन्द्र हुँदै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बालकृष्ण ढुंगेल २०७५ जेठ १५ मा रिहा हुँदा पनि उनको भव्य स्वागत भएको थियो। उनलाई स्वागत गर्न डिल्लीबजार कारागार पुगेका उनका समर्थकले फूलमाला र अबिर लगाएर विजयोत्सवको झल्को दिएका थिए।

दलबलसहित तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका उनलाई नेता देवेन्द्र पौडेलले स्वागत गरेका थिए। उनी अदालतबाट तोकिएको सजाय कैद माफी पाएर गणतन्त्र दिवसको अवसरमा छुटेका थिए। त्यस्तै कांग्रेसका नेता खुमबहादुर खड्का भ्रष्टाचारको अभियोगमा १४ महिनापछि डिल्लीबजारस्थित जेलबाट रिहा हुँदा २०७० असोज २३ गते पनि उसैगरी भव्य स्वागत भएको थियो। 

आफैँले आपराधिक गतिविधिमा संरक्षण गरेका नेता कार्यकर्ताहरू अपराधमा दोषी ठहर भई कैद भुक्तान गरेर निस्किँदा राजनीतिक दलका समर्थकहरूले माल्यार्पणका साथ स्वागत गर्दा अपराधको ‘ग्लोरिफाई’ भएको अधिवक्ता दिपेन्द्र झा बताउँछन्। “नेपालमा अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण बढेको भन्ने कुरा उठ्दै आएको छ, यो भनेको त्यसैको प्रकटीकरण हो र पुष्टि हो,” उनले भने।

नेपालगन्जमा कर्तव्य ज्यानको दोषी ठहर रिगललाई नायकजस्तो स्वागत गर्ने पार्टीकै कार्यकर्ता भएको उनी बताउँछन्। यसले समाजमा अराजकताको बोलवाला छ भन्ने देखाइरहेको उनको भनाइ छ। “ती नेविसंघ र तरुण दलका कार्यकर्ता त थिए नि,” अधिवक्ता झा भन्छन्, “राजनीतिक दलहरूले नै अपराधी पाल्ने गरेकाले त्यस्तालाई जेलबाट निस्केपछि उनीहरू स्वागत सत्कार गर्छन्।”


सम्बन्धित सामग्री