Wednesday, May 22, 2024

-->

लगानी डुब्न थालेपछि बैंकविरुद्ध दुर्गा प्रसाईंंको 'अराजक' अभियान

विभिन्न बैंकहरूबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका दुर्गा प्रसाईंं पछिल्लो समय वित्तीय संस्थाहरूविरुद्ध ‘अराजक अभिव्यक्ति’ दिइरहेका छन्। उनका गतिविधिलाई निगरानीमा राखेको गृह मन्त्रालयले जनाएको छ।

लगानी डुब्न थालेपछि बैंकविरुद्ध दुर्गा प्रसाईंंको अराजक अभियान

काठमाडौँ– एनआईसी एशिया लघुवित्तका एक कर्मचारीलाई जाजरकोटको भेरी नगरपालिकामा फागुन १६ गते मोसो दलियो। मासिक किस्ता उठाउन गएका कर्मचारीलाई दुई व्यक्तिले मोसो दलेका थिए।

गएको फागुन १ गते झापामा आयोजित एक कार्यक्रममा व्यावसायी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा नै लघुवित्त र बैंकका कर्मचारीलाई मोसो दल्ने अभिव्यक्ति दिएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराएको कार्यक्रममा ‘नागरिक बचाऊ महाअभियान’ घोषणा गर्दै उनले वित्तीय संस्थाविरुद्ध अभिव्यक्ति दिएका थिए।

प्रसाईंको अभिव्यक्तिपछि गएको फागुन १३ गते उनका समर्थकले चितवनको भरतपुरमा सार्वजनिक कार्यक्रम गरेरै ‘कालोमोसो अभियान’ घोषणा गरेका थिए। उक्त अभियानका संयोजक शम्भु थापालाई बुधबार बिहान चितवन प्रहरीले पक्राउ गरेको छ। 

चितवनका एसपी रामेश्वर कार्कीका अनुसार सामाजिक सञ्जालमा पोष्ट गरेका विभिन्न सामग्री र अन्य गतिविधिका आधारमा थापालाई पक्राउ गरिएको हो। उनीबारे थप अनुसन्धान गरिरहेको कार्कीले बताए।

यता गृह मन्त्रालयले पनि प्रसाईंलाई निगरानीमा राखेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी दिलबहादुर तामाङका अनुसार बैंक र वित्तीय संस्थाका कर्मचारीमाथि अपमानजनक व्यवहार हुन थालेपछि उनी र उनका समर्थकका गतिविधि निगरानीमा राखिएको हो। सार्वजनिक सेवामा अवरोध गर्ने र शान्तिसुरक्षा भंग गर्ने गतिविधि नियन्त्रणका लागि निगरानीमा राख्न मातहतका निकायलाई मन्त्रालयले निर्देशन दिएको तामाङको भनाइ छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेको केन्द्रीय सदस्य भएका प्रसाईं बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका संचालक हुन्। त्यसबाहेक उनले होटल र घरजग्गामा पनि लगानी गरेका छन्। पूर्वराजा शाहलाई राखेर कार्यक्रम गरेपछि एमालेको सचिवालय बैठकले गएको फागुन १३ गते उनलाई पार्टीबाट निष्कासन गरेको छ।

प्रसाईं अहिले राजसंस्था फर्काउने अभियान चलाइरहेका छन्। त्यससँगै, ऋण नतिर्न आह्वान गर्दै बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध पनि अभिव्यक्ति दिइरहेका छन्।

“सहकारीहरूमा आएको विचलन, लघुवित्त तथा तिनका ऋण उपभोगकर्ताबीचको समस्या र बैंकहरूको ब्याजदरलगायत सवालमा सिर्जना भएको असन्तोषलाई दुर्गा प्रसाईंले आफूपछाडि बाक्लो समर्थनको आधार देखेको हुनसक्छ,” राष्ट्र बैंकका एक अधिकारीले भने, “बैंक तथा वित्तीय संस्थासँग चित्त नबुझेको अवस्था छ भने त्यसको निरुपणको लागि कानूनी बाटो छ। त्यसलाई छोडेर उनले लिएको बाटोले अराजकता मात्र बढाउँछ।” 

कतिपय ऋणी ऋण मिनाहा हुन्छ भन्ने भ्रमले प्रसाईंको पछाडि लाग्न सक्ने उनको भनाइ छ। तर आन्दोलनकै कारण ऋण मिनाहा हुने कल्पना गर्न नसकिने पनि उनी बताउँछन्।

लगानी जोखिममा भएको स्वीकार
बीएन्डसी कलेजलाई अध्ययन अनुमति दिलाउन प्रसाईंले राजनीतिक पहुँच प्रयोग गरिरहेका थिए। एमाले त्यसका लागि उपयोगी नभएपछि उनले पार्टी छाडे र राजा समात्न पुगेको एमालेका एक नेता बताउँछन्।

कलेज संचालनको अनुमति नपाउँदा बीएन्डसी मेडिकल कलेज धरापमा परेको प्रसाईं आफैँ स्वीकार गर्छन्। तर यसमा बैंकहरू दोषी भएको उनको दाबी छ। उनले आठ वर्षअघि यो कलेज स्थापना गरेका थिए।

प्रसाईंकै अनुसार उनले पाँच वटा बेग्लाबेग्लै बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन्। तर उनले कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको बैंकहरूको विवरणमा देखिन्छ। ऋण लिएयता आफूले २ अर्बजति ब्याज तिरिसकेको उनको दाबी छ।

प्रसाईंले बीएन्डसी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, हाउजिङलगायत क्षेत्रमा लगानी गरेका छन्। बैंकहरूले नियमसंगत काम नगरी सेवा दिएजस्तो गरेर ‘मान्छे सिध्याउने’ गरी अघि बढेको उनको दाबी छ। उनले उकालोसँग भने, “मैले आफैँ पनि २०४८ सालदेखि बैंकहरूसँग कारोबार गरिरहेको छु। बैंक चलाउने सिस्टम खराब छ, यसकारण मैले आवाज उठाएको हुँ।” 

आफूले बैंकलाई निरुत्साहित बनाउन नखोजेको उनले दाबी गरे। “सीमित ५५ जना व्यापारीले बैंक, बीमा, लघुवित्तदेखि सहकारीसम्म चलाएर देशको पुँजी कब्जा गरेका छन्। मैले थालेको अभियान मेरो लागि होइन, सर्वसाधारणको सुरक्षाको लागि हो,” उनको दाबी छ।

प्रसाईंका पुराना साथीहरूका अनुसार उनी झापाको अर्जुनधारास्थित बसपार्क नजिकै खेती गर्ने परिवारका सदस्य हुन्। झापामा चिया बगान चलाएर बसेको गिरी परिवारमा बिहे भएपछि प्रसाईंको आर्थिक हैसियत उकासिएको हो।

अहिले बीएन्डसी मेडिकल कलेजको अस्पताल संचालन गरेको जग्गामा पहिला व्यवसायिक रूपमा भैँसी पालन गरेका थिए। कृषि विकास बैंकसँग ऋण लिएर उनले भैँसीपालन गरेका थिए। ससुरालीबाट पाएको विर्तामोडस्थित त्यही जग्गा धितो राखेर उनले ऋण लिएका थिए। थप ऋण माग्दा नपाएपछि बैंकसँग विवाद परेको थियो। पछि भैँसीपालनमा गरेको लगानी डुबेपछि उनी राजनीतिक पहुँच प्रयोग गरेर उम्किने प्रयासमा लागेका थिए।

बैंकहरूलाई ऋण असुलीमा समस्या
प्रसाईंं आफूले बैंकलाई व्याज बुझाउन बाँकी नरहेको दाबी गर्छन्। राष्ट्र बैंक स्रोतका अनुसार उनले प्रभु बैंकबाट १ अर्ब २० करोड, ग्लोबल आईएमईबाट १ अर्ब, हालको कुमारी (तत्कालीन एनसीसी) बैंकबाट १ अर्ब, नबिल बैंकबाट ७६ करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड ऋण लिएका छन्। 

प्रसाईंले ऋण नतिर्ने अभियान चलाएको बताएपछि बैंकहरूलाई कर्जा असुलीमा समस्या हुन थालेको बैंकर्सहरू बताउँछन्। बैंकर्समाथि दुर्व्यवहारको लागि उक्साएर प्रसाईंंले अराजकता निम्त्याउन खोजेको भन्दै राष्ट्र बैंकले चासो लिएको छ। 

“यो गृह प्रशासनले ध्यान दिने विषय हो, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मार्गदर्शन गर्ने र आम जनतामा वित्तीय सचेतनका उद्देश्यले जानकारी, सूचना दिनेलगायत काम गर्ने हो,” राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भन्छन्, “बैंकबाट लिएको ऋण तिर्दिनँ भन्ने कुनै अधिकारको आन्दोलन हुन सक्छ र? यो प्रवृत्ति बढ्यो भने यसले बैंकिङ सिस्टमलाई नै अप्ठ्यारोमा पार्न सक्छ।”

बैंकले गर्ने लगानी सर्वसाधारणको निक्षेपको रकम भएको हुनाले त्यसलाई कसैले नितिर्ने घोषणा गर्न नसक्ने पोखरेल बताउँछन्। त्यसो हुँदा सर्वसाधारणको लगानी डुब्ने र देशको अर्थतन्त्रका लागि अप्ठ्यारो अवस्था सिर्जना हुने उनको भनाइ छ।

प्रसाईंको राजनीतिक ‘कनेक्सन’
नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २०७४ फागुन ६ गते प्रसाईंले भक्तपुरस्थित आफ्नो निवासमा बोलाएर खाना खुवाएका थिए। वाम एकतालाई मूर्तरूप दिन दुई नेताबीच छलफल भएको भन्दै उनीसहित दुई नेताले खाना खाइरहेको तस्वीर सार्वजनिक गरेका थिए। तस्वीरमा मार्सी चामलको भात देखिएपछि सामाजिक सञ्जालमा चर्चा भएको थियो।

त्यसपछि उनी ओलीसँग नजिक भएका थिए। उनले स्थापना गरेको बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले अध्यापन अनुमति दिएको छैन। अनुमति लिनका लागि उनी तत्कालीन प्रधानमन्त्री ओलीलाई गुहार्दै सिंहदरबार र बालुवाटारमा बाक्लै देखिन्थे।

प्रसाईं लामो समय कांग्रेस समर्थक थिए। बिर्तामोडस्थित अहिले मेडिकल कलेज खोलेको स्थानमा उनले हरियाणाबाट १०० वटा भैँसी ल्याएर पालेका थिए। तर बैंकको ऋण तिर्न नसक्ने अवस्था पुगेपछि उनी भूमिगत रूपमा सशस्त्र संघर्ष चलाइरहेको तत्कालीन माओवादीको सम्पर्क खोज्दै हिँडेका थिए। त्यही क्रममा सेनाले पक्राउ गरेर यातना दिएको थियो।

विस्तृत शान्ति सम्झौतापछि आफूलाई सेनाले पक्राउ गरेको आधार देखाउँदै उनी माओवादी अध्यक्ष दाहालसँग नजिक भएका थिए। उनले आफू ‘जनयुद्ध’मा समेत लागेको दाबी गर्ने गरेका थिए। २०७४ सालमा एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिस्ट पार्टी भएपछि उनी ओलीसँग नजिकिएका थिए।

नेकपाका दुई घटक एमाले र माओवादी केन्द्रलाई सर्वोच्चले २०७७ फागुन २३ गते पूर्ववत् अवस्थामा फर्काइदिएको थियो। २०७८ असोज १५ देखि १७ गतेसम्म चलेको एमालेको प्रथम विधान अधिवेशनमा प्रसाईं प्रतिनिधि भएर सहभागी भएका थिए। त्यसको २४ दिनपछि मात्र उनलाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए।

पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी असल कम्युनिस्ट नभएको र आफू असल कम्युनिस्ट भएको दाबी गरेका थिए। माओवादी केन्द्रका तीन हजार कार्यकर्ता लिएर एमाले पसेको उनको दाबी थियो। माओवादीको पत्तासाफ गराउन र एमालेलाई जिताउँदै देशकै ठूलो पार्टी बनाउन पाँच लाख मानिस एमालेमा प्रवेश गराउने घोषणा पनि गरेका थिए।

तर त्यसको १६ महिनापछि एमाले प्रदेश कमिटीले कारबाही सिफारिस गरेपछि सचिवालयले निष्कासन गर्नुअघि नै उनले एमाले छाडेको घोषणा गरेका थिए। एमालेसँग पनि विचार नमिलेपछि पार्टी छोडेको उनको भनाइ छ। “उहाँहरू कम्युनिस्ट नै होइन, उहाँहरू सबै मिलेर खाने हो। उहाँहरूको पार्टीमा सुकुम्बासी टोलबाट आएर काठमाडौँमा पाँच छ वटा घर बनाएकाहरू छन्,” उनले भने, “म जन्मिँदै सुकुम्बासी टोलमा थिइनँ, राम्रै परिवारको थिएँ, गरिबका लागि कुद्दैछु।” 

पूर्वराजा शाहबारे कुरा गर्दा ‘महाराजधिराज’ सम्बोधन नछुटाउने प्रसाईंले आफ्नो अभियानले व्यवस्था, राजनीतिक दल र बैंकहरूका कारण पीडित बनेका जनताको हकमा काम गरिरहेको दाबी गरे। 


सम्बन्धित सामग्री