Sunday, May 05, 2024

-->

बल्खुचोकमा बिहीबार दिनभर जे देखियो…

बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्‍यो। एकैछिनमा भागाभाग शुरू भयो।

बल्खुचोकमा बिहीबार दिनभर जे देखियो…

काठमाडौँ बिहीबार मध्यान्ह १२ बजेसम्म काठमाडौँको बल्खुचोक सुनसान थियो। त्यहाँबाट कालीमाटी जाने बाटोतर्फ पिपलको रूखमुनि करिब ४०–५० जनाले गणतन्त्रबारे विभिन्न टीकाटिप्पणी गरिरहेका थिए। प्रहरीको उपस्थिति भने बाक्लिइसकेको थियो। सडकमा कोही देखिन्थे भने ती प्रहरीहरू मात्रै थिए। रूखमुनि देखिएको समूहलाई त्यसबेला त्यहाँ तैनाथ सानो प्रहरी टोलीको कमान्ड गर्ने इन्स्पेक्टर महिलाले ‘तपाईंहरू कार्यक्रममा आउनुभएको हो भने कृपया कार्यक्रमस्थलतिर गइदिनुहोला’ भनिरहेकी थिइन्।

त्यसपछि त्यो समूह राष्ट्रिय झण्डा बोकेर कार्यक्रमस्थलतिर लाग्यो। कतिलाई कार्यक्रम कहाँ हो भन्ने पनि थाहा थिएन। त्यही बेला कालीमाटीतर्फबाट एक दर्जनजति मोटरसाइकलमा सवार एमाले ‘युवा संघ’का कार्यकर्ताहरू आइपुगे। उनीहरूले दुर्गा प्रसाईं नेतृत्वका प्रदर्शनकारीहरूलाई देख्नासाथ ‘केपी ओली जिन्दावाद’ भन्दै नारा लगाउन थाले। कार्यक्रमस्थलतिर गइरहेको भिड एक्कासि पछाडि फर्कियो। मोटरसाइकलमा सवार रातो क्याप लगाएका युवालाई नारा लगाइरहेको देखेपछि उनीहरू उत्तेजित हुँदै तिनका मोटरसाइकललाई पछ्याउन थाले। केहीले एकदुई वटा ढुंगा पनि फाले। तर प्रहरीको टोलीले ती मोटरसाइकलमा सवार युवाहरूलाई गइहाल्न भनेपछि त्यहाँ हुनसक्ने सम्भावित झडप टरेको थियो।

कार्यक्रमस्थलतिर अग्रसर हुँदै गरेको समूहमा प्रदर्शनकारीको संख्या बढ्दै थियो। करिब १५ मिनेटपछि युवा संघका थप कार्यकर्ताहरू कालीमाटीकै बाटो भएर मोटरसाइकलमा नारा लगाउँदै आए। त्यसपटक स्थिति तनावपूर्ण रह्यो। प्रसाईंको आह्वानमा आएका मानिसहरू र युवा संघका कार्यकर्ताहरूबीच झडप शुरू भयो। प्रसाईंका समर्थकहरूले ढुंगा हान्न  थालेपछि युवा संघका कार्यकर्ताहरू मोटरसाइकल सडकमै छोडेर दौडिए। 

तर मोटरसाइकलबाट उत्रिनासाथ उनीहरूले पनि प्रतिकारस्वरूप प्रदर्शनकारीमाथि ढुंगा हाने। त्यसपछि प्रसाईंका समर्थकहरू सानेपातिर भाग्न थाले। एक्कासि देखिएको तनावपूर्ण स्थितिमा सुरक्षार्थ खटिएका केही प्रहरीहरूसमेत भागाभाग गरिरहेका देखिन्थे। पछि एक प्रहरी नायब उपरीक्षक (डीएसपी)ले पछाडि कुरिरहेको प्रहरी टोलीलाई ‘हेल्मेट लगाएर आउनू’ भनेपछि प्रहरीको थप टोली तयारीसाथ घटनास्थलमा पुगेको थियो।


प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँको माइतीघरमा बिहीबार एकैदिन र एकै समयमा प्रदर्शन गर्ने योजना बनाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो क्षेत्रलाई निषेधित गरेको थियो। पछि उनीहरूले प्रशासनकै आग्रहमा छुट्टाछुट्टै ठाउँमा कार्यक्रम तय गरेका थिए।

प्रसाईंको ‘इन्ट्री’ले निम्त्याएको तनाव
शुरूमा प्रहरीको बाक्लो उपस्थितिले पनि प्रदर्शनकारीभन्दा प्रहरीको उपस्थिति धेरै देखिन्थ्यो। तर करिब १ बजे जब बल्खुमा प्रसाईंको ‘इन्ट्री’ भयो तब भिड यति धेरै बढ्यो कि प्रहरी ‘युनिफर्म’ देखिनै गाह्रो पर्न थाल्यो।

‘गणतन्त्र– धोका हो’, ‘हाम्रो राजा, हाम्रो देश– प्राणभन्दा प्यारो छ’, ‘मेचीमहाकाली हल्ला छ– राजा ल्याउने सल्लाह छ’ भन्ने नाराहरू चर्को स्वरमा लाग्न थाल्यो। प्रसाईं चढेको गाडीलाई उनका समर्थकहरूले स्कर्टिङ त गरी नै रहेका थिए, उनको गाडीको बाटो खाली गराउनेमा प्रहरी पनि थपिए।

प्रसाईंको गाडीलाई देखेर भिड बिस्तारै अनियन्त्रित बन्दै गयो। तर उनको गाडी बल्खुचोकमा नभई त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि गएर रोकियो। गाडीबाट ओर्लिएलगत्तै 'साउन्ड बक्स' भएको गाडीमा चढेका प्रसाईं भिडलाई सम्बोधन गर्न थाले। उनले गणतन्त्रको विरोधमा आक्रोशपूर्ण अभिव्यक्ति दिँदै राजतन्त्रको पक्षपोषण गरे।


उनले बैंक तथा लघुवित्तका ऋणीहरूलाई ऋण मिनाहाको आशा देखाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूको आलोचनामा केही समय खर्चिए। उनका कुरामा ताली पिटे पनि समर्थकहरूको भिड भाषण सुन्ने 'मुड'मा थिएन। उनीहरू भनिरहेका थिए, “नेताहरूलाई लखेट्नु पर्छ, अब जाऔँ सिंहदरबार घेर्न।”

त्यत्तिकैमा प्रसाईं चढेर भाषण गरिरहेको गाडीमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही देखिए। भिड अझै उत्तेजित भयो। शाहीले पनि भिडलाई थप उकास्दै 'हामीहरू संसद्मा एक्लै भएका कारण तपाईंहरूको साथ चाहियो' भन्न थाले। “देशमा हजारौँ राजाहरू भए। हामीलाई यति धेरै होइन, केवल एउटा राजा चाहिएको छ,” शाहीले भने।

उनको भाषण सकिनेबित्तिकै प्रसाईंले अब आफूहरू काठमाडौँ छिर्ने घोषणा गरे। भिड उत्साहित बन्यो र केही नसुनी सोझै बल्खुचोकतिर अगाडि बढ्यो। त्यतिखेरसम्म प्रदर्शनकारीको बाक्लो उपस्थितिका कारण प्रहरीको संख्या नगन्य देखिन्थ्यो। प्रसाईंका समर्थकहरू कालीमाटीतिर अगाडि बढ्न लाग्दा प्रहरीले काँडेतार र लठ्ठीले रोक्न खोज्यो। तर भिड अनियन्त्रित बनिसकेको थियो।

कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्‍यो। एकैछिनमा भागाभाग शुरू भयो। तर अवस्था अझै अनियन्त्रित नै थियो। प्रहरीले पानीको फोहोरा फाल्न शुरू गर्‍यो। तर त्यसले पनि नियन्त्रण नहुने देखेपछि लाठीचार्ज गर्न थाल्यो। टियर ग्यास फाल्ने क्रम पनि जारी नै थियो।


बिस्तारै भिडउपर प्रहरी हाबी हुँदा मानिसहरू तितरबितर हुँदै गए। त्यहीबेला प्रहरीले तीन ‘लेयर’को घेरा हालेर बल्खुचोक क्षेत्रलाई नियन्त्रणमा लियो। त्यसपछि ससाना झडप भए पनि तनाव चुलिन पाएन।

प्रहरीबीच देखिएको असमझदारी
शुरूमा बल्खुमा आयोजित कार्यक्रमका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरले डीएसपीस्तरको अधिकृतलाई खटाएको थियो। तर कार्यक्रमस्थलमा १२ जनाभन्दा बढी डीएसपीको उपस्थिति भएपछि कसले कमान्ड गर्ने भन्ने अलमल भएको देखिन्यो। त्यसकारण प्रहरी जनशक्ति संगठित रूपमा परिचालित हुन सकिरहेको थिएन।

पवनकुमार भट्टराई, उद्धवसिंह भाट लगायतका डीएसपी कार्यक्रमस्थलमा खटिएका थिए। तर उनीहरू एकापसमै अन्योलपूर्ण र निराश देखिन्थे। झडपको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी भूपेन्द्र खत्री आफैँ कार्यक्रमस्थलमा पुगेका थिए। उनीसँग परिसरका एसपी कुमोद ढुंगेल पनि आएका थिए। उनीहरू दुवैजना सामान्य प्रहरीजस्तै आत्मसुरक्षाका लागि 'डेफेन्सिभ युनिफर्म'मा आएका कारण धेरैले उनीहरूलाई चिन्न सकेका थिएनन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार झडपमा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका छन्। तीमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। ६ जनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। घाइते प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन १५७ सेल टियर ग्यास र पाँच राउन्ड रबरको गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

यस्तो झडपलाई सामान्य रूपमै लिनुपर्ने  एसएसपी खत्रीले बताए। “जसरी शुरूमा मंसिर ७ मा ठूलै केही हुन लागेको न्यारेटिभ सेट गरिएको थियो त्यस्तो केही भएन,” उनले भने, “बल्खुको सामान्य झडपबाहेक काठमाडौँका अरू ठाउँमा नागरिकको जीवन सामान्य नै रह्यो।”


सम्बन्धित सामग्री