Saturday, May 04, 2024

-->

महिला क्रिकेट टोलीका कप्तान इन्दु र प्रशिक्षक मनोजको 'पहिलो परीक्षा'

हङकङमा बुधबारबाट चार देशीय टी२० श्रृंखला खेल्न गएको नेपाली टोलीमा कप्तान र प्रशिक्षक दुवै नयाँ छन्। यो प्रतियोगिता कप्तान इन्दु बर्मा र मुख्य प्रशिक्षक मनोज कटवालका लागि 'पहिलो परीक्षा' हुनेछ।

महिला क्रिकेट टोलीका कप्तान इन्दु र प्रशिक्षक मनोजको पहिलो परीक्षा

काठमाडौँ- गत भदौ अन्तिम साता मलेसियामा सम्पन्न आईसीसी विश्वकप एशिया क्षेत्र छनोटमा नेपाली महिला टोलीको लक्ष्य उपाधि जित्दै ग्लोबल छनोटमा पुग्ने थियो। समूह चरणमा मलेसिया, बहराइन, भुटान र कतारलाई पराजित गर्दै सेमिफाइनल पुगेको नेपाली टोली लक्ष्य भेटाउन एक कदम मात्रै टाढा थियो। तर सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भयो।

ग्लोबल छनोटमा पुग्न नसकेपछि तत्कालीन कप्तान रुविन क्षेत्रीले नेपाल क्रिकेट संघ (क्यान)ले नै महिला टोलीको जग कमजोर बनाएको भन्दै आवाज उठाइन्। आफ्नै नेतृत्वमा नेपाललाई एकपटक विश्वकपमा पुर्‍याउने सपना बुनेकी उनी निराश थिइन्। त्यति ठूलो प्रतियोगिता खेल्न जानुअघि नेपाली टोलीले विशेष तयारी गरेको थिएन। न घरेलु प्रतियोगिता खेलेको थियो, न त अन्य राष्ट्रसँग सिरिज नै। 

नेपाली टिम अहिले हङकङमा छ। बुधबारदेखि नेपाल, हङकङ, तान्जनिया र जापानसम्मिलित चारदेशीय टी२० श्रृंखलाका लागि महिला टोली त्यहाँ पुगेको हो। नेपालको लक्ष्य उपाधि जित्ने नै छ। तर यसपटक रुविनाले कप्तानी गर्ने छैनन्। उनको स्थानमा क्यानले इन्दु बर्मालाई कप्तान बनाएको छ।

प्रतियोगिताका लागि यसपटक नेपालले पाँच दिन तयारी गरेको र फिल्डिङ तथा फिटनेस मात्र हरेरेको इन्दु बताउँछिन्। क्यानले प्रतियोगितामा भाग लिने निर्णय नै एक साताअघि गरेको कारण तयारी गर्ने समय नै थिएन। “छोटो समयमा तयारी भएको छ। यसबीचमा हामीले कमजोर देखिएको स्थान फिल्डिङ र फिटनेसमा मात्रै ध्यान दिएका छौँ,” उनी भन्छिन्, “अहिले प्रेसर छ, त्यसैले सजिलो हुँदैन। तर राम्रो नतिजा ल्याउन प्रयास गर्छु।” 

नेपाली टोलीले गत भदौदेखि कुनै प्रतियोगिता खेलेको छैन। चारदेशीय टी२० श्रृंखलामा सहभागिता जनाउने पक्का भएसँगै क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक सामसनजंग थापालाई हटाएर पूर्व राष्ट्रिय खेलाडी मनोज कटवाललाई जिम्मेवारी दिएको छ। त्यससँगै कप्तानमा पनि रुविनालाई हटाएर इन्दुलाई नियुक्त गरिएको हो।

यसअघि, आईसीसी एशिया क्षेत्र छनोटमा आशा गरिएका सिनियर खेलाडी चल्न सकेनन्। रुविना र सीता रानामगरको बलबुतामा नेपाल सेमिफाइनल पुगेको थियो। त्यसैले नेपाली टोलीमा परिवर्तनको खाँचो रहेको उनीहरूले नै बताएका थिए। 

उनीहरूकै गुनासोलाई मनन गरेर नवनियुक्त प्रशिक्षक कटवालले यसपटक युवा टोली बनाउने प्रयास गरेका छन्। नेपाली टोलीमा ज्योति पाण्डे, कविता जोशी, सबनम राई, मनीषा चौधरी र अप्सरी बेगमजस्ता अनुभवी खेलाडी छैनन्। उनीहरुको स्थान सोमु विष्ट, सोनी पाख्रिन, कञ्चन श्रेष्ठजस्ता युवा खेलाडीले लिएका छन्। उनीहरूसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छैन।

घरेलु प्रतियोगिता र बन्द प्रशिक्षणमा राम्रो प्रदर्शन गरेको कारण उनीहरूलाई स्थान दिइएको बर्मा बताउँछिन्। अहिले टोलीमा परिवर्तनको खाँचो रहेको कारण उनीहरूलाई राष्ट्रिय टोलीमा स्थान बनाउन राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती थपिएको उनको बुझाइ छ। “सिनियर खेलाडीमा एक्सपोजर हुन्छ, तर जुनियरले बल्ल मौका पाएका हुन्छन्। उहाँहरूलाई बिस्तारै ग्रुम गर्नुपर्ने हुन्छ, उहाँहरूले आफ्नो दायित्व पनि निभाउनुपर्छ,” उनी भन्छन्।

खस्किएको टोलीमा सुधारको आशा
एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको पुरुष टोली पछिल्लो समय लयमा छ। मोन्टी देसाईको प्रशिक्षणमा रहेको टोलीले फुत्किन लागेको एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मान्यता आगामी चार वर्षका लागि बचाएको छ। त्यतिमात्रै होइन, एक दिवसीय विश्वकप छनोट र एशिया कपमा बलिया टोलीसँग खेल्दै चर्चा कमाएको छ। तर महिला टोलीको प्रदर्शन सन्तोषजनक छैन। समान स्तरका मानिएका प्रतिद्वन्दीसँगको नतिजासमेत राम्रो छैन। 

यसपटक यो अवस्थामा सुधार गर्ने मुख्य प्रशिक्षक कटवाल बताउँछन्। “हामी बलियो भनेको बलिङ साइडमा नै हो। ब्याटिङ र फिल्डिङमा कमजोर छौँ। तर सुधार्ने प्रयास गरेका छौँ। यसपटक हामी उपाधि जितेर फर्किन्छौँ,” उनी भन्छन्। 

'सिंगल राउन्ड रोबिन'मा आयोजना हुने प्रतियोगितामा नेपालले कात्तिक २९ गते (बुधबार) पहिलो खेल तान्जनियासँग खेल्ने छ। त्यसको भोलिपल्ट आयोजक हङकङसँग र मंसिर २ गते समूह चरणको अन्तिम खेल जापानसँग खेल्नेछ। अंक तालिकामा शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउने छन्। यस्तै, अंकतालिकाको पुछारका दुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन्। यी दुवै खेल मंसिर ३ गते हुनेछ। 

नेपालले जापान र तान्जनियासँग पहिलोपटक खेल्न लागेको हो। हङकङ भने चिरपरिचित प्रतिद्वन्दी हो। सन् २०१९ मा आईसीसीले नेपाली महिला टोलीलाई टी२० अन्तर्राष्ट्रियको मान्यता दिएयता नेपालले हङकङसँग पाँच खेल खेलेको छ। तीमध्ये दुईमा नेपाल पराजित भएको छ। २४ फ्रेबुअरी २०१९ मा बैंककमा भएको आईसीसी टी२० विश्वकप एशिया क्षेत्र छनोटमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेरी थापाले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर सर्वाधिक ६ विकेट लिएकी थिइन्। त्यसपछि उनी नेपाली टोलीमा पर्न सकिनन्। 

उनको अनुपस्थितिमा नेपालले तीन वर्षको अन्तरालमा हङकङसँग दुई खेल खेल्यो। तर दुवै खेलमा नराम्ररी पराजय भोग्यो। २०२१ नोभेम्बर २२ मा दुबईमा भएको विश्वकप छनोटमा नेपाल हङकङसँग ६ विकेट र २०२२ जुन २१ मा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी महिला टी२० च्याम्पियनसिपमा ७ विकेटले पराजित भयो। यही वर्ष अगस्टमा भएको चारदेशिय (नेपाल, हङकङ, मलेसिया र कतार) टी२० सिरिजका दुवै खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो। 

समूह चरणमा ६ विकेटको जित हासिल गरेको नेपाली टोलीले फाइनलमा उसैलाई डर्कवर्थ लुइस नियमअनुसार १३ रनले पराजित गर्दै उपाधि उचालेको थियो। यो नेपाली महिला टोलीको पहिलो उपाधि थियो। यसपटक पनि त्यही लयलाई कायम राख्ने मुख्य प्रशिक्षक कटवालको भनाइ छ।

“तान्जनिया र जापानसँग खेलेको छैन। तान्जनिया र हामी वरीयतामा समान नै छौँ। वरीयता भनेको नम्बर मात्रै हो, तल रहेको अफगानिस्तानले पनि आफूभन्दा माथिल्ला टोलीलाई हराइरहेको छ। त्यसैले सजिलै बिट गर्छौँ र हङकङलाई हराएर उपाधि जित्छौँ भन्ने लागेको छ,” उनी भन्छन्।

आईसीसी वरीयतामा नेपाल २१ र तान्जनिया १९औँ स्थानमा छन्। यस्तै, हङकङ २२ र जापान ५१औँ वरीयतामा छन्। तान्जनियाले गत अप्रिलमा खेलेको भिक्टोरिया सिरिजमा नेपालभन्दा बलियो मानिएको यूएईलाई ७ विकेटले हराएको थियो। त्यसैगरी, केन्यालाई १०१ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो। जापान भने नेपालजस्तै विश्वकप छनोटको प्रारम्भिक चरणमै सीमित भएको थियो। 

सबै टोलीको पनि भिडियो एनालाइसिस गरेको प्रशिक्षक कटवाल बताउँछन्। “फिल्डिङमा अलिकति ल्याक छौँ। २० ओभरमा ९/१० ओभर नै डट बल छ। बलिङमा एक्स्ट्राहरू छ। ब्याटिङमा पनि सिंगल डबलभन्दा हिटिङ गर्ने गरेका छौँ। केटीहरू अलि कुद्रन सक्दैनन्, त्यसैले रन आउट गर्न सकेका छैनन्। अन्य टोलीमा पनि यही समस्या छ। यसमा मैले सानोसानो चेन्ज गरेको छु,” उनी भन्छन्। 

कविता कुँवर र जोशीको विकल्प को?
नेपाली टोलीमा निक्कै सम्भावना बोकेका दुई खेलाडी हुन्, कविता कुँवर र कविता जोशी। युवा अलराउन्डर कुँवरले सन् २०१९ मा भएको थाइल्यान्ड महिला टी२० स्मास क्रिकेट प्रतियोगितामा चीनविरुद्ध डेब्यू गरेकी थिइन्। उनले ५ ओभर बलिङ गर्दै २ विकेट लिएकी थिइन्। त्यसयता अलराउन्डर बनेर उदाएकी २० वर्षीया कुँवरले २१ इनिङ्समा १५३ रन बनाएकी थिइन् भने बलिङतर्फ ३७ विकेट लिएकी थिइन्। 

'एपेन्डिक्स'को शल्यक्रियाको कारण यसपटक कुँवर बन्द प्रशिक्षणमा पनि परिनन्। उनी टोलीमा नरहँदा अभाव खड्किने प्रशिक्षक कटवाल बताउँछन्। “उहाँ नेपालको नम्बर वान अलराउन्डर हुनुहुन्थ्यो। तर उहाँ यसपटक टोलीमा हुनुहुन्न। उहाँलाई मिस गरिरहेका छौँ,” उनी भन्छन्।

कविता कुँवर र कविता जोशी।

हाट हिटरको पहिचहान बनाएकी कविता जोशी पनि टोलीमा परिनन्। उनी छक्का चौका प्रहार गरेर पावर प्लेमा राम्रो रन बनाउने ब्याटरको रूपमा परिचित छिन्। सन् २०२१ मा कतारविरुद्ध डेब्यू गरेकी उनी पनि अलराउन्डर नै हुन्। १६ इनिङ्समा ७५ रन बनाएकी उनले ९ विकेट लिइसकेकी छन्। यसपटक बन्द प्रशिक्षणमा बोलाए पनि फिटनेसको कारण बाहिरिइन्। 

उनको अनुपस्थितिमा नेपाली टोलीलाई ३० यार्डमाथि सट प्रहार गर्ने खेलाडीको अभाव हुने प्रशिक्षक कटवाल बताउँछन्। तर यी दुई खेलाडीको परिपूर्ति भने अलराउन्डर रुविनाले गर्ने उनको विश्वास छ। “कविता जोशी र कविता कुवँर पोटेनसियल भएका खेलाडी हुनुहुन्थ्यो। उहाँहरूको अनुपस्थितिमा रुविनालाई प्लान गरेका छौँ,” कटवाल भन्छन्, “रुविनलाई तल्लो क्रममा खेलाउने छौँ।”


सम्बन्धित सामग्री