Saturday, May 04, 2024

-->

दीपेन्द्रको चोटले बिग्रन सक्छ नेपाली क्रिकेट टोलीको सन्तुलन

टी२० विश्वकपको एशिया छनोटअन्तर्गत सोमबार सिंगापुरविरुद्ध अन्तिम-११ घोषणा भइसकेपछि भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भए। गोलीगाँठोमा चोट बोकेका उनले पूरै प्रतियोगिता गुमाउने सम्भावना छ।

दीपेन्द्रको चोटले बिग्रन सक्छ नेपाली क्रिकेट टोलीको सन्तुलन
अभ्यासका क्रममा दीपेन्द्रसिंह ऐरीसँग कुरा गर्दै प्रशिक्षक मोन्टी देसाई। तस्वीर: क्यान

काठमाडौँ– मूलपानी क्रिकेट मैदानमा गत हप्ता भएको त्रिकोणात्मक टी२० आई श्रृंखलाको तेस्रो खेलमा पाहुना टोली यूएईले नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको घरेलु टोलीको शुरूआत राम्रो रहेन। पहिलो ओभरको चौँथो बलमै ओपनर कुशल भुर्तेल पेभेलियन फर्किए। तेस्रो नम्बरमा आएका सोमपाल कामी सात बल खेलेर बाहिरिए। आक्रामक ब्याट्सम्यानको छवि बनाएका कुशल मल्ल पनि गोल्डेन डकआउट भएपछि नेपाल २.१ ओभरमा ३–११ को स्थितिमा पुग्यो। 

यद्यपि, ओपनर आशिफ सेख र कप्तान रोहितकुमार पौडेलले ९९ रनको साझेदारी गर्दै नेपाललाई १५.३ ओभरमा ११०–४ को स्थितिमा पुर्‍याए। नेपालको संकट अझै टरिसकेको थिएन। त्यही स्थितिमा संकटमोचक बनेर छैटौँ नम्बरमा उत्रिए दीपेन्द्रसिंह ऐरी। उनले १५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अविजित ४० रन बनाएर नेपाललाई लगातार चौँथो जित दिलाए।

त्यसअघि हङकङविरुद्ध उनले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाएका थिए। त्यस खेलमा उनले पाचौँ विकेटका लागि कुशल मल्लसँग १४५ रनको कीर्तिमानी साझेदारी गरेका थिए। उनले यूएईविरुद्धको पहिलो खेलमा पनि २३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाएका थिए। लगातार उच्च प्रदर्शन गरिरहेका दीपेन्द्रले आईसीसी टी२० विश्वकप एशिया छनोटमा पनि उस्तै प्रदर्शन गर्ने आशा कप्तान रोहित पौडेलको थियो। 

एशिया छनोटको पहिलो खेलमा आइतबार सिंगापुरविरुद्ध खेल्नुअघि सञ्चारकर्मीहरूको कुराकानीमा रोहितले दीपेन्द्र, सन्दीप लामिछाने र कुशल भुर्तेलजस्ता खेलाडी टोलीमा भएको कारण नेपालले सजिलै छनोट पार गर्ने बताएका थिए। तर आइतबार दीपेन्द्र मैदान उत्रिनै पाएनन्। सिंगापुरसँगको खेलअघि 'वामअर्प' गर्ने क्रममा फिल्डिङ गर्दा उनको देब्रे खुट्टाको गोलीगाँठोमा चोट लाग्यो। त्यति बेलासम्म प्लेइङ–११ घोषणा भइसकेको थियो। 'ड्रेसिङ रुम' फर्किएका उनले मुख्य प्रशिक्षक मोन्टी देसाईलाई आफूले खेल्न नसक्ने बताए। देसाईले उनको स्थानमा विवेक यादवलाई मैदान उतारे।


नेपाल क्रिकेट संघ (क्यान)का चिकित्सक अभिषेकराज सिंहका अनुसार दीपेन्द्रले सोमबार मलेसियाविरुद्ध हुने खेल पनि गुमाउने छन्। त्यसपछिका खेलमा पनि उनी उपस्थित हुनेमा शंका रहेको डा. सिंहको भनाइ छ। “उहाँको खुट्टाको लिगामेन्ट च्यातिएको छ। यसमा हामी वर्कआउट गर्दैछौँ। वर्कआउटपछि नै डिटेल आउला। तर भोलिको खेलमा उनी मैदान उत्रिन सक्ने अवस्था छैन,” उनले उकालोसँग भने।

डा. सिंहका अनुसार क्यानले चाहेर मात्र दीपेन्द्रलाई मैदान उतार्न पाउँदैन। प्लेइङ–११ परिवर्तन गर्न खेलाडी घाइते भएको जानकारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई दिनुपर्छ। दीपेन्द्र घाइते भएको जानकारी आईसीसीलाई दिइसकेको हुनाले आईसीसीले नै उनलाई अन्य खेल खेल्न दिने वा नदिने निर्णय गर्ने सिंहले बताए।

ब्याटिङ, बलिङ र फिल्डिङमै अब्बल
दीपेन्द्रले २०१८ जुलाई २९ मा लन्डनस्थित लर्ड्समा भएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उक्त खेल वर्षाको कारण रद्द हुँदा ब्याटिङमा उत्रिन भने पाएका थिएनन्। त्यसयता उनले टी२० आईमा ४६ इनिङ्स ब्याटिङ गरेर एक शतक र सात अर्धशतकसहित एक हजार ३४४ रन बनाएका छन्।

उनी टी२० आईमा नेपालबाट सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन्। उनीपछि ८८३ रन बनाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास लिइसकेका छन्। दीपेन्द्रले २०२२ अप्रिल २ मा नेपाल, पपुवा न्यू गिनीसहितको त्रिकोणात्मक टी२०आई श्रृंखलामा मलेसियाविरुद्ध ५७ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित ११० रन बनाएका थिए। 

दीपेन्द्र घाइते हुँदा नेपाली टोलीको सन्तुलन नै बिग्रिने राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक जगत टमाटा बताउँछन्। “रन नबनिरहेको अवस्थामा इनिङ्स उकास्न उनले नै सक्छन्। टिकेर र परस्थितिअनुसार आक्रमक खेल्न सक्ने क्षमताका कारण कतिपय खेलमा उनको इनिङ्स नै निर्णायक बन्ने गरेको छ। त्यसैले उनी नहुँदा यत्रो ठूलो प्रतियोगितामा टोलीमा अवश्य नै सन्तुलन बिग्रिन्छ,” उनी भन्छन्।

दीपेन्द्र टोलीको आवश्यकताअनुसार जुनसुकै क्रममा पनि ब्याटिङ गर्न सक्ने क्षमता राख्छन्। उनले ३० खेलमा चौँथो नम्बरमा ब्याटिङ गर्दै एक शतक र पाँच अर्धशतकसहित ८९३ रन बनाएका छन्। यस्तै, पाचौँ क्रममा उत्रिएर दुई अर्धशतकसहित २७८ रन बनाएका छन्। अहिले उनी छैटौँ नम्बरमा सरेका छन्। 


गत हप्ता सम्पन्न नेपाल, यूएई र हङकङसम्मिलित टी२०आई श्रृंखलाका दुई खेलमा उनी छैटौँ नम्बरमा ब्याटिङ गर्न उत्रिए। उनी खेलको अवस्थाअनुसार तेस्रो नम्बर र आठौँ नम्बरमा पनि ब्याटिङमा उत्रिएका छन्।

पछिल्लो समय फ्रेन्चाइजी लिग खेलेर दीपेन्द्र अझै माझिएको टमाटा बताउँछन्। त्यसैले उनी नेपाली टोलीमा नभई नहुने खेलाडी बनेको उनको भनाइ छ। दीपेन्द्रले यू–१९ मा टमाटाकै प्रशिक्षणमा खेलेका थिए। दीपेन्द्रको अर्को मुख्य विशेषता उत्कृष्ट फिल्डिङ पनि भएको टमाटा बताउँछन्। दीपेन्द्रले ३० यार्डभित्र होस् या बाउन्ड्रीलाइनमा सिधा विकेट ढालेर रनआउट गराउन सक्ने क्षमता राख्ने टमाटाको भनाइ छ। कतिपय कठिन क्याच लिएर खेल नै पल्टाएको उनी बताउँछन्।

“फिल्डिङ डिपार्टमा उनी उत्कृष्ट छन्। उनले फिफ्टी फिफ्टी चान्समा राम्रो गरेका छन्। उनी क्रिकेट खेल्नकै लागि जन्मिएका खेलाडी हुन्। नेपाली टोलीमा अन्य राम्रा खेलाडी पनि छन्। तर, उनलाई रिप्लेस गर्न सक्ने क्षमताको कोही छैनन्,” उनी भन्छन्।

दीपेन्द्रको अनुपस्थितिमा ब्याटिङ मात्र नभई बलिङ डिपार्टमा पनि समस्या आउने टमटाको भनाइ छ। दीपेन्द्र ब्याटिङका अतिरिक्त पूरै चार ओभर बलिङ गर्न सक्छन्। उनको स्थानमा आउने खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङमा दुरुस्तै प्रदर्शन गर्न नसक्ने टमाटाको भनाइ छ।

टी२० आईमा २८ इनिङ्समा बलिङ गरेका उनले २५ विकेट लिएका छन्। उनी टी२० का किफायती बलर मानिन्छन्। उनको प्रतिओभर ६.१५ को औषतमा रन दिएका छन्।

दीपेन्द्रको स्थानमा अब को?
ओपनर कुशल भुर्तेलले सोमबार सिंगापुरविरुद्ध ४८ बलमा आठ चौका र दुई छक्कासहित ७४ रन प्रहार गर्दै दीपेन्द्रको नाममा रहेको सर्वाधिक अर्धशतकको कीर्तिमान बराबरी गरे। तर कुशल खुशी देखिएनन्। उमेर समूह होस् या विभागीय टोली नेपाल पुलिसमै खेल्दा, उनीहरू सहकर्मी हुन्। यद्यपि, यो वर्षकै अन्तिम तथा ठूलो प्रतियोगितामा दीपेन्द्रको उपस्थिति नहुनुले नराम्रो लागेको उनले सुनाए। तर उनको स्थान लिन अन्य खेलाडी तयार भएको भुर्तेलको भनाइ छ। 

“दिप्पी (दीपेन्द्र)को कन्डिसन हेर्दा हामीलाई नराम्रो लागिरहेको छ। टोलीमा अन्य प्लेअर पनि छन्। उनीहरूले स्थान लिन सक्छन्। सबैले राम्रो गरे राम्रै हुन्छ,” उनी भन्छन्।


दीपेन्द्र बाहिरिए उनको स्थान विवेक यादव, प्रतिश जिसी वा विनोद भण्डारीले लिन सक्छन्। ब्याटिङसँगै मध्य गतिमा बलिङ गर्ने विवेक कम अनुभवी खेलाडी हुन्। तीन इनिङ्समा मात्रै ब्याटिङको मौका पाएका उनले १७ रन प्रहार गरेका छन्। उनले चार इनिङ्स बलिङ गर्दै ४४ रन दिँदा कुनै विकेट हात पारेनन्। सोमबार दीपेन्द्रको स्थानमा उनलाई मौका दिइएको थियो। तर उनले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन्।

बलिङ अलराउन्डर प्रतिश पनि नेपाली टोलीको विकल्पमा छन्। हङकङविरुद्ध गत हप्ता मूलपानीमा डेब्यू गरेका उनले चार ओभर बलिङ गर्दै ३० रन खर्चिएर १ विकेट लिएका थिए। अर्का अनुभवी खेलाडी विनोद भण्डारीलाई समेत टोलीमा राखिएको छ। तर उनी लयमा छैनन्। यद्यपि, लामो सट प्रहार गर्न सक्ने कारण उनले मौका पाउने सम्भावना छ।

पूर्वप्रशिक्षक टमाटा दीपेन्द्रको अभाव अन्य खेलाडीबाट पूरा गर्न मुस्किल हुने बताउँछन्। “दिपेन भनेको डिफेन्ड हो। ऊसँग लामो अनुभव छ। उसले स्पिन डिपार्ट पनि सम्हाल्न सक्छ। चाहेको बेला सिचुएसन चेन्ज गर्न सक्छ। अन्यले पनि मौका पाएका छन्। तर दिपेन भनेको दिपेन नै हो,” टमाटा भन्छन्।


सम्बन्धित सामग्री