Monday, May 06, 2024

-->

टी–२० त्रिकोणात्मक श्रृंखला: नेपालको लगातार दोस्रो जित

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

टी–२० त्रिकोणात्मक श्रृंखला नेपालको लगातार दोस्रो जित

काठमाडौँ– नेपालले टी–२० त्रिकोणात्मक श्रृंखलामा लागातार दोस्रो जित हासिल गरेको छ।

बिहीबार सम्पन्न दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ औभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले २० बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए। गुलशनकुमार झा १४ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेल ८, कुशल मल्ल १ र सन्दीप जोरा ३ रनमा आउट भए।

हङकङका इशान खानले सर्वाधिक ३ विकेट लिए। यासिम मुर्तजाको नाममा १ विकेट रह्यो।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। हङकङले ३३ रन बनाउँदा नै ५ विकेट गुमाएको थियो। हङकङका कप्तान निजाकत खान गोल्डेन डकआउट भए। यस्तै, अंशुमन रथ ७, बाबर हायात ५, मार्टिन कोट्जी २ र अजिज खान ७ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका जिशन अली पनि ८ रन बनाउँदै आउट हुँदा हङकङ कमजोर स्थितिमा पुगेको थियो। तर, जिशान अलीले २० बलमा २ चौका प्रहार गर्दै हङकङको इनिङ्स उकास्ने प्रयास गरेका थिए। उनी पनि १७ रनमा आउट भए।

यता, यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए। उनी १६.३ ओभरमा अभिनाष बोहराको बलमा कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट भए। जिशान अली हरुन अर्शद २ र यहसान खान ४ रनमा आउट हुँदा आयुश शुक्ला २ रनमा अविजित रहे।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामी र अभिनाष बोहराले २/२ विकेट लिँदा कुशल मल्ल र श्याम ढकालको नाममा १/१ विकेट रह्यो। अब नेपालले तेस्रो खेल शनिबार हङकङसँग खेल्ने छ।


सम्बन्धित सामग्री