Sunday, May 05, 2024

-->

११९ दिनदेखि माइतीघरमा धर्नारत आरतीको परिवारः अबेर राति ब्यानर काटिएपछि ‘प्रहरीबाटै त्रस्त’

ब्यानर काट्न आउनेले भाग्दा खसालेको मोबाइल फोन कसको रहेछ भनी राखिएको जिज्ञासामा राति घटनास्थल पुगेर फर्किएका इन्स्पेक्टर सिंहले भने- 'यसबारे अनुसन्धान चल्दैछ।'

११९ दिनदेखि माइतीघरमा धर्नारत आरतीको परिवारः अबेर राति ब्यानर काटिएपछि ‘प्रहरीबाटै त्रस्त’
चार महिनादेखि माइतीघर मण्डलमा पाल टाँगेर सिंगो परिवारसँगै धर्नारत आरती साहका बुवा विनोद र आमा निर्मला। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– बुधबार राति १० बजे, धनुषाबाट आएर चार महिनायता धर्नारत आरती साहका बुवा विनोद, आमा निर्मलादेवी र भाइ धिरज साह काठमाडौँस्थित माइतीघरको सडकमा त्रिपालभित्र सुतिरहेका थिए। अचानक त्रिपाल हल्लियो। कोही बोलेको आवाज पनि सुनिन थाल्यो। निर्मला र धिरज निदाइरहेका बेला विनोदले त्यो थाहा पाए।

झट्ट उठेर त्रिपालबाहिर निस्किएका उनलाई शुरूमा त सपनाजस्तो लागेर पत्याउनै गाह्रो पर्‍यो। विपनाकै आभास भएपछि उनी तर्सिए। त्यसबेला चारजना युवा मिलेर 'आरतीको न्यायको लागि' झुण्ड्याइएको एउटा 'ब्यानर' काटिरहेका थिए। विनोदले त्रिपालबाहिर निस्केर आँखा जुधाउँदा पनि समूहका कोही बोलेनन्। बरु एकसुरले ब्यानर काटिरहे। 

“मलाई हेर्दा उनीहरू चुइँक्क पनि बोलेनन्। मैले आँखा तरेर हेर्दा उनीहरूले मलाई छुरी देखाए। म एकदमै डराइसकेको थिएँ। शुरूमा बोली नै फुटेन,” विनोद भन्छन्, “हिम्मत निकालेर बेस्सरी चिच्याएँ। छेवैका राजावादीहरू (राजसंस्था पुनर्स्थापनाका लागि माइतीघरमा आन्दोलनरत समूह) को त्रिपालभित्र सुतिरहेकाहरू पनि आवाज सुनेर बाहिर निस्किए। पछि सबैले 'चोर चोर' भन्दै चिच्याएपछि उनीहरू भागे। तर काटेको ब्यानर पनि सँगै लगे।”

त्यसरी भाग्दा चारमध्ये एक जनाको मोबाइल फोन त्यहीँ खसेको विनोद बताउँछन्। माइतीघरमा हरेक रात आन्दोलनकारीको सुरक्षामा दुई जना हवल्दार खटिएका हुन्छन्। विनोदका अनुसार त्यसबेला भने उनीहरु त्यहाँ थिएनन्। पछि फोन गर्दा मात्रै प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार सिंहको टोली त्यहाँ पुगेको थियो। विनोदका अनुसार घटनाबारे सोधपुछ गरेपछि भागेका व्यक्तिले खसाएको मोबाइल फोन लिएर प्रहरीहरू हिँडेका थिए। 

“हामी भयभित थियौँ,” विनोद भन्छन्, “रातभर निद्रै लागेन। फेरि कोही आउलान् कि भन्ने डरले चिन्तित छौँ।” 


जनकपुर उपमहानगरपालिका वडा नम्बर ९, थापाचोककी २२ वर्षीया आरतीको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो। सासूससुरा र श्रीमान् उनले झुण्डिएर आत्महत्या गरेको बताइरहेका छन् भने माइती पक्षले उनको हत्या भएको दाबी गरेको छ। विवाहमा दाइजो नदिएकै कारण आरतीको हत्या भएको बताउँदै उनीहरू जनकपुरबाट काठमाडौँ आएर आरतीको न्यायका लागि सरकारलाई दबाब दिन भन्दै ११९ दिनदेखि धर्ना दिइरहेका छन्।

प्रहरीमाथि किन सशंकित छ साह परिवार?
बुधबार राति चार जनाको समूहले काटेर लगेको ब्यानरमा प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का, प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश गौतम र उनका एक सुरक्षागार्डको तस्वीर थियो। प्रहरीको तस्वीर रहेको ब्यानर लिएर भाग्ने र आफूहरूलाई तर्साउनेहरू अरू कोही नभई प्रहरीकै मानिस हुनसक्ने परिवारजनको दाबी छ।

“त्रिपालको अगाडि अरू पनि ब्यानरहरू हुँदाहुँदै तिनलाई त्यत्तिकै छाडेर एसपी र डीएसपीको फोटो छापिएको ब्यानर नै लानुको कारण के हो?,” आरतीका भाइ धिरज भन्छन्, “पहिला पनि एसपी र डीएसपीको तस्वीर भएको ब्यानर प्रहरीले खोसेर लगेको थियो। हामीले पछि फेरि अर्को ब्यानर बनाएर राख्यौँ। त्रिपालमा बाटोतिर फर्काएर राखिएका ब्यानर अहिले फेरि राति लुटिएको छ।”

घटनापछि माइतीघर पुगेका इन्स्पेक्टर सिंहको भूमिकालाई लिएर विनोदको परिवार आशंकित छ। राति त्यहाँको सुरक्षामा खटिएका प्रहरी पनि आफूलाई सिंहले नै घटना अगावै माइतीघरबाट अन्नपूर्ण न्यूरो अस्पताल पठाएको बताएका छन्। “म यहीँ थिए। तर मलाई अनामनगर प्रहरी वृत्तका ड्युटी अफिसरले फोन गरेर इन्स्पेक्टरसाबलाई फोन गर्नू भने। मैले इन्स्पेक्टर साबलाई फोन गर्दा उहाँले न्यूरो अस्पतालभित्र लफडा भएको छ, गएर हेर भन्नुभयो,” ती सुरक्षाकर्मी भन्छन्, “त्यहाँ पुग्दा अस्पतालभित्र र बाहिर कतै पनि त्यस्तो केही भएको थिएन। एकछिन हामी त्यहाँ कुरेर फर्किँदा यता त्यस्तो घटना भएछ।”

दुई सुरक्षाकर्मीलाई न्यूरो अस्पताल पठाएका इन्स्पेक्टर सिंहले भाग्ने व्यक्तिबाट खसेको मोबाइल फोन ओल्टाई पोल्टाई हेरेर आफैँले लिई फर्केका थिए। त्यतिबेला उनी अनामनगर प्रहरी वृत्तबाट आएको ती सुरक्षाकर्मीले बताए।


अनामनगर प्रहरी वृत्तका इन्चार्ज डीएसपी रविन्द्रमान गुरुङ यो घटनाबारे आफूलाई केही थाहा नभएको बताउँछन्। “राति मेरो ड्युटी थिएन। त्यसैले मलाई यो विषयमा केही जानकारी छैन। बरु जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तालाई थाहा होला,” उनले भने।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोद ढुंगेल पनि आफूलाई यसबारे केही थाहा नभएको बताउँछन्। “यो त डीएसपी रविन्द्रमान गुरुङको इलाका भएकाले उहाँलाई थाहा हुनुपर्ने हो,” ढुंगेलले उकालोसँग भने। 

राति घटनास्थल पुगेर फर्किएका इन्स्पेक्टर सिंह यस घटनाबारे अनुसन्धान भइरहेको बताउँछन्। त्यहाँ खसेको अवस्थामा फेला परेको मोबाइल फोन कसको रहेछ भनी उकालोले राखेको प्रश्नमा उनले भने, “यसबारे अनुसन्धान चल्दैछ, थप बुझ्नु छ भने प्रवक्तालाई सोध्नुहोला।"

मुद्दाका अभियुक्त साधारण तारेखमा छुटे
आरतीको रहस्यमय मृत्युपछि उनको माइती पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहन साहलाई पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानपछि कर्तव्य ज्यान मुद्दा चलाइएका दुवैलाई असार ८ गते धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकोमा  उच्च अदालत जनकपुरले असोज १७ गते दुवैलाई साधारण तारेखमा छाडेको थियो। 

उच्च अदालतका मुख्य न्यायाधीश शारंगा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेपछि उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले बताए। “घटना हत्या नभई आत्महत्याजस्तो देखिएकाले उनीहरूलाई साधारण तारेखमा छोडिएको हो। फाइलहरू हेर्दा पनि आत्महत्याजस्तो देखियो,” रजिष्ट्रार अधिकारीले भने।

धनुषा जिल्ला अदालतको आदेश बदर गरेर उनीहरूलाई थुनामुक्त गरेको उच्च अदालत जनकपुरको आदेशमा भनिएको छ, “पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीहरू मोतिबाबु साह र मदनमोहन साह सुडीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम मुद्दा पुर्पक्षको लागि तारिखमा राखी मुद्दाको कारबाही किनारा गर्नुहोला।”


सम्बन्धित सामग्री