इजरायलमा रहेका नेपालीकाे उद्धार तथा स्वदेश फिर्तीकाे लागि अनलाइन रजिस्ट्रेसनकाे व्यवस्था

इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि रजिस्ट्रेसन खुला गरिएको हाे।

काठमाडाैँ– इजरायलमा रहेका नेपाली नागरिकलाई उद्धार तथा नेपाल फिर्तीकाे लागि त्यहाँस्थित नेपाली दूतावासले अनलाइन रजिस्ट्रेसन खुलाएकाे छ। 

इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको रजिस्ट्रेसन खुला गरेकाे दूतावासले जनाएकाे छ।

याे लिंकमा गएर अनलाइन रजिस्ट्रेसन गर्न सकिन्छ: https://forms.gle/415GMXE2bZVEoBcR7

शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा दश जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। दूतावासका अनुसार तीन जनाको उपचार भइरहेको छ भने एक जना अझै सम्पर्कविहीन छन्। मृतककाे शव नेपाल पठाउने प्रक्रिया भइरहेकाे दूतावासले जनाएकाे छ। यस्तै, स्वदेश फर्किन चाहने नेपालीहरुको लागि दूतावासले इजरायल सरकारसँग समन्वय गरिरहेकाे छ। 

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा ४ हजार ७६५ नेपाली छन्। तीमध्ये २६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन्। कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायलमा छन्। हमलामा परी ज्यान गुमाउनेमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी परेका दूतावासले जनाएकाे छ।

मन्त्रालयले इजरायलमा रहेका सबै नेपालीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सहयाेग र सहजीकरणकाे लागि मन्त्रालय र दूतावासका कर्मचारीलाई सम्पर्क गर्न भनेकाे छ।