Thursday, May 09, 2024

-->

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ सडकमा

सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघ सडकमा
तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना शुरू गरेको हो। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासंघ आन्दोलनमा उत्रेको हो। महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना काठमाडौँ केन्द्रित आन्दोलन शुरू गरेको हो। 

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार ३४३ सामुदायिक विद्यालय छन्। ती विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार ३५४ शिक्षक कार्यरत छन्। यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन्।

मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ। महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मल्यांकनलगायत विषयमा सम्बोधन माग गर्दै आएको छ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौँमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिए। सरकार र महासंघबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौतालाई विधेयकले यथोचित सम्बोधन उनको भनाइ छ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।


सम्बन्धित सामग्री