Monday, April 29, 2024

-->

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन हुने भएपछि उत्साहित यात्रु

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत गतिमा बस चल्ने भएपछि यो रुटमा दैनिकजसो यात्रा गर्ने यात्रुहरू उत्साहित भएका छन्। तर, यो सेवा दीर्घकालीन हुने हो या होइन भन्ने चिन्ता उनीहरूमा छ।

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन हुने भएपछि उत्साहित यात्रु

काठमाडौँ– भक्तपुरकी स्थानीय सीता चापागाईंलाई सूर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म पुग्न झन्डै २ घण्टा लाग्छ। यसले एकातिर  उनको समय नोक्सान हुन्थ्यो नै अर्कोतिर समयमा कार्यक्षेत्रमा पुग्न नसक्दा तनाव बढ्थ्यो। कामका लागि हरेक दिन लामो जाममा फस्दा हैरान उनलाई अब भने केही राहत मिल्ने भएको छ। यसअघि २ घण्टासम्म यात्रा गरेर काममा पुग्ने उनी अब ४५ मिनेटमै पुग्ने भएकी छन्।

यातायात व्यवस्था विभाग, नेपाल ट्राफिक प्रहरी, नेपाल यातायात व्यवसायी महासंघ, सडक विभागको सहकार्यमा बुधबारदेखि सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ। यो खबर सुनेर चापागाईं उत्साहित छिन्। उनी भन्छिन्, “हामीले छोटो बाटोमा पनि जामले गर्दा हरेक दिन सास्ती भोग्नु परेको थियो। सरकारले द्रुत बस सेवा शुरू गरेमा हामीलाई निकै सन्तोष मिल्थ्यो।” 

द्रुत गतिमा सूर्यविनायक–रत्नपार्क बस चल्ने खबरले स्थानीय विष्णु बुढाथोकी पनि उत्साहित छन्। यात्राका क्रममा पट्यारलाग्दो जाममा पर्दा उनले मानसिक समस्या झेल्नुपर्थ्यो। कार्यालयमा समयमै नपुग्दा उनले कैयौँ पटक खप्की सहनुपरेको थियो। बुढाथोकीले अब भने आफू यस्तो तनावबाट मुक्त हुने आस व्यक्त गरे। 

“सूर्यविनायकबाट रत्नपार्क टाढा होइन। तर, जामले गर्दा हामीलाई घण्टौँ सार्वजनिक बसमा यात्रा गर्नुपर्थ्यो,“ बुढाथोकीले भने, “अब सरकारले द्रुत गतिमा बस चलाउने भनेपछि खुशी लागेको छ।”

सरकारले सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत गतिमा बस चलाउने निर्णय गरेपछि कामको सिलसिलामा बुढाथोकी र चापागाईंजस्ता यो रुटमा दैनिक यात्रा गर्ने यात्रु खुशी छन्। यो रुटमा दैनिकजसो यात्रा गर्दै आएकी पासाङ डोल्माले पनि अब घरबाट कार्यालय जान र फर्किन सहज हुने बताउँछिन्। यस्तै, व्यवस्था अन्य सडकमा पनि भए यात्रुले दुःख नपाउने उनको भनाइ छ। 

तर उनीहरू यो सेवा दीर्घकालीन हुने वा होइन भन्नेमा आफूलाई चिन्ता लागेको बताउँछन्। उनले यो सेवालाई दीर्घकालीन बनाउँदै अन्य रुटमा पनि बिस्तार गर्नुपर्ने बताउँछन्।

सूर्यविनायक–रत्नपार्क सडकखण्डमा द्रुत बस सेवाको बुधबार साढे ९ बजे रत्नपार्कको शान्तिनगरमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्दै छन्। बुधबार बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म २ वटा द्रुत बस चल्ने यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले जानकारी दिए। उनका अनुसार बिहीबारदेखि सोही समयमा २५ वटा द्रुत बस यो रुटमा चल्ने छन्।

“सूर्यविनायकदेखि रत्नपार्क आउन या जान निकै समय लाग्थ्यो। यसले यात्रुलाई निकै समस्या दिइरहेको थियो। कामकाजी यात्रुलाई झन् सास्ती हुन्थ्यो,” उनले भने, “यही समस्यालाई निरूपण गर्न पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा दिने हाम्रो तयारी छ।” 

साथै, उनले सातदेखि १० दिनसम्म निरन्तर रूपमा अनुगमन गर्ने पनि बताए। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा यस्तै सेवा अन्य सडकमा पनि विस्तार गर्ने योजना सरकारको रहेको उनले बताए। साथै, बिहान र बेलुका दिइने यो सेवा बिस्तारै दिनभरि नै दिने पनि आफूहरूको योजना रहेको उनको भनाइ छ। 

द्रुत बस चलाउन सडक विभागले ‘डेडिकेटेड लेन’ छुटाएर ठाउँ–ठाउँमा रातो रङसमेत लगाइसकेको छ। विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले विनियोजित बजेटअनुसार द्रुत बस सञ्चालन गर्ने लेनमा रङ लगाइएको बताए। 

 “अन्तर्राष्ट्रिय मापदण्डअनुसार हामीले सडकमा रातो रङ लगाएका छौँ। बस रोकिने ठाउँमा भने सबैतिर रातो रङ लगाउन बाँकी छ। वर्षायामले त्यसमा बाधा पुर्‍याएको थियो। अब हामी रोकिएको कामलाई चाँडै सकाउने छौँ,” उनले भने।

यो रुटमा चल्ने द्रुत बस सेवाका लागि ट्राफिक लाइटको व्यवस्था गरिएको छैन। तर, बिस्तारै यो रुटमा ट्राफिक लाइटको व्यवस्था गरिने पोखरेलले बताए। यो रुटमा एम्बुलेन्स, दमकल, अस्पताल, बैंकलगायतका बसहरू पनि गुड्न पाउँछन्। यो रुटमा १९ वटा बस स्टप रहने छन्। जहाँ यी बसहरू केही मिनेट मात्रै रोकिने छन्। तर, बसको भाडा शुल्क र गति भने पुरानै हुने पोखरेलले बताए।


सम्बन्धित सामग्री