Saturday, September 30, 2023

-->

नेपाल अब ‘ईभी’ युगतिर

दुई वर्षअघि जम्मा २४९ वटा ईभी आयात भएको थियो, गत वर्ष भने चार हजारभन्दा बढी आयात भए। अहिले काठमाडौँमा भइरहेको नाडा अटो शोमा बुकिङ भएकामध्ये ८० देखि ९० प्रतिशत ईभी नै छन्।

नेपाल अब ‘ईभी’ युगतिर
तस्वीर: कृष्पा/उकालो

काठमाडौँ– आफूले चढ्दै आएको साढे १३ सय सीसीको पेट्रोल इन्जिन कार ‘एक्सचेन्ज’ गरेर विद्युतीय गाडी (ईभी) लिन सीबी खड्का गत शुक्रबार ‘नाडा अटो शो–२०२३’ पुगेका थिए। नेपालमा सवारी साधनको प्रदर्शन तथा खरिद बिक्री गरिने नाडा अटो शोको १५औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि जारी छ। प्रदर्शनीको समापन आइतबार हुँदैछ।

खड्काले टाटा कम्पनीको टियागो ब्रान्डको ईभी मन पराए। इन्धनमा हुने खर्च बचाउन पनि ईभी ठीक लागेको उनको भनाइ छ। उनले भने, “अहिलेलाई टियागो ईभी ठीक लाग्यो। जमानाअनुसार अब ईभीतिर जाउँ भन्ने भएको छ।”

उनले मन पराएको टाटाको टियागो ईभी नाडा अटो शोबाट नेपालमा ‘बुकिङ’ खुल्ला भएको हो। टाटाका ईभी नेपालमा २१ लाख ९९ हजारदेखि शुरू हुन्छ।

३० वर्षदेखि पेट्रोल इन्जिन भएका गाडी चढिरहेका राम शरणले पनि शुरूमा टियागो ईभी नै हेरे। उनले अरू ‘अप्सन’ पनि हेरेर गाडी बुक गर्ने सोच बनाएको बताए। पुरानो कार एक्सचेन्ज गरेर बाँकी पैसा ऋण लिने सुविधा पनि अटो शोमा दिइएकाले गाडी ‘अपग्रेड’ गरिहाल्ने निस्कर्षमा पुगेको उनी बताउँछन्। आउँदो दशैँसम्ममा नयाँ गाडी उपलब्ध गराउन सकिने कम्पनीहरूले बताएको पनि उनले जानकारी दिए।

यसपटक नाडा अटो शो पुग्ने अधिकांश ग्राहकको रोजाइमा ईभी परेको त्यहाँ भइरहेको ‘बुकिङ’ र सोधपुछको तथ्यांकले देखाउँछ। ६ दिनसम्मका लागि चलेको मेलामा अटो मोबाइल बिक्रेताले पनि ईभीलाई नै प्रवर्धन गरेका छन्। शनिबार पाँचौँ दिनसम्म प्रतिदिन औसत १०० वटाका दरले टाटाका ईभी बुकिङ भएको टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका एक प्रतिनिधिले बताए। तर ठ्याक्कै संख्या आफूले बताउन नमिल्ने उनको भनाइ छ। सिप्रदीका प्रबन्धक मेघराज ढुंगेलले पनि सोधपुछ गर्नेमध्ये ८० प्रतिशतभन्दा बढीले ईभीमा नै चासो देखाएको बताए।

पेट्रोलबाट चल्ने गाडी साटेर ईभी लिन चाहनेमध्येकै थिए सुदीप क्षेत्री। उनी १२ वर्षदेखि पेट्रोलबाट चल्ने १२ सय सीसी इन्जिन भएको गाडी चढिरहेका छन्। “निरन्तर पेट्रोल हालिरहने खर्चबाट मुक्त हुन सजिलो विकल्पको खोजीमा ईभी लिने मनसाय बनाएको हुँ,” उनले भने, “एक पटक मूल्य तिर्नुपर्ने भए पनि पछिलाई सस्तो पर्ने मेरो बुझाइ छ। मलाई लाग्छ अब ईभी चढ्नेहरूको संख्या ठूलो हुँदै जान्छ। अबको युग ईभीको नै हो।” 

सरकारले विद्युतीय गाडी प्रयोगकर्तालाई थप सुविधा दिए केही वर्षमा नै पेट्रोलियम गाडी विस्थापित हुनसक्ने नाडा अटो शोले संकेत गरेको पण्डित बताउँछन्। अहिले सरकारले दिएको राजस्व छुटले पनि ईभी सस्तो भएको कारण आकर्षण बढेको उनको भनाइ छ। अहिले ५० देखि १०० किलोवाट मोटरका ईभीमा भन्सार र अन्तःशुल्क गरेर २५ प्रतिशत राजस्व तिर्नुपर्छ। ५० किलोवाटसम्मका ईभीमा भने १० प्रतिशत भन्सार मात्र तिरे पुग्छ। 

सिप्रदीका सहायक प्रबन्धक सफल खड्का ईभीप्रति ग्राहकको आकर्षणको प्रमुख कारण आर्थिक पक्ष नै भएको बताउँछन्। “गाडी राख्दा कति खर्चिलो छ भन्नेमा विचार गर्ने ग्राहक हामीकहाँ अधिकांश छन्। नेपालमा खर्च बढी नै हुन्छ, खर्च बचतका लागि ग्राहकले ईभी रोज्न थालेका छन्,” उनले भने, “यसमा (ईभीमा) इन्धनमा हुने खर्च जोगिन्छ, मेन्टेनेन्स सस्तो छ। सर्भिस खर्च औसत ३ हजार आउँछ। नेपालमा प्रचलित पेट्रोल इन्जिन गाडी सर्भिस गराउँदा ८/९ हजार खर्च हुन्छ।” 

ईभी अहिले धेरै रेञ्जमा उपलब्ध भएको कारण ग्राहकहरूसँग प्रशस्त विकल्प भएको खड्काले बताए। “अटोमोबाइटको बजार अब ईभीतिर बढिसक्यो। पछाडि फर्किने सम्भावना देखिँदैन।” 

ईभी गाडीहरू मात्र भएको ब्रान्ड नेटाका लागि नेपालका प्रबन्धक विवेश झा तीन कारणले ईभीको माग बढिरहेको बताउँछन्। “पहिलो कारण हामी जेनेरेशन वाइज सिफ्ट भएको हो। कोरोनाकालपछि इन्धनको मूल्य बढ्दा ठूलो असर पर्‍यो, जसले मानिसहरू विकल्प खोज्नेतिर लागेका छन्,” उनले भने, “दोस्रो कुरा सरकारी नीतिले ईभीमा करहरू कम भएपछि त्यसले बजार बढ्न मद्दत गर्‍यो। तेस्रो महत्वपूर्ण पक्ष हो, यसको प्रविधि पहिलेको भन्दा उत्कृष्ट छ।”

झाका अनुसार ईभीमा फिचरहरू धेरै छन्। सर्भिस खर्च नगन्य हुन्छ। “परम्परागत इन्जिन एक लाखदेखि डेढ लाख किलोमिटर पुग्दापुग्दै काम नलाग्ने भइसक्छ। इन्जिन फेर्नु पर्‍यो भने गाडीको ६० प्रतिशत जति खर्च पर्न जान्छ,” उनले भने, “ईभीमा डेढ लाख किलोमिटर गुडेपछि पनि ब्याट्रीको आधा क्षमता बाँकी हुन्छ र अझ उपयोग गर्न सकिन्छ।”

बढी क्षमता भएका नयाँ प्रविधिसहितका ब्याट्री उपलब्ध हुँदा ढिक्कै निकालेर फेर्न मिल्ने झा बताउँछन्। पहिलाको ‘लिक्विड’ भएको ब्याट्री फेरिएर फसफोरस हुँदै अहिले लिथियम भएको ब्याट्री प्रचलनमा आएको छ। हेलुजन, हाइड्रोजन र सोडियम ब्याट्रीमा पनि अनुसन्धान र प्रयोग भइरहेका कारण भविष्यमा गुणस्तर बढ्ने उनको भनाइ छ।

एमजी ब्रान्डको गाडीको काठमाडौँस्थित शोरुमका प्रबन्धक अनिस शाक्य पनि गाडी बुक गर्नेमध्ये ८० प्रतिशतले ईभी रोजेको बताउँछन्। “एमजी ब्रान्डले अहिले ईभीहरूमा विषेश फोकस गरेको छ। वातावरणमैत्री छ। गाडीमा हुने खर्च प्रमुख हो। पेट्रोलमा हुने खर्चले मानिसहरूलाई रुवाइरहेको छ,” उनले भने, “त्यस कारणले अटोमोबाइल बजार भनेको ईभीको बजार हुन लागेको छ।”

उनका अनुसार सन् २०१९ देखि नेपाली बजारमा आइसकेको एमजी जेडएस मोडेल बुकिङअनुसार गाडी आपूर्ति गर्न पनि भ्याइरहेको छैन। उक्त मोडेलसँगै अन्य दुई वटा नयाँ भेरिएन्टका ईभी पनि एमजीले प्रदर्शनीमा राखेको छ। समग्रमा दैनिक २५ देखि ३० वटा गाडी बुकिङ भइरहेको शाक्यले बताए। एमजी ब्रान्डमा १८ लाखको सानो सिटी कारदेखि ७२ लाख रुपैयाँ पर्ने एसयुभीसम्मका गाडी छन्।

चिनियाँ अटोमोबाइल उत्पादक ‘डीएफएसके’को ईभी बनाउने ब्रान्ड सरेसको बुकिङ ‘नाडा अटो शो’मा करिब ३०० पुगेको यसका नेपालमा ‘बिजनेश डेभलेपमेन्ट’ हेर्ने प्रबन्धक आकाश विक्रम थापाले बताए। “मिनी ईभी सिटी राइडको लागि उपयुक्त भएर यसलाई रुचाइएको छ। पहिलोपटक गाडी किन्नेभन्दा यसअघि गाडी चढ्दै आएकाहरू शहरभित्र प्रयोग गर्नका लागि थप एउटा गाडीको रूपमा यसलाई रुचाइरहेका छन्,” थापाले भने, “महिनाको ३० वा ४० हजार इन्धन खर्च बचाएर त्योभन्दा कम पर्ने किस्ता तिर्न मानसहरूले सहज मानेका छन्।”

सेसेरको कुल बुकिङको ३० प्रतिशत मिनी ईभी रहेको उनले बताए। 

नेपालमा ईभी युगको शुरूआत गराउन ‘टर्निङ प्वाइन्ट’ बनेको नाडा अटो शोमा चिनियाँ ब्रान्ड ओराका ईभी पनि मन पराइएको छ। यसको बजार तथा सञ्चार प्रमुख पंकज यादव एकपटक चार्ज गरेर ४०० किलोमिटर चलाउन मिल्ने ‘ओरा ०३’ ईभीको प्रदर्शन तथा बुकिङ गरिरहेको बताउँछन्। 

“ईभीको निर्माण लागत पेट्रोलियम इन्धनबाट चल्ने गाडीभन्दा मँहगो हुन्छ, तर नेपालमा करमा सरकारी सहुलियतका कारण सस्तो पर्नेरहेछ,” उनले भने, “अहिले मूल्यको कारण मानिसहरूले एउटा ईभी किनेर सुरक्षित गरिहाल्न चाहेका छन्। यसलाई चलाउन पनि एकदमै कम खर्चिलो छ।”

विद्युतीय गाडी आयातमा गरेको राजस्व सहुलियतका कारण‘कस्ट इफेक्टिभ’ भएर ग्राहकको अकर्षण बढेको ‘नाडा अटो शो–२०२३’का संयोजक अनुप बराल बताउँछन्। “सरकारले नै प्रोत्साहन गर्न खोजेको चिज सस्तो हुन्छ, सस्तो दरको करका कारण मूल्य कम भयो र ईभीको आकर्षण बढ्यो,” बरालले उकालोसँग भने, “त्यससँगै सवारी सञ्चालन खर्च ईभीमा कम छ। प्रतिकिलोमिटर २/३ रुपैयाँ मात्र खर्च पर्ने भएपछि स्वाभाविक रूपमा ग्राहकलाई फाइदा हुने भयो।”

शनिबारसम्म ६ हजार ५०० जनाले नाडा अटो शो अवलोकन गरेको उनले जानकारी दिए।

नाडा अटो शोमा कम्पनीहरूले ग्राहकलाई विशेष छुट मात्र होइन चार्जर र अरू ‘एसेसोरिज’ पनि दिने गरेका छन्। यी ‘अफर’ योजना आउँदो दशैँतिहारसम्म रहनसक्ने कम्पनीका प्रतिनिधिहरूको भनाइ छ। आयोजक नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापा नाडा अटो शोबाट समग्र अर्थतन्त्रमा सकारात्मक उत्साह थपिने दाबी गर्छन्।

“शहरभित्र दैनिक राइड गर्ने उपभोक्ताको आकर्षण ईभीतिर भयो,” थापाले भने, “ईभीबाहेकका गाडीहरूको बिक्री नै छैन भन्ने होइन, लामो दूरीको यात्रालाई लक्षित गर्ने ग्राहक, अफरोड हिँड्नेहरू अहिले पनि इन्धनबाट चल्ने गाडी रोजिरहेका छन्। ईभीको क्रेज चाहिँ बढेर आएको सही हो।”

ईभीको आयात बढ्दो
कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावले भएको आर्थिक मन्दीका कारण चार वर्ष नाडा अटो शो भएन। अटोमोबाइल बजारमा आएको शिथिलता ‘नाडा अटो शो–२०२३’ले हटाउने मात्र नभइ ईभी युगको प्रारम्भ गर्ने व्यवसायीहरूको भनाइ छ।

नेपालमा विद्युतीय गाडीको आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ। तीन वर्षदेखि ईभीको आयात बढेको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा जम्मा २४९ वटा ईभी आयात भएका थिए। अर्को वर्ष २०७८/७९ मा एक हजार ८०७ र २०७९/८० मा चार हजार ५० ईभी आयात भएको देखिन्छ।

पेट्रोलियम गाडीको आयातमा नेपालमा तिरिने भन्सार महशुल अन्तःशुल्क र भ्याट गरेर करको दर उच्च छ। ‘स्पेसिफिकेशन’अनुसार गाडीको मूल्यको २२५ देखि ३१६ प्रतिशतसम्म भन्सार र अन्तःशुल्कलगायत कर तिर्नुपर्छ। 

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको समयमा ईभी प्रोत्साहनभन्दा दुरुत्साहन भएको थियो। उनले मूल्यको ८० प्रतिशतसम्म अन्तःशुल्क र ४० प्रतिशतसम्म भन्सार लिने गरी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याएका थिए। आयातमा भारी करपछि मुल्यवृद्धि हुँदा बजारमा ईभीको माग घट्यो। त्यति बेला आयातकर्ताहरूले गाडी नछुटाएर लामो समयसम्म भन्सारमै राखेका थिए। वर्षभरिमा विद्युतीय जिप, कार भ्यान गरी २४९ वटा आयात भएको थियो।

यसको विरोध र आलोचनापछि आव २०७८/७९ को बजेटमा उक्त शुल्क हटाइएको थियो। त्यसपछि ईभी आयात लगातार बढेको हो। २०७८/७९ को बजेटमा सरकारले ईभीको आयातमा अन्तःशुल्क पूरै खारेज गरी भन्सार महसुलसमेत उल्लेख्य मात्रामा घटाएको थियो। यो वर्ष अर्थमन्त्री प्रकाशशरण महतले ५० देखि १०० किलोवाटसम्मका मोटर प्रयोग हुने ईभीमा भन्सार महसुल १० बाट बढाएर १५ प्रतिशत पुर्‍याएका छन्। थप १० प्रतिशत अन्तःशुल्क पनि लाग्ने व्यवस्था गरेका छन्।

१०० देखि २०० किलोवाट मोटरका ईभीमा भन्सार २० र अन्तःशुल्क २० गरी ४० प्रतिशत राजस्व तिर्नुपर्छ। २०० देखि ३०० किलोवाटका ईभीमा भन्सार ४० र अन्तःशुल्क ४५ गरी ८५ प्रतिशत राजस्व तिर्नुपर्छ। ३०० किलोवाटभन्दा माथिका ईभीमा भन्सार र अन्तःशुल्क गरी १२० देखि १४० प्रतिशतसम्म राजस्व तिर्नुपर्छ।

पेट्रोलियम इन्धनको विकल्प
गत साउनको अन्तिम साता नेपाल विद्युत् प्राधिकरणले ३८औँ वार्षिकोत्सवको अवसरमा ईभीलाई प्रोत्साहन गर्न र्‍याली नै आयोजना गरेको थियो। देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउन प्राधिकरणले जनचेतना बढाउन चाहेको सन्देश दिएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पेट्रोलियम इन्धनको आयात घटाउन र देशभित्र उत्पादित विद्युतको खपत बढाउन विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको बताएका थिए। 

स्वच्छ वातावरणका लागि आवश्यक नीति मानिएको यसलाई आगामी सरकारहरूले निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने महत्त्वपुर्ण रहेको जानकारहरू बताउँछन्। पेट्रोल इन्जिनका गाडी ३० वर्षदेखि चलाउँदै आएर अब त्यसलाई विस्थापित गरी विद्युतीय कार किन्न आएका सुदिप पण्डित क्षेत्रीले सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न अझ नीतिगत सुधार आवश्यक रहेको बताए। त्यो भनेको गाडीबाट उठाउने राजस्वको मोह छोडेर विद्युतीय सवारी प्रयोगका लागि अझ सहुलियत सहितको कर निर्धारण भएको उनको भनाइ छ।


सम्बन्धित सामग्री