सुवास नेम्वाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालयमा

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। संविधान निर्माण प्रक्रियामा गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

काठमाडौँ– एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ। 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय लगिएको हो।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्ष्मी शाक्यलगायतले श्रद्धाञ्जली अर्पण गरे। 

एमालेका अन्य नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू श्रद्धाञ्जलीका लागि च्यासल पुग्ने क्रम जारी छ। 

संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय भएको छ। 

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। पूर्वसभामुख एवं संविधासभाका अध्यक्ष नेम्वाङ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए।